अझै पुगेनन् पाठ्यपुस्तक

मुगु । जिल्लाको सोरु गाउँपालिकामा शैक्षिक सत्र सुरु भएको दुई महिना बिते पनि विद्यालयले पुस्तक नउठाउँदा पाठ्यपुस्तक सदरमुकाम गमगढीमा विक्रेताका गोदाममा नै थन्किएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुगिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयमा पुस्तक नपुग्दा पाठ्यपुस्तकविनै विद्यार्थीहरू विद्यालय जान बाध्य भएका छन् । प्रथामिक विद्यालय स्तरका विद्यार्थीको हातमा पुस्तक पुगेको भए पनि निमावि र मावि स्तरका विद्यार्थीले पुस्तक पाउन नसकेका शिक्षकहरू बताउँछन् ।

शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिए पनि सोरु गाउँपालिकामा भने पाठ्यपुस्तक भने अहिलेसम्म पुगेको छैन । विगतका वर्षहरूमा समयमा नै पाठ्यपुस्तक विद्यार्थीले नपाएपछि आलोचना खेप्दै आएको सरकारले यो वर्ष पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातसम्म पु¥याउन सकेन । यता सदरमुकामसम्म पुगेको पाठ्यपुस्तक विद्यालयले नउठाउँदा कतिपय विद्यार्थीले पुरानो किताब प्रयोग गरिरहेका छन् भने कतिपयले पुस्तकविना नै विद्यालय जाने गरेका छन् ।

अन्य गाउँपालिकामा पुस्तक पुगेको भए पनि सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले प्राथमिक स्तरका पुस्तक पाएका भए पनि निमावि र मावि स्तरका पाठ्यपुस्तक भने पाउन नसकेको सोरुगाउँपालिका शिक्षा शाखाप्रमुख हिक्मत मल्लले जानकारी दिए । मुगुका लागि त्रिशक्ति स्टेसनरी, जयलक्ष्मी पुस्तक पसल र केबी स्टेसनरीले पाठ्यपुस्तक ल्याउने जिम्मेवारी लिएका थिए । उनीहरूले पुस्तक सदरमुकाम गमगढीसम्म ल्याइपु¥याएका छन् । तर, विद्यालयले पुस्तक लिन नआउँदा विद्यार्थीले पुस्तकविनै विद्यालय जान बाध्य भएका छन् ।

सोरु गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक राखेर छिटो पुस्तक लैजान ताकेता गरेपछि केही विद्यालयले पुस्तक लिएका र केही लिने क्रममा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्लाभरका सबै सरकारी विद्यालयमा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तकको रकम पठाइसकिएको प्रमुख खत्रीले बताए ।

यता सदरमुकामसम्म पाठ्यपुस्तक विक्रेताले भने सम्बन्धित विद्यालयले पुस्तक लिन नआएका कारण गोदाममा नै पाठ्यपुस्तक थन्क्याउनुपरेको बताएका छन् । हामीले गमगढीसम्म पुस्तक ल्याएका छौँ । छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ गाउँपालिकामा रहेका विद्यालयले पुस्तक लिए पनि सोरु गाउँपालिकाका अधिकांश विद्यालयले पुस्तक नउठाउँदा गोदाममा थन्क्याउनुपरेको पुस्तक विक्रेता जयलक्ष्मी स्टेसनरीका सञ्चालक लक्ष्मीप्रसाद भामले बताए ।

प्रतिक्रिया