रौतहट । रौतहटको राजपुर नगरपालिकाका मेयरमाथि आक्रमण भएको छ । मेयर शेख सकिललाई मंगलबार राती मस्जिदमा बसेका वेला स्थानीय एक युवकले टर्चलाइटले प्रहार गरेर घाइते बनाएका थिए ।
इस्लाम धर्मावलम्बीको चाड इद–उल–फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयरलाई स्थानीय एक युवकले मंगलबार राती कुटपिट गरेका हुन् । मेयर सकिललाई गाउँकै शेख कासिमले टर्चलाईटले हानेर घाइते बनाएका हुन् । पर्व मनाउने क्रममा चन्दा माग गरेका उनले रकम थोरै भएको भन्दै मेयरमाथि आक्रमण गरेको मेयर सकिलले बताए । चन्दाको बहाना बनाएर आफूमाथि सुनियोजित तवरले आक्रमण भएको उनले बताए । उनको आँखामा चोट लागेको छ ।
हातमा टर्च बोकेका कासिमले मेयरमाथि टर्च प्रहार गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मेयरमाथि आक्रमण गर्नेको व्यापक खोजतलास गरिरहेको र चाँडै फेला पारेर कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नबिन कार्कीले जानकारी दिए । घाइते मेयरको वीरगञ्जमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डिएसपी कार्कीले जानकारी दिए ।
राैतहट
प्रतिक्रिया