ज्येष्ठ नागरिकलाई घरमै उपचार

बाजुरा । ज्येष्ठ नागरिकलाई घरमै गएर उपचार गर्नेदेखि सुत्केरी महिलालाई सुत्केरी भत्ता दिनेजस्ता विषयलाई समेटेर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको छैटौँ गाउँसभा मंगलबारबाट वाई सुईजिउलामा सुरु भएको छ । मंगलबारबाट सुरु भएको गाउँपालिकाको छैटौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले उक्त उल्लेख गरेका हुन् ।

आगामी आव ०७६-७७ का लागि प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष शाहीले स्वामिकार्तिक रिङरोड नरजङ, नरजित, नरपति सडक खण्डलाई पहिलो प्राथमिकतामा राखी एक व्यक्तिको मृत्युपश्चात सम्झनामा एक रुख रोप्ने नीति लिएको बताएका छन् । गाउँपालिकाकाले सडक नपुगेको सबै वडालाई सडक सञ्जालसँग जोड्न तीव्रता दिने र व्यावसायिक कृषि उत्पादनमा वृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा पोषणयुक्त खाना, कुपोषणमुक्त समाज भन्ने नारालाई आत्मसाथ गर्दै सो बमोजिम कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँपालिकाले जननेता मदन भण्डारीको सम्झनामा मदन भण्डारी हरित कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक वर्ष अध्यक्ष कप कार्यक्रम पनि सञ्चालन गर्ने, स्वास्थ्य संस्थाभन्दा बाहिर रहेका बस्तीमा स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा अटाएको छ ।

विद्यालयको गुणस्तर सुधार गर्न शिक्षक तालिमको व्यवस्था गर्ने, गाउँपालिकाभित्र रहेका स्थानीय खरे घरलाई बिस्थापित गर्न आवश्यक रकमको व्यवस्था मिलाएको बताइएका छन् । वाईको लिफ्ट सिँचाइ योजना, भतेडिगाढ सिचाइँ योजना लगायतका महत्वपूर्ण योजनालाई पहिलो प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालु आवका साना, मझौला योजना समय अवधिमा सम्पन्न भएका र ठूला योजना क्रमागत रूपमा अगाडि बढाइएका भौतिक पूर्वाधार भवन, मोटरबाटो, खानेपानी संरचनाहरूको उत्साहजनक रूपमा काम सम्पन्न भएको उल्लेख गरेका छन् । चालु आवमा स्वास्थ्य तथा शिक्षाका सूचकहरू पनि उत्साहजनक भएको कृषि तथा पशु विकासको क्षेत्रमा सोचेअनुरूप काम भएको पनि अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया