कतै कुहिँदै कतै बाटोबाटै बिक्री

मुगु । नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय गमगढीबाट सोरुकोटका लागि पठाइएको चामल सोरु गाउँपालिका–८ बाटै बिक्री हुने गरेकोे खुलासा भएको हो ।

यसरी बाटोबाटै ठेकेदारले मनोमानी रूपमा चामल बिक्री गरेपछि स्थानीयवासीले अनुदानको चामल नपाएको बताएका छन् । सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्सेनि ल्याउने गरिन्छ । तर, ठेकेदारले मनोमानी नाफा कमाउने उद्देश्यका साथ अनुदानको चामल हुम्लाका नागरिकलाई बिक्री गर्ने गरेका स्थानीयको भनाइ छ । सोरु गाउँपालिकाका जनताले चामल नपाएर हैरान छन् ।

बर्सेनि यहाँ उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री–वितरण हुने गरेकाले सोरुकोटका जनताले अनुदानको चामल नपाएको सोरुगाउँपालिका–६ का वडाध्यक्ष मानप्रसाद भट्टले बताए । अहिले सोरुकोट डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हात फर्कनुपरेको छ । अनुदानको चामल बीच बाटोमा बिक्री गर्ने तर जनतालाई ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो आउने गरेको अध्यक्ष भट्टले बताए ।

खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातित अन्नबाट दैनिक जीविका चल्दै आएको छ । सरकारले अन्नुदानमा उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री गरेर कागज मिलाउने काम गर्दा सोरु गाउँपालिकाका बासिन्दा चामलको अभावमा समस्यामा परेका छन् ।

यता सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीका अनुसार अनुदानको चामल बाटोमा बिक्री गरेको आपूmलाई थाहा नभएको र बिक्री गरेको भए कारबाही गर्ने बताए । नेपाल खाद्य संस्थानले सोरुकोट डिपो र तारापानी वितरण केन्द्रका लागि पठाउनुपर्ने अनुदानको चामल के कति आयो जाँचबुझ गर्ने र माग गरिएबमोजिम अनुदानको चामल नआएको भए ढुवानीको जिम्मा लिइएको ठेक्केदारलाई कारबाही गर्ने अध्यक्ष शाहीले बताए ।

सोरुकोट वितरण केन्द्रका लागि चालु आवको खाद्यान्न २२ सय कोटा भए पनि १८ सय गएको छ । ढुवानीको जिम्मा शर्मा ढुवानी सेवाले लिएको नेपाल खाद्य संस्थानले जनाएको छ । चालु आवका लागि सुर्खेतबाट र गमगढी शाखाबाट गरेर करिब चार हजार क्विन्टल मध्ये चार सय क्विन्टल मात्र जान बाँकी रहेको शाखाप्रमुख भरतराज खनियाँले बताए । तर, खाद्यान्न बीच बाटोमा नै बिक्री भएको भन्ने आपूmलाई जानकारी नआएको तथा त्यसको जिम्मेवार स्वयं ठेकेदार नै हुने उनले बताए ।

त्यसैगरी सोरुकोट र कालै डिपोका लागि पठाइएको अनुदानको चामलको गोदाममा पानी पस्दा चामल भिजेर कुहिएको छ । गएको शनिबार रोपाइँ गर्ने क्रममा खेतमा लगाइएको पानीे सोरु गाउँपालिका–८ तारापानीमा रहेको चामलको गोदाममा पसेपछि चामल सडेको हो । १४ क्विन्टल बराबरको अनुदानको चामल पानीको भल पसेर सडेको गोदाम रेखदेख गर्ने ठेकेदारका आफन्त रामचन्द्र तिरुवाले बताए ।

चामलको गोदाम गहिरोमा रहेको र वरिपरि खेतमा लगाइएको पानी गोदाममा पसेर चामल कुहिएर सडेको तिरुवाको भनाइ छ । यो चामल चालु आवको हो वा अघिल्लो आवको हो भन्ने खुलेको छैन । तर, तिरुवाले चामल विर्ख टमटा (हिमाल) फुपाजुको खाद्य संस्थानबाट ठेक्का लिएर वितरण गर्न राखेको बताएका छन् ।

यता नेपाल खाद्य संस्थान मुगु शाखाका अनुसार चालु आवको खाद्यान्न ढुवानीको काम विजय ट्रेड एन्ड सप्लायर्सले लिएको र खाद्यान्न पनि गइसकेको जनाएको छ भने कालै वितरण केन्द्रका लागि खाद्यान्न ढुवानीको जिम्मा गुडविल सप्लायर्सले लिएको छ । तर, कुहिएको खाद्यान्न कुन साल र कुन ठेकेदारको भन्नेमा आपूmलाई जानकारी नभएको नेपाल खाद्य संस्थान शाखा मुगुका प्रमुख भरतराज खनियाँले बताए ।

वितरण केन्द्रसम्म खाद्यान्न ढुवानी गर्ने जिम्मा ठेकेदारको हुने र बीच बाटोमा पानीले भिजेर कुहिने, बाटोमा बिक्री गरे त्यसको दायित्व सम्बन्धित ठेकेदारले नै लिनुपर्ने शाखा प्रमुख खनियाँले बताए ।

प्रतिक्रिया