भारत र पाकिस्तान बीचको खेलमा सबैको नजर

लन्डन । भारत र पाकिस्तानबीचको क्रिकेट खेलले जहिले पनि निकै रोमाञ्चकता प्रदान गर्दै आएका छ ।

आम समर्थकले पनि यी दुई देशबीचको क्रिकेटलाई विशेष प्राथामिकता राख्ने गर्छन् । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा जति सोचिएको थियो त्यसभन्दा निकै कम मात्र यसपटकको विश्वकप भिडन्त रोमाञ्चक बनेको छ । किन भने हरेक दिन जसो इंग्ल्यान्डको मौसमले धोका दिँदै आएको छ र फ्यानहरूले यो वल्ड कप होइन ‘रेन कप’ नामकरण गरेका छन् ।

विश्वकप क्रिकेटमा १० देशको सहभागिता रहेको छ । सबैले सबैसँग खेल्नुपर्ने र शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने प्रावधान राखिएकाले यस पटकको विश्वकप अन्यभन्दा बढी रोमाञ्चक हुने अनुमान गरिएको थियो । तर, अहिले पानीले गर्दा तीनवटा खेल टस पनि हुन पाएनन् भने एउटा खेल ८ ओभर पनि चलेन । जारी विश्वकपको हाई भोल्टेज गेम भनेको भारत र पाकिस्तानबीच को हो । यसमा दुई देश क्रिकेट मात्रै खेलिरहेका हुँदैनन् जनता पनि पक्ष र विपक्षमा सबैले चासो दिने गर्छन् ।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावलाई पनि क्रिकेटसँग जोडिने भएकाले यो अरूभन्दा बेग्लै छ । भारतले विहीबार न्यूजिल्याण्डसँग खेल्नु पर्ने थियो तर वर्षा वाधक बन्दा दुवै टिमले एक एक अंक लिए । अब भारत र पाकिस्तान १६ जुन अर्थात्, आउँदो आइतबार भिड्दै छन् । म्यानचेस्टरको वल्ड ट्राफोडमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुने खेललाई पनि वर्षाले बिथोल्ने सम्भावना रहेको छ ।

इंग्ल्यान्डको मौसम पुर्वानुमान महाशाखाका अनुसार आइतबार म्यानचेस्टरमा बादल लाग्नेछ भने पानीले पटकपटक प्रभाव पार्ने छ । आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे पहिलो चरणमै पानी पर्नेछ । केही बेरको वर्षापछि रोकिएको पानी ११ बजे पुनः पर्ने जनाइएको छ । त्यसैगरी, दिउँसो २ बजे देखि पानी पर्ने पूर्वानुमान गरिएको छ । भारत पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक भिडेकोमा सबै खेल भारतले जितेको छ ।

‘पुलवा’ हमलापछि भारतले पाकिस्तानविरुद्धको विश्वकप क्रिकेट बहिष्कार गर्नुपर्ने चर्को आवाज भारतमा उठेको थियो । तर, आइसिसीले क्रिकेटलाई राजनीतिक विवादसँग नजोड्न आग्रह गरेपछि मामला सामान्य भएको थियो र अहिले पाकिस्तानविरुद्ध खेल्न भारत लागेको हो ।

प्रतिक्रिया