दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका–३ जफेका वडाध्यक्ष रामप्रसाद काफ्ले सम्मानित भएका छन् । भूकम्प पुनर्निर्माणमा उत्कृष्ट कार्य गरेबापत जिल्ला पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ दोलखाले जफेका वडाध्यक्ष काफ्लेलाइ सम्मानित गरेको हो ।
निजी आवास निर्माणतर्फ जिल्लाभित्रका वडाहरू मध्ये तेस्रो किस्ता वितरणमा अधिकतम प्रगति हासिल गरेकोले चौथो गोरखा भूकम्प स्मृति दिवस २०७६ को अवसरमा सम्मानित गरिएको आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ ।
लामो समय निजामती कर्मचारीको जीवन बिताएका वडाध्यक्ष काफ्लेले गएको स्थानीय निकायको चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । कर्मचारी हँुदा गाउँपालिकाको तीन वटा भिरकोट, झुले, जफेका वडासचिव रहेका काफ्लेले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । स्थानीय निकायको निर्वाचनमा अत्यधिक मतले विजय भएका काफ्लेले गाउँपालिकाबाट पाउने सेवासुबिधा बापतको तलब र यातायातको सुबिधा नलिने वडाध्यक्ष हुन् ।
आफू कर्मचारी हुँदा पनि निःस्वार्थ जनताको सहयोगमा लागेको र अहिले पनि जनता काममा कुनै पनि कमी नराखेको काफ्लेले बताए । दिनरात जनताको सेवामा लागेका काफ्लेले स्थानीय जनताको काममा सहज सरलतापूर्वक काम गरेकै कारण सम्मानित भएको स्थानीय काजी भण्डारीले बताए । आफ्नो वडाध्यक्ष सम्मानित हुँदा आफ्नो सिंगो वडा सम्मानित भएको महसुस गरेको र यो झरी बादल, बिहान बेलुकी नभनी जनताको काममा लागेको कारण नै सम्मानितको उपलब्धि रहेको स्थानीय भण्डारीले बताए ।
प्रतिक्रिया