बिहे गर्ने उमेर नहुँदै गर्भपतन गराउने किशोरीको सङ्ख्या बढ्दै

स्याङ्जा । जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढ्दै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर, बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ ।

गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन् ।

महीनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताइन् । अनमी शर्माले भनिन्, ‘१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरुसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।’ श्रीमान वैदेशिक रोजगारीमा भएका महिलाहरु बढी आउने गरेको शर्माको भनाइ छ ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त श्रापको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरुकहाँ आउने गर्दा रगत कमि लगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।

परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ता भन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसहरुमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत भएका छन् । चालू आर्थिक वर्षमा ८८४ जनाले गर्भपतन गराएका छन् ।

जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३२७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका रहेका छन् भने २९१ जना २० वर्षभन्दा माथिका रहेको सो केन्द्रले जनाएको छ । ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीहरुले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए ।

प्रतिक्रिया