एजेन्सी, लन्डन । आइसिसी विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाँचपटकको च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले पराजित ग¥यो । जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो हार हो । यसअघि भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिज र अफगानिस्तानलाई हराएको थियो । भारतले पनि यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । केनिङटन ओभलमा भारतले दिएको ३ सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको अस्ट्रेलियाले पूरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे । यस्तै, उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए ।
भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३–३ विकेट लिए । यस्तै, युजभेन्द्र चाहलले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठूलो स्कोर हो । भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले ।
धवनले १ सय ९ बलमा १६ चौकासहित १ सय १७ रन बनाए । कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए । हार्दिक पाण्ड्याले ४८ रन जोडे । यस्तै महेन्द्रसिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोनिसले २ विकेट लिए । यस्तै, पाट कमिन्स, मिचेल स्टार्क र नाथन कोल्टर नाइलले एक एक विकेट लिए । जितसँगै भारतले २ खेलबाट ४ अंक जोडेको छ ।
प्रतिक्रिया