‘प्रेम गीत ३’मा क्रिष्टिना

काठमाडौं । निर्देशक सन्तोष सेनले निर्देशन गर्ने चलचित्र ‘प्रेम गीत ३’ मा अभिनेत्री क्रिष्टिना गुरुङलाई छानिएको छ ।

यसअघि ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ ले पाएको सफलतापछि निर्माण हुन लागेको चलचित्र ‘प्रेम गीत ३’ का लागि आइतबार नयाँ नायिकाका रूपमा क्रिष्टिनालाई चयन गरिएको निर्माण पक्षले जनाएको छ ।

केही वर्षदेखि अमेरिका बस्दै आएकी क्रिष्टिनालाई तीन महिना लामो प्रक्रियापछि छानिएको निर्देशक सेनले जानकारी दिए ।

चलचित्रका निर्मातासमेत रहेका सेनका अनुसार नायिकाको लागि आह्वान गरिएको अडिसनमा देश विदेशबाट २७ सय १४ जनाले तस्बिर पठाएका थिए । सेनले भने, ‘जसमध्येबाट उत्कृष्ट २५ को चयन दुई महिनाअघि गरिएको थियो । ती २५ जनामध्येबाट अडिसन लिएर उत्कृष्ट ५ चयन गरिएको र त्यो उत्कृष्ट ५ बाट आइतबार क्रिष्टिनालाई नायिकामा चयन गरिएको हो ।’

उनले आफूहरूकहाँ आएका नायिका सबै उत्कृष्ट रहे पनि एकजना छान्नुपर्ने भएकाले क्रिष्टिनालाई चयन गरिएको बताए ।

आशुसेन फिल्मस्का निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले उनको नाम सार्वजनिक गर्दा उनी साह्रै खुसी देखिएकी थिइन् । अभिनेता प्रदीप खड्कासँग जोडी बनेर काम गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको क्रिष्टिनाले बताइन् । अमेरिकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएको बताउँदै क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।

चलचित्रमा चयन भएपछि अब तयारीमा जुट्ने उनले बताइन् । काठमाडौंमा जन्मिएकी क्रिष्टिना लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् ।

‘प्रेम गीत ३’ मा अभिनेता प्रदीप खड्कासँगै नवअभिनेत्री क्रिष्टिना, अभिनेता शिव श्रेष्ठ, सुनील थापा, नवअभिनेता मनिष राउत, अनुभव रेग्मी, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी लगायतका कलाकारको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

मुख्य अभिनेता खड्काले चलचित्र राम्रो बन्ने अपेक्षासहित आफू यस चलचित्रमा जोडिएको बताए । उनले आफ्नो जोडीको रूपमा चयन भएकी क्रिष्टिनालाई बधाई दिँदै भने, ‘राम्रो नायिका चयन हुनुभएको छ । काम पनि राम्रो गर्नुहुने विश्वाससहित बधाई छ ।’

केही दिनपछि चलचित्र निर्माणको घोषणासँगै फिल्मको वर्कसप पनि सुरु गर्ने निर्देशक सेनले जानकारी दिए । आगामी २८ चैतमा देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको आउँदो दशैंपछिबाट छायांकन सुरु हुने भएको छ ।

प्रतिक्रिया