कहाँ चुक्यो कांग्रेस ?

पद र प्रतिष्ठाबाट कहिल्यै तृप्त नहुने नेतृत्वका कारण नयाँ पुस्ताको भविष्य पनि अन्योलमा छ । नेतृत्वमा पुस्तान्तरण हुन सकेन भने लोकतान्त्रिक दल जीवित रहनै सक्दैन । सधै एउटै व्यक्ति नेतृत्वमा रही रहने हो भने कार्यकर्ता र जनतामा वितृष्णा पैदा हँुदै जान्छ । अहिले कांग्रेसको आकार साँघुरिनुमा यही नै मुख्य कारक हो 

वर्तमान कम्युनिस्ट शासनले देश आक्रान्त बनेको छ । सर्वत्र लुट मच्चिएको छ । जनजीवन दिनानुदिन कष्टकर बन्दै गइरहेको छ । नेपालको गौरवशाली पहिचानका क्रममा रहेका धार्मिक एवं सांकृतिक सभ्यतामाथि अनुचित प्रहार भइरहेको छ । राष्ट्रिय स्वाभिमान गिर्दो अवस्थामा छ । देश गम्भीर आर्थिक संकटमा फस्ने दिशातर्फ उन्मुख छ ।

बेरोजगारी झनै डरलाग्दो ढंगले बढ्दैछ । नेपालको आर्थिक समृद्धिका लागि सबैभन्दा भरपर्दो स्रोत पर्यटन क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । देशमा गैरन्यायिक हत्या एवं अपराध त झनै विकराल बन्दै गएको छ । बलात्कार एवं महिला हिंसा अकल्पनीय ढंगले वृद्धि भएको छ । सरकार एकपछि अर्को झुट पस्किन व्यस्त छ ।

यति ज्यादती हुँदाहुँदै पनि नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी मौन प्रायः छ । सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन । कम्युनिस्ट सरकारसँग आजित जनता कांगे्रसको मुख हेर्दैछन्, कांग्रेसले यो सर्वसत्तावादी सरकारलाई खबरदारी गर्ला कि भन्ने अपेक्षा गरिरहेका छन् । तर कांगे्रस मस्त निद्रामा परिहेको जस्तो देखिन्छ ।

आफैँभित्र अनावश्यक गुटउपगुट बनाई पद एवं शक्तिको अशोभनीय खेलमा अल्मलिनु विडम्बनापूर्ण छ । कांग्रेसजनले अब मैले के पाउँछु भनेर गुटउपगुटको खिचडी पकाउनुभन्दा पनि मैले देश र जनताका लागि के दिन सक्छु भन्ने सोच राख्नु जरुरी छ । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई कसैले हल्लाउनै नसक्ने गरी स्थापित गरेर विकास र समृद्धिको अभिमानमा लाग्नुपर्ने कांग्रेस यसरी निस्क्रिय भएर बस्नु देश र जनताका लागि हानिकारक हो ।

सरकारका गलत कामविरुद्ध प्रमुख प्रतिपक्षीदल अघि अघि र जनता पछि पछि हुनुपर्ने हो । बहुदलीय लोकतन्त्रको नियम नै यही हो । संसदीय व्यवस्थाको मर्म भनेको पनि यही हो । तर, नेपालमा अहिले उल्टो भइरहेको छ । जनताले आन्दोलन सुरु गर्ने, आन्दोलन चर्किसकेपछि मात्रै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस पछिपछि सहभागी हुने अवस्था देखियो । डा. गोविन्द केसीले सुरु गरेको आमरण अनशनका क्रममा त्यो स्थिति देखिएको थियो नै ।

यस पटक गुठी विधेयकको विरुद्ध पनि त्यो स्थिति देखियो । सरकारले वैशाख १६ गते गुठी विधेयक संसदमा दर्ता ग¥यो । संसदमा विधेयक दर्ता हुना साथ विधेयकमा के–के खराब प्रावधान छन् ? भन्ने समीक्षा गर्दै जनताबीच कुरा पु¥याउनु प्रमुख प्रतिपक्षीदलको मुख्य दायित्व हो । अर्थात् विधेयकका खराब पक्षबारे जनतालाई सुचित गर्ने दायित्व प्रमुख प्रतिपक्षको हो । तर, यो मामिलामा नेपाली कांग्रेस चुकेको देखियो । उदाहरणका लागि वैशाख १६ गते गुठी विधेयक दर्ता भयो ।

विधेयकमा भएका गलत प्रावधानबारे मिडियामार्फत जेठको पहिलो साता जनताले जानकारी पाए । गुठी विधेयकका केही प्रावधान संसोधन गर्न भन्दै जनताले सरकारलाई खवरादरी गरे । सरकारले टेरेन, प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस बेखबर जस्तो देखियो । जेठ २६ गते देखि आन्दोलन तात्यो, जनता सडकमा उत्रे, त्यसपछि मात्रै नेपाली कांग्रेसले कुरा उठायो । गुठी विधेयक फिर्ता गर्न सरकार बाध्य भयो तर सरकारलाई बाध्य पार्नुको स्वामित्व लिने अवशरबाट नेपाली कांग्रेस वञ्चित भयो ।

विगतमा नेपाली कांग्रेसले बोलेपछि कुरा सकिन्थ्यो । नेपाली कांग्रेसले जे बोल्यो त्यो पूरा गर्न सरकार बाध्य हुन्थ्यो । तर, संविधान जारी भए यता नेपाली कांग्रेसको निर्णायक भूमिका रहेन । उदाहरणका लागि वाइडबडी प्रकरणलाई लिउँ, सुन काण्डलाई लिउँ, निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणलाई लिउँ, बालुवाटारको सरकारी जग्गा व्याक्तिको नाममा पुगेको प्रकरणलाई लिउँ । खै त प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गरेको ?

भनिन्छ– ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको आयु बरावर हुन्छ ।’ यो भनाइको अर्थ हो–‘लोकतन्त्र रहेन भने प्रेस स्वतन्त्रता रहँदैन र प्रेस स्वतन्त्रता रहेन भने लोकतन्त्र पनि रहँदैन ।’ सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयक जस्ताको तस्तै पारित भयो भने प्रेस स्वतन्त्रता रहन्न । प्रेस स्वतन्त्रता समाप्त हुनु भनेको लोकतन्त्र पनि समाप्त हुनु हो । यति धेरै संवेदनशील विषयमा नेपाली कांग्रेसको आवाज खोई ? यो मुद्दालाई शसक्त रूपमा उठाउँदा नेपाली कांग्रेसले मिडियाको साथ पाउने अवस्था रहन्थ्यो । प्रमुख प्रतिपक्षीदलको सामाथ्र्य भनेकै मिडिया हो तर मिडियाको साथ लिने अवसरसमेत नेपाली कांग्रेसले गुमाउँदै छ ।

नेपालको राजनीतिमा ‘मियो’ को भूमिकामा रहेको नेपाली कांग्रेस अहिले ‘तमासे’ मात्र बन्न पुगेको छ । निकृष्ट स्वार्थ, अशोभनीय लोभ, अराजनीतिक संस्कार, आफ्नै एजेन्डाप्रति विमोह, राष्ट्रियताको सवालमा अस्पष्ट एवं दम्भले गैरकांग्रेस चरित्रको प्रभुत्व भएकै कारण विश्व राजनीतिबाट पलायन भइसकेको कम्युनिस्ट विचारबाट नेपालमा भने कांग्रेसले नमीठो एवं लज्जाजनक पराजय भोगेको छ ।

नेपाली कांग्रेसलाई यो दुर्दशाबाट मुक्त गराउन नेतृत्व वर्ग, कार्यकर्ता एवं यससँग सम्बन्धित बुद्धिजीवी, पेसागत समूहलगायत शुभचिन्तकहरूले गम्भीर आत्मसमीक्षा गर्दै सुधार अभियान थाल्नुपर्छ ।

पद र प्रतिष्ठाबाट कहिल्यै तृप्त नहुने नेतृत्वका कारण नयाँ पुस्ताको भविष्य पनि अन्योलमा छ । नेतृत्वमा पुस्तान्तरण हुन सकेन भने लोकतान्त्रिक दल जीवित रहनै सक्दैन । सधै एउटै व्यक्ति नेतृत्वमा रही रहने हो भने कार्यकर्ता र जनतामा वितृष्णा पैदा हँुदै जान्छ । अहिले कांग्रेसको आकार साँघुरिनुमा यही नै मुख्य कारक हो ।

नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दलका नेताहरूले आफू मात्रै नेतृत्वका लागि योग्य छु भन्ने सोच राखेर बाँचुञ्जेल पदकै लडाइँमा समय खर्च गर्नु दुर्भाग्यपूर्ण हो । नेतृत्व त बग्ने पानीजस्तो हुनुपर्छ तर कांग्रेस वर्षौंदेखि तलाउमा जमेर बसेको पानीजस्तै भइरहेको छ । जमेको पानी सफा हुँदैन । अब पानी नफेर्ने हो भने विस्तारै त्यो तलाउमा जलचरहरू बस्न सक्तैनन् । यो गम्भीर परिस्थिति आउनुभन्दा पहिल्यै कांगे्रस नेतृत्वले सोच्नै पर्छ ।

कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीमा महिलाको स्थान उच्च हुनुपर्छ । राणाकालदेखि नै महिलाहरूले पनि नेपाली कांग्रेसको छहारीमुनि बसेर क्रान्ति गरेका थिए । मंगलादेवी सिंह, शैलजा आचार्य, नोना कोइरालालगायतका नेतृहरूको भूमिका ज्यादै महत्वपूर्ण छ । राजनीतिमा महिलाहरूको सहभागिता जति बढाउँदै लग्यो त्यति नै राजनीतिमा सुधार आउँछ, भ्रष्टाचार पनि न्यून हुन्छ । किनभने महिला स्वभावैले संयमी, कर्तव्यपरायण तथा जिम्मेवार हुन्छन् । यो महिलाको प्राकृतिक चरित्र हो ।

जसरी एउटा सन्तानलाई असल संस्कार दिन महिलाको हात हुन्छ त्यसरी नै समाज एवं राष्ट्रका लागि पनि महिलाको नेतृत्वले असल संस्कार स्थापित गर्न बढी सहज हुन्छ । तर, यसको अर्थ पुरुषहरू अयोग्य हुन्छन् भन्ने होइन । पुरुषहरूको पनि आफ्नै विशेषता छन् । कतिपय विषयमा पुरुष जत्तिको महिला नहुन पनि सक्छन् । त्यसैले, त समाज पुरुष र महिलाको सहयात्राबाट मात्र पूर्ण हुन सक्छ । यही कारणले गर्दा महिला सहभागितालाई नेपाली कांग्रेसले बढी जोड दिनुपर्छ ।

नेपालको राजनीतिका लागि नेपाली माटो सुहाउँदो पार्टी नेपाली कांग्रेस नै हो । यो पार्टीका संस्थापक बिपी कोइरालालगायतका नेता नेपाली नै हुन् । कार्ल माक्र्स, लेनिन, स्टालिन, माओत्सेतुङजस्ता विदेशीको विचार उनीहरूकै देशमा अफाप सिद्ध भइसक्यो भने नेपालमा पनि उपयोगी हुने देखिँदैन । विश्वकै राजनीतिमा पनि ‘कम्युनिज्म’ पटक–पटक प्रयोग भएर असफल भइसकेको राजनीतिक चिन्तन हो ।

निदाएको कांग्रेस अब ब्युँझिनु पर्छ । नेपाल र नेपालीको भविष्यमाथि भइरहेको डरलाग्दो षड्यन्त्रलाई परास्त गर्नुपर्छ । त्यसका लागि पार्टीभित्र सुदृढ आन्तरिक एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने दृढता कांग्रेसभित्र जागृत हुनुपर्छ ।

प्रतिक्रिया