जुम्ली घोडाको व्यापार घट्दो

सिञ्जा । सडक यातायातको आगमनसँगै जुम्लाका अधिकांश गाउँमा केही वर्ष अगाडिसम्म सवारी साधनको रुपमा निकै प्रयोगमा ल्याइने गरेको घोडाको व्यापारमा कमी आएको छ । जुम्लामा पहिले भरपर्दो ग्रामीण यातायातका रुपमा प्रयोग गरिने घोडा अहिले ५० प्रतिशतले विस्थापित हुन थालेको तलिउम घोडापालन समूहका अध्यक्ष जयकृष्ण धरलाले बताए ।

अधिकांश ग्रामीण क्षेत्रलगायतका स्थानीय बासिन्दा र व्यवसायीले सामान ओसारपसार र यातायातका साधनका रुपमा प्रयोग हुने घोडा बिक्री गरी अन्य यातायातका साधनको प्रयोग गर्न थालेका छन् ।

पहिला तलिउममा अधिकांशले घोडा पाल्ने गरेकामा अहिले १३५ किसानले मात्र पालेका छन् । पछिल्लो समयमा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवामा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको चन्दननाथ नगरपालिका–८ की देवकी धरलाले बताएन् । पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको महँगी बढेको कारण घोडा व्यापार सुस्ताउँदै गएको छ ।

हिमाली क्षेत्रमा सामान ढुवानी र यातायातको लागि जुम्ली घोडा उपयुक्त मानिँदै आएको पशु शाखाप्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए । अन्यभन्दा पनि चिसो ठाउँमा हुर्केका घोडा हिमाली क्षेत्रमा बचाउन सकिने उनको भनाइ छ । जुम्ली घोडालाई पर्यटन प्रवद्र्धनमा पनि जोड्न सकिने उनले बताए ।

चन्दननाथ नगरपालिका अन्तर्गतको पशु शाखाको आयोजना गरिएको जुम्ली घोडा संरक्षण तथा प्रवद्र्धनसम्बन्धी यहाँ एकदिने तालीम सञ्चालन गरिएको थियो । तालीममा चन्दननाथ नगरपालिका वडा नं ८ र ९ का गरी २२ जना किसानको सहभागिता थियो ।

प्रतिक्रिया