सुर्खेत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक नन्दबहादुर गेलाङको मृत्यु भएको चार दिनपछि आज अन्त्येष्टि गरिएको छ ।
गत बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नं को टिपरले भे८प ७६०४ नं को मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो । घटनापश्चात मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राखेर शव बुझ्न मानेका थिएनन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सरोकाकारवालाबाट क्षतिपूर्तिका लागि पहल तथा सिफारिस गर्ने सहमति भएपछि परिवार तथा आफन्तले शव बुझेका थिए । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय पत्रकार गेलाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेसी नगरपालिका–७ सुर्खेत निवासी पत्रकार गेलाङका एक छोरा, एक छोरी र श्रीमती छन् ।
प्रतिक्रिया