आन्दोलन नगरी नबन्ने भो सडक !

काठमाडौं । उपत्यकाका अधिकांश ग्रामीण भेगका सडक निर्माणका लागि आन्दोलन नै गर्नु पर्ने प्रवृतिको भएको छ । आन्दोलनपछि मात्र सडक निर्माणले गति लिने गरेको छ । सडक निर्माणको काममा सरकार र ठेकेदारको ढिलासुस्ती र बेवास्तापछि विभिन्न ठाउँमा सर्वसाधारण चक्काजाम सहितका आन्दोलनमा उत्रिन थालेका छन् ।

आन्दोलन गरेपछि मात्र सडक मर्मत हुने परिपाटी बढेसँगै सो अवस्था सिर्जना भएको हो । मूलपानी डाँछी सडकखण्ड यसको पछिल्लो उदाहरण हो । वर्षाैंदेखि हिलो र धुवाँ,धुलोको सास्ती खेप्दै आएका स्थानीयले मंगलबार आन्दोलन गरेका थिए । उनीहरूले सडकमा टायर बालेर स्थानीय सरकारको विरोध गरेका थिए । ‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरूले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग गरेका थिए ।

आन्दोलनको केही घण्टा नबित्दै कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिम्खडाले एक साताभित्र सडक मर्मत गर्ने प्रतिबद्धता जनाइन् । तत्काल हिलो सोहोर्ने र एक साताभित्र बाटो सम्याउने सहमतिपछि अवरुद्ध मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू भएको थियो ।

यस्तै केही समयअघि बौद्ध –जोरपाटी सडकखण्डमा बौद्ध व्यापार संघले आन्दोलन गरेको थियो । सो सडकखण्डमा ठेकेदारले कालोपत्र नगरेको भन्दै बौद्धका व्यापारी, स्थानीय र युवाले सो सडकखण्डको यातायात नै अवरुद्ध गरी आन्दोलन गरेका थिए । सडकमा उत्रिएका स्थानीय र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि कालोपत्र गर्न सुरु गरिएको थियो ।

सरकारले २०७२ मा चाबहिलबाट साँखुसम्मको सडक २२ मिटर चौडा गरी चारलेनको बनाउने योजना ल्याएको थियो । योजनाअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

त्यसैगरी ललितपुरको चापागाउँदेखि ठेचो सडकमा लामो समय बित्दा पनि कालोपत्रे नभएको भन्दै ललितपुरवासी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले तत्काल सडक पिच गर्न माग गर्दै सवारी आवागमन अवरुद्ध पारे । गोदावरी नगरपालिकामा पर्ने उक्त सडक विस्तारको काम हुँदाहुँदै त्यसै अलपत्र छोडिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए ।

‘ललितपुरको सातदोबाटो चापागाउँ बाटो विस्तार र कालोपत्रेको टेन्डर गरी निर्माणको जिम्मा लिएको चार वर्षसम्म पनि निर्माण व्यावसायी र कार्यान्वयन गराउने सरकारी निकायको गैरजिम्मेवार व्यवहारले चापागाउँ, ठेचो र सुनाकोठीबासी जनताले धुलो धुँवा र खाल्टाखुल्टीले भरिपूर्ण बाटोको पीडा र क्षति बेहोर्न बाध्य भइरहेको यथार्थ हो ।

यसअघि गत फागुनमा कलंकी–थानकोट सडकमा पनि वर्षौंसम्म पनि सडक निर्माण तथा कालोपत्रे नबनाएको भन्दै स्थानीयले सडक अवरोध गरेका थिए । गत फागुन अन्तिम साता कलंकी नागढुंगावासी पनि समयमा सडक नबनेपछि सडक अवरोध गरेका थिए । उनीहरूले कलंकी नागढुंगा सडक अवरोध गरेर सडकमा नै प्रदर्शन गरेपछि अहिले केहीबाहेकमा कालोपत्रे सम्पन्न भएको छ ।

यस्तै, उदाहरण काठमाडौं रविभवनको पनि छ । ६ महिनाअघि पिच बाटो भत्काएर छाडेपछि रविभवनवासीले गत वैशाखमा सडक अवरोध गरे । सडक अवरोध गरेपछि अहिले त्यसक्षेत्र पुरै कालोपत्रे भएको छ ।

गत फागुन अन्तिम साता पश्चिम चितवनको भरतपुर–मेघौली सडकको शारदानगर–चनौली खण्डको धर्मोदय चोकदेखि चनौली बजारसम्मको सडकको काम सुस्त गतिमा भएको भन्दै आक्रोशित स्थानीयले सडक अवरोध गर्नुका साथै भरतपुर १९ र २० को वडा कार्यालय घेराउ गरे ।

मेची राजमार्गअन्तर्गतको झापास्थित चारआली–भद्रपुर–केचना सडकखण्ड कालोपत्रे गर्ने कार्यमा ढिलासुस्ती भएको भन्दै गत वर्ष स्थानीयले २ घण्टा सडक अवरोध गरेका थिए ।

प्रतिक्रिया