काठमाडौं । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आइतबार दिउँसोबाट खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे पनि सडक निर्माणको काम अगाडि नबढाएको भन्दै स्थानीयले आइतबार बिहानैदेखि सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका थिए ।
तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडो भन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति गत जेठ २८ गते नगरपालिका र स्थानीयबीच भएको थियो । सहमतिअनुसार सडक निर्माणमा बिलम्ब गरिएको भन्दै आक्रोशित युवा आइतबार बिहान सवारी आवागमन ठप्प पार्दै आन्दोलनमा उत्रिएका थिए ।
सहमतिअनुसार सडक निर्माण गर्न ढिला भएको स्वीकार्दै नगरपालिकाले सडकको खाल्डा पुर्ने, हिलो सोहोर्ने काम सुरु गरेपछि सवारी आवागमन खुल्ला गरिएको स्थानीय पवोल बज्राचार्यले जानकारी दिए । वैशाख महिनादेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलिबाट साँखु जाने सडकखण्ड अझै कालोपत्र नभएको भन्दै स्थानीयले दुखेसो पोखेका छन् ।
त्यस्तै बौद्धको गेटसम्म पनि सडक कालोपत्र नभएको भन्दै स्थानीय विनिता कोइरालाले बौद्धबाट जोरपाटी हुँदै थलिसम्म पुग्नका लागि निकै कष्टकरयात्रा गर्नुपर्ने बताइन् । सडकमा खाल्डा र हिलोको बयान गरी साध्य नभएको भन्दै कोइरालाले यस सडकखण्डमा दिनहुँ मोटरसाइकल दुर्घटनामा पर्ने गरेको बताइन् ।
सोही सडकखण्डको सलम्बुटारदेखि इन्द्रायणी, नयाँ पाटी, डाँछी, थलिलगायतका सडकमा ठूल–ठूला खाल्डाखुल्डी रहेका छन् । त्यसको तत्काल निर्माण सम्पन्न गर्नुपर्ने माग स्थानीयको छ । यसअघि पनि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा सडक निर्माणमा बिलम्ब भएपछि यसैगरी प्रदर्शन भएको थियो ।
सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कुल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सो सडक बिस्तारको जिम्मा पाएका थिए । तर, अहिलेसम्म उक्त सडकखण्डको निर्माणकार्य सम्पन्न हुनसकेको छैन ।
प्रतिक्रिया