रौतहट । जिल्लामा अवैध लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । बिहीबार राती मोटरसाइकलमा राखेर गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्रहरी निरीक्षक पपु नायकको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले गौर नगरपालिका–४ बकैया नदीको बाँध सडकमा रातीको समयमा नेपालबाट भारततर्फ जान लागेका भारत जिल्ला शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया–१ बस्ने २२ वर्षीय विजय राय र भारत जिल्ला शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया–१ का २४ वर्षीय अमोद सहनीलाई १० किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
बिआर ५५ ए २२४२ नम्बरको एचएफ डिलक्स मोटरसाइकलको सिटको कभरभित्र लुकाएर भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाले रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठा टोल बस्ने रमेशकुमार साह र सोही स्थानमा बस्ने इनरजित साहले गाँजा दिएको बयान दिएपछि उनीहरूको घरमा खानतलासी गर्दा दुई केजी गाँजा बरामद भएपछि उनीहरू दुबैसहित चार जनालाई नै जिल्ला प्रहरी कार्यालय रौतहट गौर ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया