संरचना नबन्दा थपियो सुरक्षा चुनौती

रौतहट । चन्द्रपुर नगरपालिका– ६ स्थित जन ज्योति माध्यमिक विद्यालयको पर्खाल र व्यावसायिक कवल भत्काइएपछि त्यसले सुरक्षा चुनौती थपेको छ ।

बाटो फराकिलो बनाउने भन्दै तत्कालीन बाटो निर्माण समितिले विद्यालयको पर्खाल र व्यावसायिक कवल भत्काएपछि विद्यालयको आम्दानी प्रभावित बन्नुको साथै सुरक्षा चुनौती पनि थपिएको हो ।

हाटबजार लाग्ने स्थानदेखि उत्तरतर्फ रहेको विद्यालयको १५ कोठे व्यावसायिक कवल र करिब डेढ सय मिटर पर्खाल एक वर्षअघि भत्काए पछि आम्दानी प्रभावित बन्नुकोसाथै सुरक्षा चुनौती थपिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष खड्कबहादुर कुशुवारको अगुवाईमा बाटो निर्माण समितिले हाटबजार हुँदै पश्चिम डाबरी चोक जाने बाटो फराकिलो पार्न विद्यालय व्यवस्थापन समितिसँग परामर्श गरी हाटबजारतर्फ चार फिट र विद्यालयतर्फको कवल एवम् पर्खाल भत्काउन गरिएको सहमति बमोजिम भत्काएको समितिका सदस्य सहदेव केसीले बताए ।

२०७५ असार १२ गते विद्यालयको कवल र पर्खाल भत्काएर भताभुंग पारिएको छ । हाटबजारतर्फ चार फिट बाटो विस्तार गर्ने भनी गरिएको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन । वडाध्यक्ष कुशुवारको यस प्रकारको एकतर्फी कार्यले विद्यालयसँग बैरभाव रहेको बुझिने विद्यालयका पूर्व प्रधानाध्यापक योगेन्द्रप्रसाद यादवले बताए ।

पटक÷पटक सरकारी अमिनले जमिन नाप्दा विद्यालयको जमिन बजारतर्फ नै गएको भएपनि वडा अध्यक्ष कुशुवारले मनोमानी ढंगबाट विद्यालयको पर्खाल र व्यावसायिक कवल भत्काउन लगाएको यादबले बताए ।

विद्यालयका प्रधानाध्यापक शंकर भट्टराईका अनुसार भत्काइएको १५ वटा व्यावसायिक कवलको अहिलेको बजार भाडादर बमोजिम मासिक झण्डै १५ देखि २० हजार रुपियाँ गुमेको छ । जसबाट निजी स्रोतका एक जना शिक्षक वा कर्मचारीको तलब पुग्थ्यो । कवल भाडामा लिएर पसल चलाएका व्यावसायीहरू अहिले सोही स्थानमा पाल तथा ठूला छाताको ओत पारेर भाडा बिना नै पसल चलाइरहेका छन् । जसले गर्दा विद्यालयलाई वार्षिक झण्डै दुई लाख रुपियाँ घाटा परेको छ ।

यसैगरी पर्खाल भत्काइँदा विद्यालय असुरक्षित बनेको छ । काम चलाउन जस्तापाताले घेरिए पनि सुरक्षित भने छैन । जस्तापाता उप्काएर सजिलै विद्यालय प्रवेश गर्न सक्ने भएकोले विद्यालयमा रहेका काठपात, डेक्सबेन्च, बिजुली बत्ती, पंखा, खानेपानीको धारा लगायतका भौतिक सामग्री असुरक्षित छन् । विद्यालयका पाले नुवराज काफ्लेले पर्खाल हुँदा राती पनि ढुक्क हुने गरेको भएपनि हाल आएर त दिउँसै चोरी होला भन्ने डर रहेको बताए ।

कक्षा १० का विद्यार्थी जीवन लामाले पर्खाल भत्काएपछि विद्यार्थी समेत असुरक्षित बनेको बताउँदै वडाले यथाशीघ्र पर्खाल लगाउन पहल नगरे विद्यालयका सम्पूर्ण विद्यार्थी एक भई आन्दोलनका साथ वडा कार्यालयमा ताला लगाउने चेतावनी दिए ।

व्यावसायिक कवल भत्किएपछि नयाँ कवल बनाउन विद्यालयँंग आर्थिक स्रोत छैन । व्यवस्थापन समितिको समयावधि समेत गुज्रिसकेको छ । स्रोत जुटाउन वडा कार्यालय समेतले बेवास्ता गरेको छ । नगरपालिकाले केही रकम विनियोजन गरेदेखि नयाँ कवल र पर्खाल बनाउने काम सुरु गरिन्थ्यो तर,त्यो पनि नभएको सहायक प्रधानाध्यापक देवनारायण हुमागाइँले बताए ।

यता वडा अध्यक्ष कुशुवारले बाटो विस्तार गर्न गरिएको कदम सह्रानीय भए पनि बजारतर्फको संरचना भत्काउन नसकिएको स्वीकार गर्दै भत्किएको विद्यालयको पर्खाल र कवलको बारेमा बसेर छलफल गर्ने बताए ।

प्रतिक्रिया