पुल शिलान्यास गर्न गएका मन्त्रीकाे गाडी खोलामा

स्याङ्जा । सदाभन्दा फरक अर्जुन चौपारी–३, मा सोमबार बेग्लै चहलपहल थियो । निक्कै भिभिआइपी जस्तो देखिनेगरी गाडीका लावालस्कर देखिएका थिए । साइरनजडित प्रहरीको भ्यान र केही जिपको घेराका बीच नेपालको झण्डा राखेका गाडीहरू ओहोरदोहोर गरिरहेका थिए ।

केही समयअघि गएको एक झण्डावाला गाडी करिब दुई-तीन घण्टापछि पुन फर्किएर आयो । फर्किने क्रममा बाटोमा पर्ने घट्टे दरौ खोला पर्दछ । जुन खोलामा पुल छैन । पुल नभएपछि स्थानीयले आवातजावत गर्न खोलाकोबीचमा ढुंगा राखेर सवारी आवात जावत गर्ने बाटो बनाएका छन् । खोलाको सोही बाटो भएर फर्किंदै गरेको बा.२ झ ४०२९ नम्वर झण्डावाला पजेरोले बाटो पहिल्याउन नसक्दा खोलातर्फ हानियो ।

ड्राइभरले पानीभित्र राम्रोसँग बाटो पहिल्याउन नसक्दा सो पजेरो आधा पानीमा डुब्यो । पजेरोभित्र रहेका मानिसहरू आत्तिँदै बाहिर निस्किए । त्यसरी निस्कनेमा अरू कोही नभएर संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चालक रहेका थिए ।

उनी सहरे खोलामा बन्न लागेको पुल शिलान्यास गरी फर्कने क्रममा दुर्घटनामा परेका हुन् । पानीभित्र डुब्न लागेको पजेरोबाट मन्त्री महासेठलाई सुरक्षाकर्मीको सहयोगमा बाहिर निकालिएको थियो । दुर्घटनामा कसैलाई पनि चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ । सो पजेरोलाई जेसिबीको सहयोगमा बाहिर निकालिएको थियो । पहिला सो खोलामा कम पानी रहँदा त्यहाबाट स्थानीयले आवातजावत गर्ने गर्दथे । तर, पछिल्लो समय पानीको बहाव बढेपछि बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो । मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा पर्याप्त जानकारी नहँुदा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

त्यसअघि पुलको शिलान्यास गर्दै मन्त्री महासेठले अहिलको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताएका थिए । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो । पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको छ । डेढ वर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया