रौतहट । चन्द्रपुर नगरपालिकामा यस्तो बाटो छ जुन बाटो बनाउनेतर्फ कसैको ध्यान जान सकेको छैन । नगरपालिकाको ७ र ८ वडा हुँदै गुजरा नगरपालिका जोड्ने वर्षांै पुरानो बाटो हालसम्म नबन्दा आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।
चन्द्रपुर–८ को बनरझुला हुँदै चन्द्रपुर–७ को नागिन्टोल र गुजराको दयालपुर जोड्ने बाटोमा वर्षाैदेखि एक टेलर ग्राभेलसमेत कसैले नहालिदिँदा बाटो हिँड्न समस्या भएको नागिनटोलका स्थानीय बासिन्दा नारायण पौडेलले बताए ।
नगरपालिकाभरी सडक बिस्तार हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तर, अहिलेसम्म यो सडकमा ग्राभेलसमेत हुन सकेको छैन । यत्रतत्र माटोका थुप्रो र खाल्डा भएको भए पनि नगरपालिकाले वास्ता नगरेको पौडेलको भनाइ छ । सो बाटो भएर दैनिक सयौंको संख्यामा साना सवारी साधन कुद्ने गरेका छन । कहिलेकाहीँ मालबाहक ठूला सवारीसाधनसमेत कुद्ने गरेका छन् । ठुल्ठूला खाल्डाका कारण दुर्घटना हुने सम्भावना समेत बढ्दो छ ।
नगरभरीमा धेरै बाटो कालोपत्रे भइसक्दा पनि सो बाटोमा ग्राभेलसमेत नहालिनुले स्थानीय आक्रोशित बनेका छन् । वर्षाको समयमा बाटोमा भएको खाडलमा पानी जम्दा बाटो नै नदेखिने अवस्था आउने गरेको सो बाटो निर्माण नहँुदा हिउँदमा समेत खाडलकै कारण दुर्घटना हुने गरेको अर्का स्थानीय प्रकाश पौडेलले बताए ।
चन्द्रपुर–७ का वडाध्यक्ष विष्णु उप्रेतीले सो बाटो वडा–८ मा पर्ने भएकाले सोही वडाले बनाउनुपर्ने बताए । उनले आफ्नो वडामै नपर्ने बाटोमा बजेट हाल्न नमिल्ने बताउँदै नगरपालिकाको कार्यालय र नगरप्रमुखले यस विषयमा चासो लिनुपर्ने बताए ।
यता चन्द्रपुर–८ का वडाध्यक्ष पासपत चौधरीलाई तपार्इंको वडामा पर्ने बाटोमा हालसम्म एक टेलर ग्राभेलसमेत किन नहालिएको भन्ने प्रश्न गर्दा उनले बाटो ८ नम्बरकै भए पनि हेरौँ कहिले बन्ला, एकै चोटी सबै बाटो बनाउन सकिएला र ? भन्दै प्रतिप्रश्न गरे । वडाध्यक्ष चौधरीको कुरा अनुसार सो बाटो बनाउनेतर्फ उनको ध्यान केन्द्रित नभएको र उनलाई वास्तासमेत नरहेको स्पष्ट हुन जान्छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सो बाटोको बिषयमा आफूलाई कुरा आएको र ७ र ८ दुबैका वडाध्यक्ष राखेर अर्काे बजेटमा बाटो निर्माण गर्न लगाउने बताए । एउटै नगरपालिकाको बाटो वडाध्यक्षको कारणले नबन्दा वर्षांैदेखि बाटोको समस्या झेल्दै आएका स्थानीय अझै पीडित नै हुनुपर्ने अवस्था छ ।
प्रतिक्रिया