बाँके कारागारले बस्तीमा जोखिम

मानव बस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती बढ्दै गएको छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारीले नै बताउन थालेका छन् ।

नेपालगञ्ज सहर विस्तार हुने क्रमसँगै कारागार क्षेत्र बाहिर मानव वस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगञ्जको ठीक बीच भागमा रहन पुगेको छ । कारागार मानव वस्तीको बीचमा पर्दैमा जोखिम भइहाल्दैन । कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास वरपरका बस्तीमा पर्छ ।

कैदी कैदीबीच पनि बेलाबखत हुने भैmँझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्न जाने गरेको जेलर भरत पाण्डे बताउँछन् । कैदीबीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्युसमेत भएको थियो । विगतका यी घटना फेरि दोहोरिँदैनन् भनेर किटान गर्न नसकिने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनिक स्तरबाटै उठ्न थालेको छ ।

नेपालगञ्ज–१० मा रहेको कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको संख्या बढ्दै जानुको साथै कारागार वरिपरिको वातावरण पनि एकदमै फोहर रहेको जेल पाण्डेले बताउँछन् । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था पनि छैन ।

फोहर बढी भएकाले कैदीहरू धेरै बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो छ । यस्तै समस्याका कारण कारागारले सुरक्षा चुनौती अझै बढाएको जेलर पाण्डेको भनाइ छ । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना वस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ ।

मानव वस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँके जिल्लाको गनापुरमा खुला कारागार निर्माण गर्ने भने पनि उक्त काम पूर्णरूपमा अघि बढ्न सकेको छैन । आठ बिघा क्षेत्रफलमा रहेको खुला कारागारको दुई कोठा र छाउनी निर्माण कार्य सकिए पनि अन्य संरचना निर्माणमा ढिलाइ भइरहेको छ ।

सुरक्षा दिन कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घना बस्तीको बीचमा कारागार रहेका कारण सुरक्षा चुनौती बढेको हो । बाँकेको नौबस्तामा क्षेत्रीयस्तरको कारागार र गनापुरमा खुला कारागार निर्माणाधीन अवस्थामा छ । ‘तीन हजार क्षमताको कारागार निर्माण सकिएपछि समस्या समाधान हुनेछ,’ जेलर पाण्डेले भने ।

वर्षौंदेखि क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको नेपालगञ्ज कारागारको व्यवस्थापन अझैसम्म चल्दै आएको छ । तीनसय कैदीबन्दी राख्न सकिने क्षमताको नेपालगञ्ज कारागारमा वैशाख मसान्तसम्म ७ सय ५५ कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका थिए । जेलको क्षमता ५० महिला र २ सय ५० पुरुषको हो तर, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी यहाँ छन् ।

वैशाख मसान्तसम्म ४ सय ५ कैदी र ३ सय ५० थुनुवा रहेको नेपालगञ्जमा चाप कम गर्न ३५ जनालाई जेठमा दैलेख कारागार पठाइएको जेलर पाण्डेले जानकारी दिए । थप १२ जना गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । जेठ अन्तिमसम्म पनि कारागारमा ७ सय ८ जना कैदीबन्दी थिए ।

कैदीबन्दी दिन प्रतिदिन थपिँदै जाने तर, थपिएको भन्दा कम संख्यामा कैदीबन्दी छुट्ने गरेका कारण कारागारमा चाप बढेको हो । ‘प्रत्येक दिन कैदीबन्दी थपिने र जाने क्रम जारी हुन्छ,’ जेलर पाण्डेले भने, ‘तर छुट्नेभन्दा कैदीबन्दी थपिने क्रम बढ्दो छ ।’ कुल २ सय ५० पुरुष बस्न सक्ने कारागारमा ६ सय ५० जना कोचिनुपरेको छ । गर्मीमा कैदीहरूले ज्यादा भोग्नुपर्छ ।

पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भान्सा र शौचालयको छतमा समेत कैन्दीबन्दी सुत्न बाध्य छन् । जेलर पाण्डेले भने, ‘ठाउँ व्यवस्थापन गर्न सक्ने अवस्था छैन । भएकै ठाउँमा मिलाएर राख्नुपर्ने बाध्यता छ ।’

‘जेलभित्रै थप पूर्वाधार निर्माणका लागि बजेट र स्थान दुवै उपलब्ध छैन,’ हालकै अवस्थामा कैन्दीबन्दीको व्यवस्थापन गर्नुपर्ने बाध्यता सुनाउँदै उनले भने । पानी परेपछि ओत लागेर राति जागै बस्नुपर्ने अवस्था आउने गरेको कैदीहरू बताउँछन् । कैदीबन्दीहरुका लागि पिउनेपानी, बिजुली र मनोरञ्जनका साधनको पनि कमी छ । पचास जना महिला कैदीबन्दी अट्ने यो कारागारमा उनीहरूलाई भने खासै समस्या छैन ।

क्षमताभन्दा बढी कैदीबन्दी भए पनि उनीहरू अन्यत्र जिल्लाका कारागारमा जान भने रुचि राख्दैनन् । ‘जे–जस्तो समस्या भए पनि अन्य कारागारमा जान अनिच्छुक हुने गरेका कारण जेलमा चाप बढ्दै गएको हो,’ उनी भन्छन । अधिकांश थुनुवाहरूको यहीँ मुद्दा चलिरहेका कारण पनि कैदीहरू अन्यन्त्र जान नचाहेको हुनसक्ने जेलर पाण्डेको भनाइ छ । कैदीहरू पनि अन्यत्र सर्नेभन्दा जेलभित्र थप भवनहरू बनाए सहज हुने बताउँछन् ।

यस कारागारमा पुर्पक्ष र सजाय काटिरहेका सबैभन्दा बढी कैदीबन्दी लागुऔषधकै रहेका छन् । गत वैशाख मसान्तसम्मको तथ्यांक अनुसार कारागारमा लागुऔषध मुद्दाका कुल २ सय ७५ जनामध्ये १ सय ३५ कैदी र १ सय ४० थुनुवा रहेका छन् । लागुऔषध मुद्दामा पुरुषतर्फ १ सय २८ जनाले सजाय काटिरहेका छन् भने पुर्पक्षमा १ सय ३२ जना रहेका छन् ।

उक्त मुद्दामा सजाय काटिरहेका ७ महिला छन् भने पुर्पक्षमा ८ जनाले कारागारमा दिन बिताइरहेका छन् । कर्तव्य ज्यानका १ सय ६ कैदी रहेका छन् भने ३९ जना कर्तव्य ज्यान मुद्दाका थुनुवा छन् । यस्तै, ७१ जना जबर्जस्ती करणीका कैदी रहेका छन् भने ४३ जना जबर्जस्ती करणीका थुनुवा छन् । मानव बेचबिखनका १६ कैदी र २३ थुनुवा रहेका छन् । थुनामा रहेको ५७ विदेशीमध्ये ५५ भारतीय छन् । अपहरण र शरीर बन्धक मुद्दामा एक भारतीय महिलाले सजाय काटिरहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैदी तथा थुनुवाहरूका लागि सीपमूलक तालिमको आयोजना गर्ने गरिएको छ । कैद भुक्तान गरेर फर्किदा जीविकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले विभिन्न समयमा सीपमूलक तालिम आयोजना गर्ने गरिएको जेलर पाण्डेले जानकारी दिए । अहिले ३५ पुरुषले वायरिङ र १३ महिलाले ब्युटिसियन तालिम लिइरहेका छन् ।

कारागार भवन र बाहिर सुरक्षा निगरानीका लागि १० वटा सिसी क्यामेरा जडान गरिएका छन् । पाँच वटा सिसी क्यामेरा थपिँदै छ । खानेपानी समस्या समाधानका लागि डिप बोरिङको काम भइरहेको छ ।

प्रतिक्रिया