काठमाडौं । ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ उपत्यकाका नदी, चक्रपथलगायत देशभरका मुख्य सहरमा सफाइ अभियान जारी छ । जनस्तरबाट सफाइ भइरहे पनि तीनै तहका सरकारले नीतिगत परिवर्तनका लागि खासै ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।
२०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएसँगै देशभर सफाइ अभियानले जागरणको रूप लिएको छ । सफाइकै लागि स्थापना भएका सरकारी निकायसमेत औपचारिकताभन्दा माथि उठ्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि सफाइ कार्यविधि जारी गरे पनि काम भने हुन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार सफाइ स्थानीय तहको जिम्मेवारी भए पनि आवश्यक मात्रामा ध्यान जान सकेको देखिँदैन । वाग्मती सफाइ महाअभियानको ३१९औँ हप्तामा शंखमूल मनोहरा दोभानमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत २४ संस्थाका ५ सयभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक समिति सदस्य माला खरेलले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मी पनि सक्रिय थिए । रुद्रमती सफाइको २७३औँ हप्तामा रातोपुलबाट कालोपुल क्षेत्रका नदी किनारमा रोपिएका बिरुवा संरक्षणका लागि सार्वजनिक आह्वान गरियो ।
काठमाडौँ महानगरपालिका–३० र रुद्रमती सरोकार समाजले संयुक्त रूपमा स्थानीय घरधनीलाई पत्र लेखी बिरुवा संरक्षणको जिम्मेवारी दिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । वडाध्यक्ष दलबहादुर कार्कीले नदी किनारका बिरुवा संरक्षणका लागि समुदायको सहयोग माग गरिएको बताए । बिरुवा नष्ट गर्नेलाई वडा कार्यालयले दण्डित गर्ने उनको भनाइ थियो ।
रुद्रमतीको सेतोपुलबाट सिम्रिक पुलसम्मको नदी किनारमा शनिबारदेखि विशेष सफाइ अभियान सुरु भएको छ । महानगरपालिका–२९ को नेतृत्वमा अभियानकर्मी चित्र सुनुवारलगायत शनिबार यस क्षेत्रको सफाइमा सक्रिय भएका थिए ।
प्रतिक्रिया