यति वेला नेपालीको भान्सामा च्याउ सामान्यजस्तै भएको छ । कुनै वेला च्याउ कसले खाने कसले नखाने भनिन्थ्यो । पछिल्लो समय स्वास्थ्य र स्वादका कारण च्याउ खानेको संख्या बढेको छ । अब च्याउ खान जंगल गइरहनुपर्दैन चाहेको वेला बजारमा बिन्न पाइन्छ । तर, यही च्याउ खाने कुरामा ख्याल नपुग्दा मान्छेको ज्यानै गएका घटनाहरू पनि सुन्नपर्छ ।
व्यक्तिगत कामको सिलसिलामा नवलपरासी पुगेका पाल्पाको निस्दी गाउँपालिका–३ स्थित सार्कीडाँडाका इन्द्रबहादुर सिंह ठकुरीको मोबाइलमा तारन्तार घण्टी बजिरहयो । फोन उठाउँन नभ्याउँदै फोन गर्ने छिमेकीले उनलाई हडहडाएको स्वरमा गाडी लिएर तुरून्तै गाउँ आइहाल्नू भन्ने ।
केही अरू छिमेकीले फोन गरेर गाउँमा ११ जनालाई झाडाबान्ता भएको खबरसमेत दिए । पैँतालीस वर्षीय ठकुरीले नवलपरासीस्थित आफन्तहरूलाई हारगुहार गरी सहयोग मागेर गाडी लिइ गाउँतर्फ लागे । यो गत जेठ चौथो साता भएको कुरा हो ।
च्याउविज्ञ तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक महेशकुमार अधिकारीका अनुसार नेपालमा एक हजार तीन सय प्रकारका च्याउ पाइन्छ । नेपालमा पाइने च्याउबारे विभिन्न अध्ययन गरी पुस्तकहरू समेत लेखेका उनका अनुसार तीमध्ये अत्यन्त विषालु च्याउहरू भने करिब एक सय प्रकारका छन्
पाल्पा सदरमुकाम तानसेनबाट यसै वर्ष मात्र कच्ची सडकले जोडिएको ठकुरीको दुर्गम गाउँ पुग्दा त्यहाँ रूवावासी चलिरहेको थियो । अधिकांश युवाहरू विदेसिएकाले गाउँमा भएका केही पुरूष र महिलाले आलोपालो गर्दै ११ जना बिरामीलाई नजिकैको सडकसम्म पु¥याएका थिए । गाडी लिएर गाउँ पुगेका ठकुरी र छिमेकीहरूले बिरामीलाई गाडीमा हालेर नवलपरासीतर्फ लगे ।
बिरामी भएकामध्ये इन्द्रबहादुर सिंह ठकुरीका श्रीमती धनमाया र चार छोरी निरुता, निर्मला, निशा र विष्णुमाया पनि थिए । झाडाबान्ता भएको भनिएका उनीहरूले अघिल्लो दिन जंगलबाट खोजेर ल्याएको च्याउ खाएको थाहा पाएपछि ठकुरीको चिन्ता थप बढ्यो । तर, समयमै अस्पताल पु¥याएपछि श्रीमतीसहित छोरीहरू बाँच्छन् भन्ने आशामा थिए उनी ।
सुरूमा श्रीमती धनमया र छोरीहरूसहित सबैलाई नवलपरासीस्थित मध्यविन्दु अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूले बिरामीका आन्तरिक अंगहरू गल्न थालेको भन्दै अन्यत्र लान सिफारिस गरे । त्यसपछि कसैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज तथा केहीलाई मनकामना अस्पताल पु¥याइयो । मेडिकल कलेजमा उपचार हुँदै गर्दा आठ वर्षीया साइँली छोरी निर्मला र चार वर्षीया कान्छी छोरी विष्णुमायाले प्राण त्यागे ।
दुई छोरी गुमाए पनि श्रीमती र अन्य दुई छोरीलाई बचाउन सकिन्छ कि भनेर उनले हारगुहार गर्न थाले । उनमा केही आसा बाँकी नै थियो बाँकी परिवार बचाउन सकिएला की भन्ने । उपचार जारी रहेका अन्यलाई चिकित्सकले चितवनमा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि काठमाडौं लैजान भने ।
खेतीपाती गरेर जीविका चलाउने इन्द्रबहादुर सिंह ठकुरीसँग काठमाडौं ल्याएर श्रीमती र छोरीहरूलाई उपचार गराउने आवश्यक रकम थिएन । त्यसपछि उनले पाल्पा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सांसद दलबहादुर रानालाई फोन गरे । सबै घटना विवरण सुनेपछि सांसद रानाले तुरून्त सबै बिरामी लिएर काठमाडौं आउन आग्रह गरे । सांसदको आग्रह पछि उनले चितवनबाट बिरामीहरू काठमाडौं ल्याए ।
सांसद रानाकै सहायतामा विभिन्न अस्पतालहरूको आईसीयूमा बिरामीहरूलाई भर्ना गराइयो । तर, ठकुरीले जे नहोस् भनेर कामना गरिरहेका थिए त्यही भयो । कक्षा १० मा अध्ययनरत १४ वर्षीया जेठी छोरी निरूताले सिनामंगलस्थिन केएमसी अस्पताल र कक्षा ८ मा अध्ययनरत १२ वर्षीया माइली छोरी निशाले महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्राण त्यागे ।
लामो समय आइसियूमा राखेर उपचार गराइकी ३० वर्षिया श्रीमती धनमाया भने बच्न सफल भइन् । तर, ठकुरी दम्पतीले आफ्ना सबै सन्तान गुमाए । विषालु च्याउ सेवनका कारण सन्तानविहीन भएका इन्द्रबहादुर सिंह ठकुरी अहिले अरूलाई कुनै पनि जंगली च्याउ नखान सुझाव दिन थालेका छन् ।
उनले भने, ‘हामी त परेर फसिसक्यौँ । तर, तपाईंहरू कसैले पनि जंगली च्याउ नखानुहोला । खेती गरेको च्याउ किनेर मात्र प्रयोग गर्नुहोस् । नत्र तपाईंहरू पनि हामीजस्तै फस्नुहुनेछ ।’ भावुक थिए उनी यति भनिरहदाँ ।
ठकुरीको परिवारका चार जनासहित उक्त घटनामा बिरामी परेका ११ जनामध्ये छ जनाले ज्यान गुमाए । विषालु च्याउ सेवनबाट ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको यो पहिलोपटक भने होइन । विशेषगरी वर्षायाममा देशभरिका विभिन्न स्थानमा विषालु च्याउको सेवनबाट धेरैको ज्यान जाने गर्छ । तर हरेक वर्ष विषालु च्याउकै कारण कतिजनाको ज्यान जान्छ भन्ने स्पष्ट विवरण भने नभएको सरकारी अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीले घटना भएका वेला विषालु च्याउ सेवन गरेर मृत्यु र बिरामी भएकोबारे सार्वजनिक गर्ने गरे पनि एकीकृत विवरण भने नराखेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए । उनले भने, ‘हामीसँग विषालु च्याउ खाएर मृत्यु भएका भनेर नै छुट्टै राखेको विवरण छैन ।’
बर्सेनि विषालु च्याउ सेवनबाट मानिसहरूको मृत्यु हुने गरे पनि सरकारले हालसम्म यस्ता च्याउको जाँच गर्ने व्यवस्था नगरेको अधिकारीहरूले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी निमित्त महानिर्देशक मतिना जोशी वैद्यका अनुसार नेपालमा हालसम्म च्याउको विष जाच्ने प्रविधि राखिएको छैन । उनले भनिन, ‘कुन च्याउ विषालु छ र कुन छैन भनेर छुट्ट्याउन सक्ने प्रविधि र दक्षता हामीसँग हालसम्म छैन ।’ उनले जंगली च्याउलाई चिन्ने प्रविधि नरहेकाले त्यस्ता च्याउको उपयोग नै नगर्न सुझाब दिइन् ।
जंगली च्याउ सेवनका कारण हालै छ जनाले ज्यान गुमाएको क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दलबहादुर रानाका अनुसार त्यस क्षेत्रमा वर्षायाममा जंगलमा च्याउ खोज्न जाने परम्परा रहेको छ । उनी भन्छन्, ‘त्यस क्षेत्रमा वर्षाका वेला चट्याङ पर्दा र आकाश गड्गडाउँदा च्याउ खोज्न जंगल जाने चलन परापूर्व कालदेखि नै चलेर आएको मानिन्छ । तर, कहिलेकाहीँ यस्ता घटना पनि हुने गर्छन् ।’
उनका अनुसार केही वर्ष पहिले पनि उक्त क्षेत्रमा विषालु च्याउ सेवन गर्दा केही मानिसको मृत्यु भएको थियो । त्यसलाई निरूत्साहित गर्न
सरकारले सचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने उनको माग छ । सांसद रानाले वर्षायाममा च्याउ खाएर हुने मृत्युलाई रोकथाम गर्नका निम्ति आफूले पहल गरिरहेको बताए । उनले भने, ‘म सदस्य रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यो विषयलाई राखेर अध्ययन गराउनुपर्छ भनेर म लागिरहेको छु ।’
च्याउविज्ञ तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक महेशकुमार अधिकारीका अनुसार नेपालमा एक हजार तीन सय प्रकारका च्याउ पाइन्छ । नेपालमा पाइने च्याउबारे विभिन्न अध्ययन गरी पुस्तकहरू समेत लेखेका उनका अनुसार तीमध्ये अत्यन्त विषालु च्याउहरू भने करिब एक सय प्रकारका छन् ।
त्यस्तै, खान हुने भनेर पहिचान गरिएका च्याउ एक सय ४७ प्रकारका रहेका छन् । तर, दैनिक जीवनमा खानका लागि प्रचलनमा भने २५ प्रकारका च्याउ मात्र प्रयोग गरिन्छ । त्यस क्षेत्रमा वर्षाका वेला च्याउ खोज्न जंगल जाने चलन परापूर्व कालदेखि नै चलेर आएको मानिन्छ ।
अधिकारी भन्छन्, ‘विषालु च्याउ कसरी चिन्ने भन्नेबारे नेपालमा विशेषगरी विभिन्न १२ थरी गलत कथन र धारणा रहेको पाइएको छ ।
ती सबै कथन विश्वासिला छैनन् र तिनलाई पछ्याउँदा कतिपयको ज्यान गएको छ ।’ त्यस्ता कथनमा चाँदीले चलाएर पकाउँदा चाँदी विषालु च्याउले कालो हुन्छ भन्ने सबैभन्दा प्रचलित रहेको उनी बताउँछन् । तर, चाँदीलाई च्याउले कालो नबनाउने अधिकारीको दाबी छ । त्यस्तै लसुन, प्याज वा टिमुर हालेर पकाउँदा विष जान्छ भन्ने धारणा पनि गलत रहेको उनले बताए ।
नेपालमा पाइनेमध्ये एक सय ४७ प्रकारका च्याउ खानलायक भएको च्याउविज्ञ बताउँन् । कतिपयले कत्ला भएको च्याउ विषालु हुने मान्छन् । तर, कत्ला भएका कतिपय च्याउ पनि खान हुने रहेको अधिकारीले जानकारी दिए । त्यस्तै, छाता भएको, डाँठमा औँठीजस्तो भएको र फेदमा कचौराजस्तो भएको च्याउ खानु नहुने धारणा रहे पनि कतिपय त्यस्ता च्याउ खानयोग्य रहेको अधिकारीको दाबी छ । अन्य गलत धारणामा कीराले खाएको च्याउ विषालु हुँदैन र चम्किलो च्याउ विषालु हुन्छ भन्ने पनि रहेको उनले बताए ।
अधिकारी भन्छन्, ‘मैले अध्ययन गर्दा समाजमा रहेका सबैजसो च्याउसम्बन्धी धारणा गलत साबित भएका छन् । तिनको अनुसरण गर्नु उचित हुँदैन ।’ विषालु च्याउबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै चिन्ने मानिसले चिनेर मात्र प्रयोग गर्नु वा जंगली च्याउ प्रयोग नै नगर्नु भएको अधिकारीको तर्क छ । विषालु च्याउ सेवन गरेपछि मानव शरीरमा विभिन्न लक्षणहरू देखिने अधिकारीले बताए ।
उनका अनुसार यसको लक्षणमा आँसु आउने, ¥याल निस्कने, जिब्रो सुन्निने, बान्ता र पखाला लाग्ने, घाँटी सुन्निने, बेहस हुने र मृत्यु हुनेसम्म हुन सक्छ । उनी भन्छन्, ‘विषालु च्याउमा मस्किमोल, आइबोटेनिक एसिड, इन्डोलिक एसिडजस्ता विषयुक्त कुरा पाइन्छन् । त्यसैले, यस्ता च्याउबाट परै रहनु राम्रो ।’ उनका अनुसार त्यस्तो च्याउ सेवन गरिहाले सबैभन्दा पहिले बान्ताका माध्यमबाट पेटभित्र गएको च्याउलाई बाहिर निकाल्नुपर्छ । र, यथा चाँडो बिरामीलाई अस्पताल लानुपर्छ । त्यसो गरिएको अवस्थामा बिरामीलाई बचाउन सकिने अवस्था रहन सक्ने उनको विश्वास छ । (बिबिसीको सहयोगमा)
प्रतिक्रिया