भारतमा भाजपाको विजयबाट नेपालको गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतमाथि गम्भीर खतरा पैदा हुने सम्भावना छ । ओली सरकारले पनि आफ्नो अस्तित्वको रक्षाका लागि झन् पछि झन् भारत परस्त नीति अपनाउँदै जाने सम्भावना तिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रारम्भमा वर्तमान सरकारलाई आफ्नो स्वार्थहरूको पक्षमा बढीभन्दा बढी उपयोग गर्ने नीति अपनाए पनि अन्तमा उनीहरूको प्रयत्न वर्तमान सरकारलाई अपदस्थ गराएर त्यसको ठाउँमा आफ्नो पूरै दलाली गर्ने सरकारको स्थापना गर्नेतिर नै हुनेछ
भारतको आम चुनावमा भाजपाको विजयले नेपालका लागि नकारात्मक रूपले गम्भीर महत्व राख्दछ । यो थाहा भएकै कुरा हो कि मोदी सरकारले पहिलेदेखि नै नांगो प्रकारले नेपालप्रति आफ्नो विस्तारवादी नीति लागू गर्ने प्रयत्न गर्दै आएको छ । त्यस सिलसिलामा नेपालको संविधानको निर्माण वा जारी गर्ने कार्यलाई रोक्ने प्रयत्न, संविधानमा संशोधनका लागि दवाव, नेपालका विरुद्ध नाकाबन्दी, तराईमा विखण्डनका लागि मधेसवादीहरूलाई प्रोत्साहन गर्ने नीति आदि उल्लेखनीय छन् । आफ्नो स्वार्थको पक्षमा दलाली नगरेकाले ओली सरकारलाई अपदस्थ गर्ने कार्य आदि उल्लेखनीय छन् । अहिले भारतमा भएको मोदीको विजयले नेपालप्रतिका भारतीय विस्तारवादी नीतिले अरू कडा र तीव्र रूप लिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
आम निर्वाचनमा भारी बहुमतले निर्वाचित भएपछि मोदी सरकारले नेपालप्रति खास गरेर निम्नलिखित नीतिहरू अपनाउने प्रवल सम्भावना छः
१. नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापनाका लागि दबाब दिने ।
२. भारतीय विस्तारवादी आवश्यकतानुसार संविधानमा संशोधनका लागि दबाब दिने ।
३. पहाडी भूभागबाट अलग गरेर पूरै तराईमा बेग्लै प्रदेशहरूको निर्माण गर्ने ।
४. चीनसितको सम्बन्धको विस्तारमा बाधा हाल्ने वा चीनसित भएका सन्धि सम्झौताहरूलाई निष्क्रिय पार्न दबाब दिने ।
५. ओली सरकारमाथि आफ्नो स्वार्थअनुरूप काम गर्नका लागि दबाब बढाएर लैजाने ।
यसरी प्रष्ट छ कि भारतमा भाजपाको विजयबाट नेपालको गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतमाथि गम्भीर खतरा पैदा हुने सम्भावना छ । ओली सरकारले पनि आफ्नो अस्तित्वको रक्षाका लागि झन् पछि झन् भारत परस्त नीति अपनाउँदै जाने सम्भावना तिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । तर, यो स्पष्ट छ कि भारतीय शासक वर्गले ओली सरकारमाथि पूरा विश्वास गर्दैनन् ।
त्यसकारण प्रारम्भमा वर्तमान सरकारलाई आफ्नो स्वार्थहरूको पक्षमा बढीभन्दा बढी उपयोग गर्ने नीति अपनाए पनि अन्तमा उनीहरूको प्रयत्न वर्तमान सरकारलाई अपदस्थ गराएर त्यसको ठाउँमा आफ्नो पूरै दलाली गर्ने सरकारको स्थापना गर्नेतिर नै हुनेछ । त्यसकारण नेकपा र त्यसको सरकारले पनि यो स्थितिमाथि गम्भीरतापूर्वक विचार गरेर गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतको रक्षा गर्नका लागि दृढतापूर्वक काम गर्नु नै देश र जनता तथा उनीहरूको पनि हितमा हुनेछ ।
तर, उनीहरूको ढुलमुल, अवसरवादी र सम्झौता परस्त चरित्रका कारणले उनीहरूले त्यसप्रकारको भूमिका खेल्न सक्नेछन् भन्ने कुरामा पूरा विश्वास गर्न सकिँदैन । त्यो अवस्थामा जनताको भूमिका नै निर्णयात्मक महत्वको कुरा हुनेछ । गत दशकहरूको अनुभवले बताउँछ, बेग्लाबेग्लै कालमा विभिन्न राजनीतिक पार्टी वा सरकारहरूले जति सम्झौतापरस्त नीति अपनाएपनि जनताका राष्ट्रिय जागरणका कारणले विदेशी शक्तिहरू पराजित हुँदै गएका छन् ।
भारतमा मोदीको विजयपछि नेपालका सबै राजावादी, कट्टर हिन्दूवादी, पृथकतावादी र मधेसवादी आदि सबै अत्यन्त उत्साहित भएको पाइन्छ । त्यस सन्दर्भमा मोदीको विजयमा उत्सव मनाउन २ नंं प्रदेशको वीरगञ्जमा ¥याली भएको घटना पनि उल्लेखनीय छ । त्यसप्रकारका सबै तत्वहरूलाई उपयोग गरेर भारतीय विस्तारवादले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता सहित नेपालको सम्पूर्ण राष्ट्रिय हितमा कुठाराघात गर्ने प्रयत्न गर्नेछ । त्यो अवस्थामा नेपालका सबै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र राष्ट्रिय हितका पक्षधर शक्तिहरूका बीचको एकता आजको राष्ट्रिय आवश्यकता भएको छ ।
खास गरेर ओलीको अवसरवादी, ढुलमुल र सम्झौतापरस्त प्रकारको चरित्र र पृष्ठभूमिमाथि ध्यान दिँदा त्यो पक्षलाई पनि उपेक्षा गर्न सकिन्न । तर, त्यसका साथै भारतीय विस्तारवादको दबाबको अगाडि कतिपय अवस्थामा अडान लिएका, भारतीय दबाबका बाबजुद चीनसितको सम्बन्ध विस्तारमा पहल गरेका वा भेनेजुएलाको सन्दर्भमा बाह्य हस्तक्षेपको, जसको अर्थ अमेरिकी हस्तक्षेपको विरोध नै हुन्छ, विरोध गरेका उदाहरणका सकारात्मक पक्षहरू पनि हाम्रा अगाडि छन् ।
भारतीय विस्तारवादका कारणले पनि नेपालले गम्भीर प्रकारका समस्याहरूको सामना गर्नु परेको छ । सर्वप्रथमतः भारतको विस्तारवादी नीतिका कारणले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर खतरा पैदा भएको छ । त्यस प्रकारका भारतीय नीतिहरूको लामो सूची छ । त्यसको पछिल्लो कडी तराईको विखण्डनका लागि गरिरहेको प्रयत्न हो । तर, त्यो अन्तिम होइन । नेपाललाई दोस्र्रो सिक्किम बनाउनका लागि त्यो एउटा सहायक पक्ष हो ।
त्यस सिलसिलामा नेपालका विरुद्ध नाकाबन्दी, नेपालको संविधानको विरोध, नेपालका सरकारहरूलाई अपदस्त गर्न चलखेल, नेपालको संविधानमा भारतीय विस्तारवादी नीतिलाई मद्दत पुग्ने प्रकारले संशोधन, नेपालमा भारतपरस्त विभिन्न राजनीतिक दलहरूको गठन, नेपालमा विद्यमान राजनीतिक दलहरूलार्ई आफ्नो विस्तारवादी नीतिको पक्षमा ल्याउने प्रयत्न आदि भारतीय नीतिहरू उल्लेखनीय छन् । नेपालको व्यापार, उद्योग, पारवहन, कृषि विकास आदि कार्यहरू पनि भारतीय विस्तारवादी नीतिका कारणले लगातार कुण्ठित हुने गरेका छन् ।
भारतले लगातार नेपालमा आफ्नो राजनीतिक र आर्थिक प्रभुत्व कायम गर्न योजनाबद्ध प्रकारले प्रत्यन गर्दै आएको छ । अमेरिकी साम्राज्यवाद, युरोपियन साम्राज्यवादी देशहरू, भारतीय विस्तारवाद, बहुर्राष्ट्रिय कम्पनीहरू आदिका प्रतिक्रियावादी नीति वा क्रियाकलापहरूलाई रोक्न नसकी नेपालको राष्ट्रियताको रक्षा वा विकास सम्भव छैन । ००७ सालको राजनीतिक परिवर्तन पछिको यति लामो कालमा पनि नेपालमा बुर्जुवा प्रकारको राजनीतिक स्थिरता नआउनु र देशको विकास अत्यन्त पछाडि परेको तथ्यबाट त्यो कुरा प्रस्ट हुन्छ । देशको कुनै सरकारले इमानदारितापूर्वक नै विकास गर्न खोज्यो भने पनि त्यस प्रकारको साम्राज्यवादी वा विस्तारवादी चक्रब्यूहबाट मुक्त नभइकन देशको विकास सम्भव छैन ।
भारतीय विस्तारवादले करिब ७ दशकदेखि नै नेपालमा आफ्नो प्रभूत्व कायम गर्न वा नेपाललाई भारतमा मिलाउनका लागि योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । भारतका शासक वर्गहरू बारम्बार बदलिने गरे पनि उनीहरूको नेपाल प्रतिको त्यो नीति समान रहने गरेको छ । खाली भारतका प्रतिक्रियावादी शक्तिहरू मात्र होइन, भारतका दक्षिणपन्थी संशोधनवादी कम्युनिस्टहरूले पनि भारतको नेपाल प्रतिको त्यसप्रकारको विस्तारवादी नीतिलाई समर्थन गर्दै आएका छन् । तर, त्यसको उज्यालो पक्ष के हो भने नेपाललाई भारतीय संघमा गाभ्ने उनीहरूको प्रयत्न गत सात दशकदेखि अहिलेसम्म नै पूरा हुन सकेको छैन ।
खास गरेर नेपाली जनताको उच्च प्रकारको देशभक्तिपूर्ण भावना, अन्तर्राष्ट्रिय परिस्थिति र उत्तरमा चीनको उपस्थितिका कारणले भारतको त्यसप्रकारका प्रयत्न असफल हुँदै आएको छ र, हामीलाई विश्वास छ, भविष्यमा पनि उनीहरूको त्यसप्रकारको विस्तारवादी नीतिलाई नेपालका देशभक्त जनताले असफल पार्दै लैजाने छन् । त्यसकारण तत्काल मोदीको विजयले नेपालका लागि खतराको केही आभाष दिए पनि अन्ततगत्वा नेपाली जनताको नै विजय हुनेछ । (नेकपा मसालका महासचिव सिंहद्वारा शुक्रबार जारी विज्ञप्तिबाट)
प्रतिक्रिया