सुर्खेत । चालू आर्थिक वर्ष सकिन तीन साता बाँकी हुँदा बजेट सकाउन धमाधम विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा अहिले विकास निर्माणका काम निक्कै तीव्रताका साथ अगाडी बढिरहेको छ ।
वीरेन्द्रनगरमा अहिले नभत्किएका सडकमा धमाधम पिच गर्ने काम भइरहेको छ । वडा नं. ४ को जेपी स्कुल रोडको कालोपत्रेमा कही पनि बिग्रिएको छैन, तर त्यही सडकमा पुनः अहिले पिच भईरहेको छ । अन्य बिग्रिएका कतिपय सडक भने ज्यूँका त्यूँ रहेको छ । सो सडकको नजिकै रहेको आयुर्वेद औषधालय जोड्ने सडकभने जीर्ण छ । तर सो जीर्ण सडक छाडेर नजिकैको पिचमाथि अर्को पिच गरेर बजेट सिध्याइएको स्थानीयबासीको गुनासो रहेको छ । पहुँच र पावरको भरमा केही नभएको सडकमा पुनः कालोपत्रे गरिएको भन्दै वडाबासीले विरोध गरेका छन् ।
यसैगरी वीरेन्द्रनगर बजार क्षेत्रभित्रका भित्री जीर्ण सडकहरू पनि धमाधम टालटुल पारिएको छ । झरी पर्दापनि रुझेर कालोपत्रे गरिएको छ । लक्ष्मी चलचित्र हुँदै हटिया जोड्ने करिब दुई सय मिटर सडक झरीमा रुझेर कालोपत्रे गरिएको थियो । पानीमा पनि कालोपत्रे गर्न लागेपछि स्थानीयले आक्रोश पोखेर काम रोक्न पुगेका थिए । यता वीरेन्द्रनगर नगरपालिकाले अहिले नगरभित्रका केही सडकहरू मर्मत गर्ने काम भइरहेको जानकारी दिएको छ । नगरपालिकाको अनुगमन समितिका सदस्य मोतीप्रसाद कँडेलले अनुगमनका क्रममा कुनै ठाउँमा अस्वभाविक रूपमा विकास भएको पाइएको बताए । करिव ७० लाखको बजेटमा बजार क्षेत्रभित्रका साना करिब आधा दर्जन जीर्ण सडकहरू टालटुल पार्न लागिएको छ ।
उता नगरभित्रका ठूला सडकहरूको अवस्था भने दयनीय छ । सामाजिक विकास मन्त्रालय जाने सडक, बसपार्क जाने सडक, प्रदेश अस्पताल जाने सडक, प्रदेश मन्त्रालय जाने सडक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय जाने सडक, जिल्ला प्रहरी कार्यालय जाने सडकहरू भत्केर ग्राभेलजस्तै भएका छन् । प्रदेश सरकारले मर्मत गर्ने भनिए पनि अहिलेसम्म कुनै प्रगति हुनसकेको छैन । विमानस्थल जोड्ने सडकको काम निर्माणाधीन भए पनि काम सकिएको छैन । सडकभरी भएका खाल्डाखुल्डीले वर्षा याममा पानी भरिँदा जलमग्न हुने गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले सबैभन्दा पहिला सडक सुधार गर्नुपर्ने आवाज नागरिकले उठाएपनि सुनुवाई हुनसकेको छैन ।
प्रतिक्रिया