‘आलोपालोमा अर्को सहमति हुनसक्छ’

सिन्धुपाल्चोक । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो प्रधानमन्त्रीको विषयलाई कन्ट्रोभर्सी बनाएको भन्दै असन्तुष्टि पोखेका छन् । यद्यपी उनले त्यो सहमति भएको नै दाबी पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतमा गएका वेला नेकपाका अध्यक्ष समेत रहेका दाहालले केपी शर्मा ओलीसँग प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको दाबी गरेका थिए । उनले सो सहमतिलाई बदलिएको राजनीतिक परिवेशमा अर्को सहमति गर्न सकिने समेत उल्लेख गरेका छन् ।

‘आलोपालो प्रधानमन्त्रीको विषय चर्चा गर्नुपर्ने विषय नभएपनि यस बारेमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्छ’, उनले भने । मांखास्थित कुपकन्या माविको नवननिर्मित विद्यालय भवन उद्घाटन गर्न पुगेका उनले बिहीबार सञ्चारकर्मीसँग आलोपालो प्रधानमन्त्रीको विषयलाई ‘कन्ट्रोभर्सी’ बनाउन खोजिएको भन्दै असन्तुष्टि पोखे । ‘सहमतिकै आधारहरूमा दुई पार्टी एकीकरण भएको हो । भएका सहमति सबैलाई जगजाहेरै छ,’ अध्यक्ष दाहालले भने, ‘आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नै होइन् ।’

आलोपालोको विषयमा प्रधानमन्त्री ओलीले पनि नयाँ दिल्लीबाटै जवाफ फर्काउँदै आलोपालो होइन केही दिनमै हुने बताए । नेकपाभित्र समेत सो अभिव्यक्तिका कारण दाहाल आलोचित हुनुपरेको थियो । सत्ताका लागि एकता गरेको भन्ने आरोप समेत आफ्नै कार्यकर्ताबाट आएपछि उनले यसलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आईरहेका छन् ।

सोही क्रममा उनले आफ्नो पुरानो अभिव्यक्तिलाई सच्याउँदै अगाडी भने,‘यस विषयलाई कन्ट्रोभर्सी बनाउन हुँदैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यसविषयलाई पुनः अर्को सहमति गर्न सक्ने तर्फ औल्याएका छन् । उनले पत्रकारसँगको भेटमा अगाडि भने, ‘यसमा बदलिँदो परिवर्तनमा अर्को सहमति हुन सक्छ ।’ तर, अर्को सहमति कस्तो हुने भन्ने चाहिँ उनले केही पनि खुलाएनन् ।

नेकपाका एक नेताका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक आफुले पाउनुपर्ने जिकिर भित्री रुपमा गर्दै आएका छन् । पूर्वएमालेका नेता समेत रहेका ती नेताले दाहालको भित्रि आकांक्षा प्रधानमन्त्री भन्दा पनि एकल पार्टी अध्यक्ष हुने चाहना राखेको दावी गरे । तर, पार्टीभित्र एकल अध्यक्ष हुन उनलाई निक्कै कठिन रहेको छ । पूर्व एमालेका नेताहरूले परिस्थित अनुकुल नभए प्रधानमन्त्री छाड्न सक्ने तर पार्टी अध्यक्ष दिन नसकिने बताएका छन् ।

पत्रकार भेटघाटमा अध्यक्ष दाहालले सहमतिका साथ नै पार्टी र दुई अध्यक्ष अघि बढ्ने बताए । पार्टीका नेताहरूको कार्यविभाजन केही दिनमै टुंगिने दाबीसमेत उनले गरे । ‘पार्टीभित्र गृहकार्य भइरहेको छ । यो विषय अब केही दिनमै टुंगिन्छ,’ उनले भने । एकीकरण प्रक्रियामा सबैभन्दा जटिल मानिएका जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता ११ महिना लगाएर टुंग्याएको उल्लेख गर्दै उनले कार्यविभाजनमा त्यस्तो कठिनाइ नहुने धारणा राखे ।

अध्यक्ष दाहालले विवादित मिडिया काउन्सिल बिधेयक, गुठी बिधेयक, लोक सेवा आयोगको विज्ञापन लगायत विषय राजनीतिक सहमतिमा टुंग्याउने बताए । ‘विधेयक र विज्ञापनको विषयमा संसद र त्यसका समितिमा छलफल भइरहेको छ,’ उनले भने, ‘राम्रोसँग छलफल गरेर टुंगोमा लग्छौँ ।’ प्रधानमन्त्री स्वदेश फर्केपछि पार्टीबीच छलफल गरेर निचोडमा पुग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया