काठमाडौं । शुक्रबार अपरान्ह ३ः२० को समय । अलोन विमानस्थलबाट एक्सरसाई एयरलायन्सको उडान नं इएक्सई एक २४ को बोइङ सात सय ५७ जहाज बोनाञ्जा क्यापिटल इन्टरनेश्नल एयरपोर्ट उडान गर्ने तयारीमा हुन्छ ।
जब जहाज ‘ट्याक्सी वे’ बाट धावनमार्गतर्फ अघि बढ्छ, चालक दलका नौ सदस्यसहित एक सय ९ जना सवार उक्त जहाज उड्ने तयारी गर्दा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई जहाजमा बम भएको सूचना प्राप्त हुन्छ । लगत्तै उद्धारका लागि हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार टोली खटिन्छन् ।
नेपाली सेनाको बम निष्क्रिय गर्ने समूहले बम निष्क्रिय गर्छ । विष्फोट पूर्व ५७ जनाको उद्धार हुन्छ । उक्त घटनामा पाँच जनाको मृत्यु तथा १० जना गम्भीर घाइते भएका हुन्छन् । सामान्य अवस्थाका घाइते १४ जना सामान्य उपचारपछि फर्कन्छन् । गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिन्छ ।
यो दृश्य हो शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको ‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासको । हेर्दा वास्तविक झै लाग्ने यो काल्पनिक दृश्य विमानस्थलमा आपतकालीन उद्धारका बेला कसरी अन्तर निकायले समन्वय गरेर काम गर्न सक्छन् भनेर सन्देश दिनको लागि गरिएको अभ्यास थियो । हवाइ उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो ।
विमानस्थलले बोइङ सात सय ५७ जहाजको नमुना बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरेको हो । नेपाल एयरलायन्सको बोइङ सात सय ५७ जहाजलाई काल्पनिक जहाज बनाएर ‘अलर्ट’–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिएको थियो ।
‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपरान्ह आधा घण्टा हवाइ सेवा बन्द गरिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गरिएको हो । अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उडडयन संगठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधान छ । सो अनुरूप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।
अभ्यासका क्रममा दमकल, सुरक्षाकर्मी, चिकित्सक, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिन्थ्यो । साच्चिकै दुर्घटनाजस्तो गरेर सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मे परेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा कर्मचारी, तीन वटै सुरक्षा निकायका प्रतिनिधिसहित (साधन स्रोत) सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल व्यवस्थापन विभागका प्रमुखसमेत रहेका संकटकालीन अभ्यासका प्रवक्ता उत्सव खरेलले आइकाओको सिद्धान्त बमोजिम यस्ता खाले आपतकालीन घट्ना भएको सन्दर्भमा उद्धार कार्यलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्देश दिनका लागि अभ्यास गरिएको बताए ।
विमानस्थलमा भोलिका दिनमा वास्तविक घट्ना भएको खण्डमा विमानस्थलमा सक्रिय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, फायर फाइटिङ सर्भिस, विमानस्थलका कर्मचारी, अस्पताललगायतका निकायसँग कसरी समन्वयात्मक ढंगले काम गछौँ भनेर देखाउनुनै अभ्यासको उद्देश्य भएको उनले उल्लेख गरे ।
अर्कोतर्फ विमानस्थलमा उपलब्ध उपकरण तथा स्रोत साधन, जनशक्तिबीच काम गर्ने तौरतरिका र परिचालन कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सचेत गराउनु पनि भएको विमानस्थलले जनाएको छ । विमानस्थलमा कुनैपनि प्रकारको दुर्घटना भएमा ‘फायर भेइकल’ तथा ‘फायर फाइटिङ सर्भिस’ घटना भएको दुई मिनेटभित्र पुग्नुपर्ने नियम हुन्छ ।
त्यसको परीक्षण गर्नका लागि पनि पूर्व अभ्यास गरिएको खरेलले बताए । विमानस्थलको स्तर अनुरुप नौ तहका फायर फाइटिङ सर्भिस उपलब्ध छन् । अहिले विमानस्थलमा आवश्यकता उपकरण र जनशक्ति उपलब्ध रहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
प्रतिक्रिया