विराटनगर । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार महासंघले गरेको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रमेश केसीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलले प्रजिअ केसीलाई ज्ञापनपत्र बुझाएका थिए ।
विराटनगरस्थित वीरेन्द्र सभागृहबाट पत्रकारहरूको टोली ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापनपत्र दिनुअघि कार्यक्रममा बोल्दै महासचिव विवेक गौतमले विधेयक फिर्ता नभए कडा आन्दोलनमा उत्रिने बताए ।
मोरङ शाखाका अध्यक्ष पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल कुनै हालतमा मान्य नहुने बताए । उनले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रता नै हनन गर्ने गरी संसद्मा पेस गरेको विधेयक खारिज हुनुपर्नेमा जोड दिए । उनले सरकारले विधेयक खारेज नगरे यो भन्दा थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको निर्णयअनुसार ३ असारमा महासंघले हस्ताक्षर अभियान संकलन गरेको थियो ।
प्रतिक्रिया