सुस्मिता र सुशिलालाई स्वर्ण

कठमाडौं । सेनाका सुस्मिता लवट र सुशिला चन्द जुडो च्याम्पियनसिपमा महिलातर्फ स्वर्ण हात पार्न सफल भएका छन् । ओलम्पिक डे २०१९ को अवसरमा नेपाल जुडो संघको आयोजनामा भएको च्याम्पियनसिपको ५७ केजी मुनिको तौल समूहमा सेनाकी सुस्मिताले सेनाकै लक्ष्मी तामाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । सेनाकै रोशना दंगाल र सुस्मिता थारुले संयुक्त रूपमा कास्य पाए ।

यस्तै ५७ केजी माथिको तौलमा सुशिलाले सेनाकै विनिता मगरलाई हराउँदै स्वर्ण कब्जा गरिन् । सेनाकी सुमित्रा मगर र सिपिजेका भवानी आचार्यले कास्य पाए । पुरुष ६० केजी मुनिको तौलमा सिपिजेका शितल थापाले सेनाका कर्मा तामाङलाई पछाडि पार्दै स्वर्णमा नाम लेखाए । सेनाका तिलक बहादुर देउजा र सिपिजेका दीपक रासकोटीले कास्य पाए । ६६ केजी मुनिको तौलमा सेनाका राजेश चौधरीले सेनाकै सुदीप बोहरालाई पराजित गर्दै स्वर्ण हात पारे ।

तेश्रो स्थानमा सिपिजेका अनिल बलामी र टोपबहादुर पुन रहे । ७३ केजी मुनिमा सेनाका जंगबहादुर सारुले स्वर्ण, सिपिजेका अकल भंडारीले रजत तथा सेनाका भीष्म बराल र सिपिजेका भरत तामाङ्गले कास्य पाए । ७३ केजी माथिको तौलमा सेनाका रमेश बहादुर चन्दले स्वर्ण हात पार्दा सिपिजेका शिबबहादुर बोहराले रजतमा चित्त बुझाए । सेनाका अनिल भण्डारी र सिपिजेका दिनेश प्रधानले कास्य पाए ।

नेपाली सेनाका प्रधान सेनापति रथी श्री शरद कुमार गिरीले उद्घाटन गरेको च्याम्पियनसिपका विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि उपत्यका पृतनापति उपरथी श्री निरञ्जन कुमार श्रेष्ठ, विशेष अतिथि श्री विष्णु गोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य दीपक हर्ष बज्राचार्य, सैनिक तालिम तथा डक्टिन महानिर्देशक उपरथी श्री शशीचन्द्र बहादुर सिंहले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया