सुरु भयो अस्थायी शिक्षकको बिदाइ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकलाई बिदा गर्ने तयारी गरेको छ । मन्त्रालयले आन्तरिक परीक्षामा सहभागी भएरपनि अनुतीर्ण भएका करिब दश हजार शिक्षकलाई गोल्डेन ह्यान्डसेकको सुविधा सहित बिदाई गर्ने भएको हो । शिक्षकलाई दिनुपर्ने रकम विद्यालय शिक्षक किताबखानामार्फत जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाइने मन्त्रालयले जनाएको छ ।

शिक्षकको बिदाइका लागि करिब आठ अर्ब रकम आवश्यक पर्ने भएको भएतापनि, एक साताभित्र चार अर्ब रकम जिल्लामा पठाउँने किताब खानाले जनाएको छ । किताबखानाका प्रवक्ता उपसचिव रवीन्द्र बुढाप्रीतिका अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विभिन्न जिल्लाबाट आएको शिक्षकको विवरण निक्र्योल गरी रकम निकासाका लागि पठाउने गर्छ ।‘ऐनमा व्यवस्था भएअनुरूप अुनत्तीर्ण शिक्षकको व्यवस्थापनको प्रक्रिया अगाडि बढेको छ । साताभित्र आधा रकम पठाउँने तयारीमा छौँ ’ बुढाप्रीतिले भने ‘अस्थायी शिक्षकलाई दिनुपर्ने रकममध्ये पाँच अर्बको स्रोत पहिचान भए पनि तीन अर्ब अपुग छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता शर्माका अनुसार अपुग रकम जुटाउने विषयमा छलफल भइरहेको छ ।’

उनले आन्तरिक परीक्षामा अनुत्तीर्ण शिक्षकको विवरण पठाउन जिल्लालाई ताकेता गर्दा पनि संख्या नआएकोले समस्या भएको बताए । सरकारले शिक्षा ऐन संशोधन गरी अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएको थियो ।

सरकारले शिक्षक सेवा आयोगमार्फत अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका कुल दरबन्दीमध्ये ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी गराएको थियो । अनुत्तीर्ण शिक्षकलाई उनीहरूको सेवा अवधि गणना गरी रकम दिने (गोल्डेन ह्यान्डसेक) व्यवस्था शिक्षा ऐनमा छ । जस अनुसार पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्ष आधा महिनाको तलब बराबरको रकम दिइनेछ । १० वर्षदेखि पन्ध्र वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको एक महिनाको तलब तथा पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकम दिइने नीतिगत व्यवस्था छ ।

आयोगले गत असार २९ र ३० गते कुल २२ हजार ७६ पदका लागि भएको अस्थायी शिक्षकको परीक्षामा २२ हजार २ सय ३५ परीक्षार्थी सहभागी थिए । प्राथमिक तहमा १५ हजार ६ सय ९०, निमाविमा ३ हजार ५ सय ७५ र माविमा २ हजार ९ सय ७० परीक्षार्थीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका थिए ।

प्रतिक्रिया