स्पोर्टस् अवार्डमा जोडियो क्राउन प्लाजा

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड इन एसोसिएसन विथ एक्सन स्पोर्टस् एचडी पावर्ड बाई गोल्ड स्टारमा होटल क्राउन प्लाजा सह प्रायोजकका रूपमा आबद्ध भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र होटल क्राउन प्लाजाबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको छ ।

क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठ र मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सह–प्रायोजन अवधि एक वर्षको रहनेछ बताइएको छ । सम्झौताअनुसार क्राउन प्लाजाले अवार्ड कार्यक्रम र मञ्चका लागि आवास र भोजनको व्यवस्था गर्नेछ । खेलका माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने अवार्ड आगामी मंगलबार नेपाल प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ ।

सम्झौतापछि क्राउन प्लाजाको प्रबन्ध निर्देशक श्रेष्ठले अनौपचारिक रूपमा मञ्च र अवार्डसँग लामो सहकार्य गर्दै आएको स्मरण गर्दै अहिले औपचारिकरूपमा जोडिन पाउँदा खुसी लागेको बताए । मञ्चका अध्यक्ष सुवेदीले खेलकुद क्षेत्रसंग जोडिदै आएको क्राउन प्लाजा अवार्डसँग औपचारिकरूपमा जोडिनु सुखद पक्ष भएको बताए ।

१६ औँ संस्करणको अवार्डको तयारी अन्तिम चरणमा पुगेको मञ्चले जनाएको छ । अवार्डका विभिन्न ५ विधाको मनोनयन समेत सार्वजनिक भइसकेको छ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।

अवार्डमा लाइभ टाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट अवार्ड, टिम अफ दी इएर र अन्तर्रा्ष्ट्रिय पत्रकारलाई दिने अवार्डको त्यही दिन घोषणा हुनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्टह्याम्परहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि मुख्य प्रायोजन रहेको अवार्डमा मुख्य सहप्रायोजकको रूपमा किरण सु म्यानुफ्याक्चरको मुख्य उत्पादन गोल्डस्टार पावर्ड बाई र अर्को मुख्य सह प्रायोजकको रूपमा डिस मियडा नेटवर्कको एक्सन स्पोर्टस एचडी पावर्ड बाई रहेको छ । अवार्डको प्रत्यक्ष प्रसारण विगतमा जस्तै एभिन्यूज टेलिभिजनबाट हुने छ ।

त्यस्तै सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मीको आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालि, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स होलट क्राउन प्लाजा, साहस स्पोर्टस र इमेजिङ अवार्डको सह प्रायोजक रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटिले पनि अवार्डलाई लामो समयदेखि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया