मुम्बई । सलमान खान अभिनीत चलचित्र ‘भारत’ ले बक्स अफिसमा तहल्का मच्याएको छ । इदको अवसर पारेर रिलिज भएको यस चलचित्रले पहिलो दिनमै ४२ करोड ३० लाख भारतीय रुपैयाँ संकलन गरेको छ ।
विश्वकप क्रिकेट चलिरहेका वेला खेलका कारण कमाइमा असर पर्ने पूर्वानुमान समेत गलत सावित गर्दै बक्सअफिसका विभिन्न रेकर्ड तोड्न सफल भएको छ । सलमानको करिअरमै पहिलो दिनमा धेरै कमाउने चलचित्र सावित भएको छ ।
बलिउडमा अभिनेता सलमान र अभिनेत्री कट्रिना कैफको जोडीले थुप्रै हिट चलचित्र दिएका छन् । सलमानले दर्शकको अपार मायालाई ट्वीटमार्फत धन्यवाद दिएका छन् । यसअघि इदकै सन्दर्भ पारेर प्रदर्शन गरिएका सलमान अभिनीत चलचित्रले पहिलो दिन ‘सुल्तान’ ले ३६ करोड ५४ लाख र ‘टाइगर जिन्दा है’ ले ३४ लाख १० करोड कमाएका थिए ।
पहिलो दिनमा ४२ करोडभन्दा माथिको व्यापार गर्दै नयाँ रेकर्ड बनाउन सफल भएको हो । यो चलचित्र एकैपटक भारतबाहेक विश्वका ७० देशका १३ सयभन्दा बढी हलमा रिलिज भएको छ । भारतमा मात्र ४७ सय हलमा रिलिज भएको छ । सबै गरेर ६ हजारभन्दा बढी हलमा प्रदर्शनमा आएको ‘भारत’ अहिलेसम्मकै सबैभन्दा धेरै हलमा रिलिज हुने बलिउडको पहिलो चलचित्र बन्न सफल भएको छ ।
प्रतिक्रिया