युनुस अन्सारी तेश्रो पटक पक्राउ

काठमाडौं । भारतीय नक्कली नोटका कारोवारी युनुस अंसारी तेश्रो पटक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पौने ८ करोड बराबरको भारतीय नक्कली नोटसहित पक्राउ परेका अंसारीसहित ६ जनालाई शनिबार सार्वजनिक गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुमा शनिबार प्रहरीले बरामद गरिएको नक्कली भारुसहित कारेबारमा संलग्न सबै ६ जनालाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाहरूमा अंसारीसहित पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्धिन, ३९ वर्षीय नादिया अनवर, ४९ वर्षीय मोहमद अख्तर रहेका छन् । यस्तै नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिकमा रौतहटको रमौली बैरिया नगरपालिका–१ बस्ने सुबल खान र अन्सारीका गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका–५, बालकोटका सुजन रानाभाट छन् ।

कतारको दोहाबाट उडेको कतार एयरवेजको विमानबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान काठमाडौं उत्रिएको विमानमा सवार ३ जना पाकिस्तानी नागरिकले नेपाल ल्याउँदै गरेको सोे नोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचका क्रममा बरामद गरिएको हो । अंसारीले भारतीय जाली नोटको कारोबारमा यसअघि दुई पटक जेल सजय भोगिसकेका छन् । जेल सजाय भोगिरहेका वेला उनलाई केन्द्रीय कारागारभित्रै गोली प्रहारसमेत भएको थियो ।

यसअघि अंसारीलाई २०७० माघमा भारतीय नक्कली नोट र लागुऔषध कारोवारको आरोपमा ललितपुरको नख्खुबाट पक्राउ गरिएको थियो । २०७० असोजमा केन्द्रीय कारागारबाट छुटेका अंसारी सोही वर्ष माघमा फेरि पक्राउ परेका हुन् । त्यसभन्दा अघि २०६५ पुस १८ मा त्रिपुरेश्वरको होटल ब्लुवर्डबाट २५ लाख ४४ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । सो मुद्दामा उनलाई चार वर्ष कैद सजाय भएको थियो ।

उनी पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन् । जेलमा हुँदा अन्सारीले बाबर भन्ने नाम प्रयोग गरी पाकिस्तान र दुबईबाट नक्कली भारु मगाउने गरेका थिए । उनी केन्द्रीय कारागारमा रहँदा उनकै योजनामा २०६७ असोजमा ल्याइएको ४० लाख ९० हजार जाली नोटसहित विमानस्थलबाट नेपाली नागरिक चोकट महतो पक्राउ परेका थिए ।
अन्सारीलाई बयानका लागि अदालत लैजाँदै गर्दा जिल्ला अदालत काठमाडौं परिसर अगाडि र २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो । उनलाई त्यसवेला भारत उत्तरप्रदेश लखनउ घर भएका जसजित भनिने मनमितसिंह भाटियाले गोली हानेका थिए ।

प्रतिक्रिया