स्वर्गद्वारी । स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ ।
शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम संगम बनेको प्युठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थल मध्येको एक हो । यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ बर्सेनि ठूलो संख्यामा दर्शनार्थी आउने गरेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायाले बताए ।
समुद्री सतहबाट दुई हजार १२२ मिटर उचाइमा अवस्थित रमणीय यसै तीर्थस्थलमा परापूर्वकालमा ऋषिमुनिले साधना गरी स्वर्ग गएकाले यस स्थानको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।
प्युठानको भिंग्री बजारदेखि विगतमा करिब तीन घण्टा हिँडेर यस स्थानमा पुग्ने गरिएकोमा पछिल्लो समय भने मुख्य प्रवेशद्वार धरमपानीसम्म यातायातका साधन पुगेका कारण दर्शनार्थीलाई निकै सहज भएको छ ।
मुख्य प्रवेशद्वारबाट मन्दिर परिसरमा पुग्नका लागि भने ५ सय ८२ वटा सिँढी चढ्नुपर्छ । सिढी उक्लने क्रममा शरीरमा केही थकान भए पनि आश्रम परिसरकै ढोकामा पुगेपछि भने स्वर्गीय आनन्द प्राप्त हुन्छ ।
अत्यन्त गर्मी समयमा पनि मन्दिर परिसरमा आइरहने सिरसिरे हावाले जो कोहीको थकाइ बिर्साइदिन्छ । मन्दिर परिसरमा गुन्जिरहने वेदध्वनिले त्यहाँ पुग्ने पर्यटकले छुट्टै अनुभूति गर्ने गरेका छन् । भ्रिंंगीदेखि स्वर्गद्वारीसम्मको झण्डै साढे १३ किमि कच्ची बाटो भएकाले त्यसलाई कालोपत्रे गर्ने तयारी भइरहेको नगर प्रमुख रोकायाले जानकारी दिए ।
यस तीर्थस्थलमा आएर दर्शन गर्ने जो कोहीको मनोकांक्षा पूरा हुने गरेको विश्वासका आधारमा नै दैनिक ठूलो संख्यामा दर्शनार्थी आउने गरेको स्वर्गद्वारी नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विएमले जानकारी दिए । स्वर्गद्वारी प्रकृति, संस्कृति र धार्मिकताको केन्द्र बनेको उल्लेख गर्दै उनले यसप्रतिको आस्था, विश्वासलाई कायम गराउन पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने जनाए ।
स्वर्गद्वारीमा सबैभन्दा ठूलो मेला वैशाख शुक्ल पूर्णिमाको दिन लाग्ने गर्दछ । तीर्थस्थल भित्रको आश्रम परिसरमा महाप्रभुले रचना गरेका विभिन्न श्लोक, त्यहाँ पालना गर्नुपर्ने शर्त तथा नियम आदि उल्लेख छ । तीर्थयात्रीले यहाँ रहेको प्रभु गुफा अर्थात् महाप्रभुको समाधिस्थलको दर्शन गर्दछन् ।
मन्दिर परिसरभित्र लघुरुद्री, वेदपाठ गर्न धर्मशालाको निर्माण गरिएको छ भने यज्ञशालाको माझमा ठूलो हवन कुण्ड छ । हवन कुण्डमा महाप्रभुले आफ्नो मन्त्रको प्रभावमा आगो प्रज्वलित गरेको भन्ने जनविश्वास छ ।
स्वर्गद्वारी दर्शनका लागि स्वदेशका विभिन्न स्थानका साथै भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेको वडा अध्यक्ष विएमले बताए । आश्रम परिसरमा नै भण्डार घर, पुस्तकालय भवन, वेदाश्रम, कुटीलगायतका संरचना निर्माण गरिएको छ ।
स्वर्गद्वारीको यहाँ अर्को आकर्षण गौशाला हो । स्वर्गद्वारी महाप्रभुले विसं १९५२ वैशाख शुक्ल पूर्णिका दिन उक्त स्थानमा महायज्ञ सुरु गरेकोमा त्यसै समयमा एउटा गाईबाट गौशालाको थालनी भएको स्वर्गद्वारी आश्रम सञ्चालक समितिका कोषाध्यक्ष वासु भट्टराईले जानकारी दिए । हाल गौशालामा ३ सय ५० वटा गाई रहेका छन् ।
कोषाध्यक्ष भट्टराईका अनुसार समितिको सक्रियतामा पुरातत्व विभागबाट त्यहाँ यज्ञशालाको मर्मत हुँदैछ । नेपाल पर्यटन बोर्डले सिंढीमा ढुंगा बिच्छ्याउने कामका लागि रु २५ लाख छुट्याएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको सहयोगमा धरमपानीमा गौशाला निर्माण भइरहेको र प्युठानका व्यापारी मेघराज कक्षपतीको सहयोगमा धर्मशाला निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।
सोही स्वर्गद्वारीको धार्मिक पर्यटकीय महत्वलाई उजागर गनका लार्नी पोखरेली पर्यटन व्यवसायी हरूले पनि चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पर्यटन यातायात समिति, पोखराको आयोजनामा हालै स्वर्गद्वारीको प्रवद्र्धनात्मक भ्रमण गरिएको समितिका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए ।
उक्त भ्रमणका क्रममा अत्याधिक धार्मिक पर्यटक पुग्ने स्थल भएर पनि त्यहाँका स्थानीयवासीले अधिकतम लाभ लिन नसकेको आफूहरूले पाएको उनले बताए । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले स्वर्गद्वारीबाट त्यहाँस्थित नगरपालिका एवं स्थानीयवासीले लाभ लिन सक्ने गरी पूर्वाधार विकास गर्दै व्यवसायिकतामा जोड दिनुपर्ने धारणा राखे ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले स्वर्गद्वारीको पर्यटकीय आकर्षणलाई अधिकतम उपयोग गर्न सक्ने गरी प्रभावकारी व्यवस्थापन एवं पर्यटक लक्षित पूर्वाधार विकास आवश्यक रहेकोमा जोड दिएका छन् । स्वर्गद्वारीलाई पोखराको पर्यटनसँग जोड्न आफूहरू तयार रहेको थापाले बताए ।
प्रतिक्रिया