प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको तयारी पूरा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।  असार ४ गतेदेखि हुने प्रतियोगिताको बुधबार खेल तालिका, ट्रफी र सहभागी टोलीको जर्सी सार्वजनिक गरिएको हो । उक्त प्रतियोगिताका खेलहरू कञ्चनपुरस्थित महेन्द्रनगरको खुला मञ्चमा हुनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा मिराई एजुकेसन एन्ड भिसा सर्भिसेज प्रालि अस्ट्रेलियाको साथ पक्का भएको महाकाली स्पोर्ट्स सोसाइटीले जनाएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश–५ र गण्डकी प्रदेश तथान समूह ‘बी’ मा प्रदेश–१, प्रदेश–३ , प्रदेश–२ र कर्णाली प्रदेश छन् ।

प्रतियोगिताको पहिलो दिन असार ४ गते दुई खेल हुनेछन् । महेन्द्रनगरमा हुने पहिलो खेलमा घरेलु टोली सुदूरपश्चिमले गण्डकी प्रदेश र दोस्रो खेलमा प्रदेश–२ ले कर्णाली प्रदेशविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् । बिहीबार नै महाकाली स्पोर्ट्स प्रालीले प्रतियोगिताको लागि आफ्नो तयारी पूरा भएको जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री कप महिला क्रिकेटको मुख्य प्रायोजक मिराई एजुकेसन एन्ड भिसाका नेपाल प्रमुख रक्षा अधिकारी र अस्ट्रेलिया प्रमुख पुकार घिमिरले आफ्नो संस्था नेपाली खेलकुद विकासमा सदैव योगदान गर्न तत्पर रहेको उल्लेख गरेका थिए । घिमिरेले तुलनात्मक रूपमा पछि परेको महिला क्रिकेटलाई प्रोत्सान गर्ने उद्देश्यले प्रधानमन्त्री कप महिला क्रिकेटलाई साथ दिएको बताए ।

उक्त प्रतियोगिताको नाम मिराई प्रधानमन्त्री कप महिला क्रिकेट हुनेछ । सोही प्रतियोगिताका लागि बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगर, राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमटा, राखेपका कोषाध्यक्ष सैलेश कर्माचार्य र मुख्य प्रायोजक मिराईका प्रतिनिधीले जर्सी र ट्रफी सार्वजनिक गरेका थिए ।

कुल ८८ लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा राखेपले ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । बाँकी आवश्यक रकम भने व्यवस्थापकीय जिम्मेवारी पाएको महाकाली स्पोटर््सले जुटाउनेछन् । महाकाली स्पोर्ट्सका प्रमुख सुमन भट्टले प्रदेश सरकार र स्थानीय निकायहरूसँग पनि सहयोगका लागि अपिल गरिसकेको बताएका छन् ।

असार ११ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै वुमन अफ दी सिरिजले ३० लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान १५ हजार तथा वुमन अफ दीले २ हजार पाँच सय पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया