काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले चलचित्र ‘पानीफोटो’ निर्देशन गर्ने भएका छन् । लेखन तथा अभिनयबाट उनी अब निर्देशक बन्न लागेका हुन् । उनले आइतबार आफ्नो निर्माण, अभिनय तथा निर्देशनमा उक्त चलचित्र बन्न लागेको घोषणा गरे ।
उनीद्वारा लिखित नाटक ‘पानीफोटो’ मा आधारित रहेर उक्त चलचित्र निर्माण हुने जनाइएको छ । चलचित्रमा १५ वर्षअघि द्वन्द्वकालमा हराएको छोराको प्रतीक्षामा बसेका बाबुआमाको कथा रहने लामिछानेले बताए । चलचित्रको रोल्पा, स्याङ्जा, काठमाडौं तथा चितवनमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा लामिछानेका साथै अभिनेत्री मेनुका प्रधान, सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, प्रकाश घिमिरे, माओत्से गुरुङ, अशान्त शर्मा, श्याम कुमार खड्का लगायतका कलाकारको अभिनय रहने छ । लामिछानेले ‘पानीफोटो’ निर्देशन आफ्नो सपना रहेको सुनाउँदै भने, ‘यसपछि म सिनेमा निर्देशन गर्छु या गर्दिन थाहा छैन ।
तर, ‘पानीफोटो’ मैले निर्माण गर्न चाहेको जस्तो सिनेमा हो, त्यसैले यसलाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु ।’ उनले ‘पानीफोटो’ लाई नाटकको रूपमा निर्माण गर्दैगर्दा एक दिन सिनेमाको रूपमा ढाल्ने सोचेको बताए । उनले थपे, ‘आज आएर बल्ल त्यो सपना पूरा हुने समय जुरेको छ । हेराैँ कति सफल हुन्छु, त्यो भोलि सिनेमा बनेर हलमा आएपश्चात् तपाईंहरूको प्रतिक्रियाले बताउने छ ।’
चलचित्रमा अभिनेता, निर्माता तथा निर्देशक लामिछाने स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ ।
प्रतिक्रिया