सांसद यादव पार्टी सदस्यबाट निलम्बन

काठमाडौं । ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई समाजवादी पार्टीले सदस्यबाट निलम्बन गरेको छ । लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी उनलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।

गत मेमा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ सहभागी भएका थिए । नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो । समाजवादी पार्टीले लाटभिया भ्रमणबारे सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो । यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकका निर्णय बारे उपमहासचिव प्रकाश अधिकारीले भने, ‘पार्टीको नीति विपरीत काम गरेको पाइएकाले निलम्बनको निर्णय गरिएको हो ।’ उनका अनुसार सांसद यादवलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भएको छैन । बैठकले पार्टीको प्रचार विभागमा प्रशान्त सिंह, अर्थ विभागमा विजयकुमार यादव, विज्ञ परिषदमा डा. पुष्पराज राजकर्णिकार र सल्लाहाकर समिति प्रमुखमा भीमप्रसाद गौतमलाई तोकेको छ ।

प्रतिक्रिया