समाजबाट तिरस्कृत हुनुपर्दा तेस्रो लिङ्गीको दुखेसो

रुपन्देही । परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेखे ।

सरकारी निकाय, विभिन्न संघसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला र पुरुषमात्रै उल्लेख गरिएको हुन्छ । तर हामी कहाँ जाने ? उनीहरुको प्रश्न थियो । यसरी प्रश्न गर्नेमा तेस्रोलिङ्गी अवान्तिका घर्तीमगर, पुष्पा लामा, शिशिर भट्टराई, रेशम न्यौपाने लगायत छन् । उनीहरुले तेस्रोलिङ्गी भएकै कारण आफूहरु परिवारबाट निकालिएको गुनासो गरे ।

ब्लु डाइमण्ड सोसाइटी रुपन्देहीका अध्यक्ष आनिक रानाले तेस्रोलिङ्गी समुदायको पहिचान स्वीकार गर्ने वातावरण बनाउन सरोकारवालालाई आग्रह गरे । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आफ्नो इच्छाअनुसार जीवन जिउन पाउनु मानवको अधिकार भएको बताए । ‘तेस्रोलिङ्गी भएकै कारण विभेद गर्न पाइँदैन, सबैले सम्मानजनक जीवन जिउन पाउनुपर्छ, ‘उनले भने । तेस्रोलिङ्गी भएकै कारण नागरिकता, सम्पत्तिमाथिको अधिकार सहजै पाउन नसक्ने अवस्था रहेको उनले बताए ।

आयोगका प्रदेश नं ५ का प्रमुख सम्झना शर्माले हरेक व्यक्तिले सम्मानजनक जीवन जिउन पाउने अधिकारको हनन भए आयोगमा उजुरी दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सुझाव दिइन् ।

उनले भनिन्, ‘मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ सुरु हुन्छ यदि शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट वञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ ।’ आयोगका उपनिर्देशक पवनकुमार भट्टले कुनै पनि व्यक्तिले विना भेदभाव जिउन पाउने अधिकार भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या भएको उल्लेख गर्दै ऐन कानून र व्यवस्था फेरिएपनि व्यवहार नफेरिएको बताए ।

अधिवक्ता बाबुराम पाण्डे, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, गैरसरकारी संस्था महासङ्घ रुपन्देहीका अध्यक्ष रिमा विसी लगायतले तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण बदल्न समाजमा व्यापक सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया