रूपनी राइडर्सको जित

सप्तरी । राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिग–२ अन्तर्गत तेस्रो दिन सम्पन्न २ खेलमा तिलाठी कोइलाडी जायन्ट र रूपनी राइडर्सले जित दर्ता गरेका छन् । दिनको दोस्रो खेलमा रूपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित ग¥यो । दोस्रो जित सहित रूपनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गर्दै रुपनीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो । डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाए । रूपनीको लागि बलिंगमा प्रदिप पासवानले सर्वाधिक ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २–२ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको रूपनी राइडर्सले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो । रूपनीको लागि ओपनिंग ब्याटिंग गरेका सोनु अन्सारीले आक्रामक इनिंग खेल्दै मात्र २३ बलमा ४ छक्का र ४ चौका मदतले सर्वाधिक ४४ रन बनाए । अनोज यादबले पनि इनिङको अन्तिममा ५ छक्का प्रहार गर्दै २३ बलमा ३६ रन बनाए । कप्तान मेहबुब आलमले १६ तथा हसिम अन्सारीले १५ रन बनाए ।

डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा अफ स्पिनर दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए । पुष्प थापा र प्रेम तामाङले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए । दिनको पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सलाई ८ विकेटले सहजै पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । प्रतियोगितामा खडक वारियर्सको यो दोस्रो हार हो ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा पहिले ब्याटिङ गर्दै बजाज खडक वारियर्सले दिएको १३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा ग¥यो । तिलाठी कोइलाडीको जितमा ओपनिंग ब्याट्सम्यान सुनिल धमलाले आक्रामक ब्याटिंग गर्दै अविजित ८४ रन बनाए । राष्ट्रिय टिमको लागि समेत खेलीसकेका धमलाले ५५ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

यस्तै सुरज पटेलले ३४ रन बनाए । धमला र पटेलले तेश्रो विकेटको लागि ८७ रनको अविजित साझेदारी गरेका थिए । यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । वारियर्सको लागि कप्तान राजेश पुलामीले सर्वाधिक ५० रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे । अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए ।

एक समय ५४–६ को कमजोर अवस्थामा पुगेको वारियर्सलाई पुलामी र अमितले सातौँ विकेटको लागि ७६ रनको साझेदारी गर्दै उकासेका थिए । तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २÷२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १÷१ विकेट लिए । धमलाले ४ ओभरमा मात्र १३ रन खर्चिए । सुनिल धमला खेलको प्लेयर अफ द म्याच चुनिए ।

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म सञ्चालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन् । बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रूपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन् ।

प्रतियोगिता सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । लिग चरणमा सबै ५ टिमले एक अर्कासँग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृष्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ । लिगको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया