दार्चुला । जिल्लाको आधारभूत विद्यालय एक शिक्षकले धानीरहेको भन्दा अचम्म लाग्न सक्छ । तर, लटीनाथ आधारभूत विद्यालय पैँतोलीमा एक शिक्षकले कक्षा १ देखि ५ कक्षासम्म एक्लै शिक्षकले धानीरहेका हुन् । प्रधानाध्यापक समेत रहेका गोविन्दप्रसाद अवस्थीले एक कार्यलय सहयोगीका भरमा आधारभूत विद्यालय चलाइरहेका छन् । तर, अचम्म मान्नुपर्ने विषय के हो भने, सो विद्यालयमा केवल १४ जना मात्र विद्यार्थी रहेका छन् । जिल्लाका अन्य विद्यालयमा १४ जना विद्यार्थी एउटै कक्षामा हुने गरेका छन् तर लटीनाथमा भने जम्मा विद्यार्थीको संख्या १४ जना मात्रै रहेको छ ।
लेकम गाउँपालिका–४ खरकडामा रहेको लटीनाथ आधारभूत विद्यालयमा जम्मा १४ जना विद्यार्थी रहेको प्रधानाध्यापक अवस्थीले बताए । विद्यालयमा ६ छात्र र ८ छात्रा रहेका छन् । कक्षा १ मा २ छात्र ४ छात्रा गरी ६ जना गरी विद्यालयमा सबै भन्दा बढी सोही कक्षामा विद्यार्थी रहेका हुन् । कक्षा २ मा १ जना छात्रा, ३ मा १ छात्र १ छात्रा, ४ मा २ छात्र १ छात्रा र ५ मा १ छात्र १ छात्रा अध्ययन गरिरहेको प्रधानाध्यापक अवस्थीले बताए । विद्यार्थीको कुल संख्या त्यत्ति भएपनि उपस्थित हुनेको संख्या भने अझै कम रहेको छ ।
३ स्थायी दरबन्दी रहेको उक्त विद्यालयमा कार्यरत दुई शिक्षक वैशाख २ गते एकै दिन दुबै अनिवार्य अवकास भएपछि हाल एक जना शिक्षकले कक्षा १ देखि ५ सम्म अध्यापन गराउनुपर्ने बाध्यता आइलागेको छ । दार्चुला जिल्लाका कतिपय विद्यालयमा विद्यार्थी संख्या बढी हुँदा पठन पाठन समस्या भइरहेका वेला लेकममा भने यस्तो अवस्था देखिएको छ । जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा समेत एउटै कक्षामा ५०÷६० जनासम्मको ५ ओटा समूह बनाएर अध्ययन अध्यापन भइरहेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए ।
शिक्षा नियमावलीअनुसार हिमाली जिल्लाहरूमा शिक्षक विद्यार्थीहरूको अनुपात ४० जना विद्यार्थी बराबर १ जना शिक्षक हुनुपर्ने व्यवस्था छ । तर लेकम गाउँपालिकाको उक्त विद्यालयमा ५ कक्षासम्म १ जना शिक्षकले अध्ययन अध्यापन गराइरहेका छन् । दार्चुलामा कतै विद्यार्थी संख्या न्यून छ भने कतै शिक्षक दरबन्दी आवश्यकताअनुसार अझै पनि व्यवस्थापन गर्न सकेको छैन ।
लेकम गाउँपालिका शिक्षा शाखा संयोजक मोहनदेव विष्टका अनुसार आगामी साउन महिनादेखि शिक्षा क्षेत्रमा सुधारका लागि प्रक्रिया थालिने जानकारी दिए । असार मसान्त भित्र शिक्षा नियमावली निर्माण गरी विद्यार्थी संख्याका आधारमा नजिकैको विद्यालयमा मर्ज गर्ने तयारी भइरहेको शिक्षा संयोजक विष्टले बताए । गाउँपालिकामा शिक्षा नियमावली निर्माण भइनसकेकाले शिक्षा क्षेत्रमा केही समस्या भएको उनको भनाइ छ । देश संघीयतामा गएपछि माध्यमिक तहसम्मको विद्यालय सञ्चालनका लागि स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । यसले गर्दा शिक्षा क्षेत्रमा झन् समस्या देखिएको छ ।
प्रतिक्रिया