अचाक्ली भइसक्यो विदेशी चलचित्रहरूको नक्कल

केही दिनअघि एक जना विदेशी छाप कलिउड निर्देशकले भने, ‘कलाकार र चलचित्र ओरिजिनल हुँदैन, नेपालमा मौलिक चलचित्र लेख्नेहरू नै छैनन् ।’ उनको यो भनाइले नेपाली चलचित्र क्षेत्रमा ठूलो चर्चा पायो । विवाद पनि उत्पन्न भयो । नेपाली चलचित्र क्षेत्रमा थुप्रै बेथितिहरू छन् । यो कुरा स्वयं सरोकारवालाहरू स्वीकार गर्छन् । यस बारेमा बहस तथा छलफलसमेत भइसकेका छन् ।

नेपालमा चलचित्रको निर्माण सुरु भएको पाँच दशकको भइसकेको छ तर अहिलेसम्म पनि मौलिकताको खडेरी नै छ । चलचित्रकर्मीहरूले विदेशी चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्रहरू निर्माण गरिरहेका छन् । विगतमा हलिउड र बलिउडका चलचित्रहरूको नक्कल गर्नेहरू अहिले टर्किस चलचित्रहरूको नकलगरी नेपालीमा चलचित्रहरू बनाउने गरिरहेका छन् । बलिउड र हलिउडका चलचित्रहरूको नक्कल गरी चलचित्रहरू बनाउदा दर्शकहरूले सजिलै थाहा पाउने गरेकोले होला अहिले टर्किस चलचित्रको नक्कल गरी चलचित्र बनाउन थालिएको छ । तर, पनि दर्शकहरू र चलचित्र समिक्षकहरूले चाल पाइहाले अहिलेका नेपाली दर्शकहरू त्यति अबुझ छैनन् ।

देश विदेशमा वर्षमा धेरै चलचित्र निार्माण भइरहेका हुन्छन । प्रदर्शन भइरहेका हुन्छन । नेपालमा वर्षमा सयको हाराहारीमा चलचित्रहरू प्रदर्शन हुने गरेका छन् । शायद यसकारणले पनि एक चलचित्रको कुनै अर्को चलचित्रसँग सयोगले कथा मिल्न पनि सक्छ । तर, सयोगले मिल्न जाने र जानी जानी अरूको नक्कल गर्ने कुरा एउटै होइन । कतिपय चलचित्रकर्मीहरू अरूको चलचित्रहरूबाट प्रभावित भएर चलचित्रहरू बनाउने गर्छन् । तर, प्रभावित भएर र अरूको कन्सेप्टमा आफ्नो प्रस्तुतिमा चलचित्र बनाउने र अरूको चलचित्रको हुबहु कपि गरी र अरूको दुई–तीनवटा चलचित्रहरू जोड जाड गरी चलचित्र बनाउनेमा भिन्नता भने हुन्छ नै ।

विगतमा हलिउड र बलिउडका चलचित्रहरूको नक्कल गर्नेहरू अहिले टर्किस चलचित्रहरूको नक्कल गरी नेपालीमा चलचित्रहरू बनाउने गरिरहेका छन् । बलिउड र हलिउडका चलचित्रहरूको नक्कल गरी चलचित्रहरू बनाउँदा दर्शकहरूले सजिलै थाहा पाउने गरेकोले होला अहिले टर्किस चलचित्रको नक्कल गरी चलचित्र बनाउन थालिएको छ

विगतमा नेपालमा कम मात्र चलचित्रहरू निर्माण हुने गर्दथ्यो । त्यस समयमा नेपालमा हिन्दी चलचित्रको प्रभाव थियो । त्यस समयमा नेपालका सिनेमा हलहरूमा प्राय हिन्दी चलचित्र प्रदर्शन हुने गर्दथ्यो भने नेपाली दर्शकले चलचित्रको लागि हिन्दी चलचित्रहरूको भर पर्न पर्दथ्यो । त्यस वेला निर्माण भएका नेपाली चलचित्र सम्बन्धि प्राविधिक कार्यहरू पनि भारतमा गर्न पर्ने अवस्था थियो । चलचित्रका प्राविधिकहरू पनि सबैजसो भारतीयहरू नै हुने गर्दथे ।

त्यसवेला नेपाली चलचित्रहरूमा हिन्दी चलचित्रको प्रभाव पर्नुलाई सामान्यरूपमा नै लिन पर्ने हुन्छ । तर, अहिलेको कलिउडको अवस्था भने पहिलेको जस्तो पक्कै छैन । पछिल्लो समयमा नेपालमा पनि वर्षमा धेरै चलचित्र निर्माण हुने गरेका छन् । चलचित्रका प्राविधिकहरू पनि नेपाली नै छन् । चलचित्र सम्बन्धि सम्पुर्ण प्राविधिक काम पनि नेपालमा नै हुने गरेका छन् । तर, केही चप्पल छाप निर्देशकहरू भने अहिले सम्म पनि विदेशी चलचित्रको नक्कल गरी नेपालीमा चलचित्रहरू बनाउने गरिररहेका छन् ।

एउटा राम्रो स्तरीय व्यवसायिक मनोरजनात्मक चलचित्र बनाउन निर्देशकको ठूलो भूमिका हुन्छ । निर्देशक भनेको क्याप्टेन हो । तर, त्यहि चलचित्र निर्देशक चप्पल छाप भएपछि चलचित्रको बिजोग हुने भइहाल्यो । कलिउडमा तालिम, अध्ययन, अध्यापन गरेका दक्ष योग्य चलचित्र निर्देशकहरूको अभाव त छ नै । साथै, कलिउडका कतिपय निर्देशकहरू स्पटब्वाइबाट निर्देशक बनेका छन् । दुई चारवटा नाटकहरूमा अभिनय गरेको भरमा निर्देशक बनेका छन् । टेलिभिजनमा उद्घोषण गर्दा गर्दै निर्देशक बनेका छन् । २ चारवटा चलचित्रमा खलनायक भएको भरमा निर्देशक बनेकाहरू पनि छन् । चलचित्र क्षेत्रको भाषामा मुर्गा फसाएर निर्देशक बनेकाहरू र कतिपय बाबुले लगानि गरेको चलचित्रमा निर्देशक बनेकाहरू छन कलिउडमा ।

नेपालका चलचित्रकर्मीहरू, चलचित्र निर्देशकहरू धेरै जसो पढेर भन्दा पनि परेर जानेकाहरू धेरै छन् । यसकारणले पनि नेपालमा अरूको नक्कल गरी चलचित्र निर्माण हुने गरेको हो । चलचित्रसम्बन्धि ज्ञान भएका, चलचित्र सम्बन्धि अध्ययन गरेका तालिम नलिएका चलचित्रकर्मीहरू कम मात्र छन् भन्दा पनि फरक नपर्ला । कलिउडमा विना तालिम, विना अध्ययन, विना ज्ञानका चलचित्रकर्मीहरूको बाहुल्यता भएका कारणले योग्य, दक्ष, स्तरिय चलचित्र बनाउनेहरू पछाडि परेका हुन् ।

सायद यही कारणले पनि कलिउडमा अरूको कपि गर्ने प्रवृत्ति बढिरहेको होला । अरूको चलचित्रबाट प्रभावित भएर आफुले चलचित्र बनाउन हुँदैन भन्ने पनि छैन । तर, अरूको नक्कल गर्दा अक्कलचाहिँ हुनपर्छ । चलचित्र निर्माण भनेको सिर्जना हो । चलचित्र निर्देशकहरू सिर्जनशील हुनस पर्छ । अरूको सिर्जनालाई हुबह उतारेर चलचित्र बनाउने निर्देशकलाई सिर्जनशील भन्न सक्ने अवस्था हुँदैन । नेपालमा चलचित्रको निर्माण सुरू भएको पाँच दशकको अवधि भइसक्दा सम्मपनि विदेशी चलचित्रहरूको नक्कल जारी रहनुलाई विडबना नै भन्नु पर्दछ ।

केही चप्पलछाप निर्देशकहरूले विदेशी चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्रहरू बनाइरहेको कारणले नेपाली चलचित्रहरूमा अश्लिलता छाडापनले प्रवेश गरेको हो । यसले गर्दा कतिपय अवस्थामा समाजमा पनि नकारात्मक असरहरू देखिएका छन् । यसले चलचित्र क्षेत्रमा मात्र नभइ समाजमा समेत विकृति विसगति भित्रिन सक्ने सम्भावना औँल्याउँछन् सरोकारवालाहरू । चलचित्रहरू मनोरञ्जनपूर्ण हुनुपर्छ । यसमा दुई मत नहोला चलचित्रहरू मनोरजनका लागि हेर्ने गरेको दर्शकहरू बताउँछन् । चलचित्रहरू स्वस्थ्य मनोरजनमूलक र सार्थक यथार्थपरक हुनपर्ने बताउँछन् सरोकारवालाहरू ।

त्यसो त चलचित्र क्षेत्रमा मात्र नभई टेलिभिजनको क्षेत्रमा पनि अरूको नक्कल गरी कार्यक्रमहरू बनाउने पछिल्लो समयमा लहर नै चलेको छ । नेपालका विभिन्न टेलिभिजन च्यानलहरूमा विदेशी च्यानलहरूबाट प्रसारण हुने कार्यक्रमहरूको नक्कल गरी प्रसारण भइरहेका छन् ।

प्रतिक्रिया