बाजुरा । सुदूरपश्चिम प्रदेश सरकार समामजिक विकास मन्त्रालय र स्थानीय सरकारको पहलमा बाजुराका एक सुत्केरी महिलाको उद्धार गरिएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट माझवाडा निवासी २२ वर्षीया रजनी विक स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
मंगलबारदेखि सुत्केरी ब्यथा लागेकी विक बाजुरामा सुत्केरी हुन नसक्दा थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको स्थानीय सतल विकले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, प्रदेश सांसद बल्देव रेग्मी र गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीको विशेष पहलमा सुत्केरी विकलाई नेपालगञ्ज लगिएको हो ।
स्वामिकार्तिक खापर गाउँपालिका–१ बर्कुमा स्वास्थ्यचौकी र वडा–२ मा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र भए पनि सुत्केरी विकलाई मंगलबारदेखि सुत्केरी ब्यथा लाग्दा परिवारले भने स्वास्थ्य संस्थामा नल्याएको सामुदायिक इकाइ प्रमुख रन्दिव बुढाले बताए । सामुदायिक स्वास्थ्य इकाइ केन्द्र नजिक भएकाले आपूmले विकलाई सुत्केरी ब्यथा लागेको थाहा पाउँदा र स्वास्थ्य संस्थामा सुत्केरी केस नआउँदा अनमी मालाकुमारी बम शाहीलाई उपचारका लागि घरमै पठाएको प्रमुख बुढाले बताए । स्वास्थ्यकर्मीले सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि परिवारले नलगेको स्वास्थ्यकर्मीले बताएका छन् ।
विकलाई हेलीकोप्टरबाट नेपालगञ्ज लगिए पनि बच्चा बचाउन सकिएन । शल्यक्रियापश्चात जन्मिएको छोराको मृत्यु भएपछि आमा रजनी विक बेहोस भएकी छन् स्थानीय सतल विकले बताएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा अप्रेसन गरेर बच्चा जन्माउने प्रविधि सिइओएनसी सेवा नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रले यस्ता थुप्रै केसहरू रिफर गरेर हवाइजहाज वा हेलिकोप्टरद्वारा उद्धार गर्नुपरेको छ । अप्रेसन गरेर डेलिभरी गर्ने सेवाका लागि स्वास्थ्य निर्देशनालयले पैसाको समेत व्यवस्था गरेको भए पनि बुढीनन्दा नगरपालिकाले बेवास्ता गरेका कारण त्यो सेवा सुरु हुन नसकेको बताइने गरिएको छ ।
प्रतिक्रिया