नेपालमा चलचित्र पत्रकारिता

नेपालमा चलचित्र पत्रकार संघ गठन भएको २० वर्ष पुगेको छ । हामीले हरेक महिना ज्येष्ठ ७ गतेलाई स्थापनाको दिन पारेर चलचित्र पत्रकार दिवस मनाउँदै आएका छौँ । ‘चलचित्र पत्रकारितालाई संगठीत एवम् मर्यादीत बनाऔं’ भन्दै हामीले यो वर्ष पनि ज्येष्ठ ७ गते मंगलबार (आज) राजधानी र मोफसलका विभिन्न स्थानहरूमा यो दिवस मनाउन गइरहेका छौँँ ।

२१ वर्षअघि भरत शाक्यको अध्यक्षतामा गठन भएको यो संघको छाता मुनी अहिलेसम्म आइपुग्दा थुप्रै पत्रकारहरू जुटनु भएको छ । संस्थापक अध्यक्ष भरत शाक्य हुँदै विदुर गिरी शान्तिप्रियले अगाडि बढाउनुभएको यो संघ अहिले सन्दिप सापकोटाको नेतृत्वमा रहेको छ । मोफसलमा बुटवल, दाङ, हेटौडा, पोखरालगायतका पूर्व देखि पश्चिमसम्म चलचित्र पत्रकार संघ सकृय छ ।

२०औं चलचित्र पत्रकार दिवस मनाइँरहदा चलचित्रका साथै रंगपत्रकारितालाई अझ कसरी मर्यादीत बनाउने भन्ने कुराले स्थान पाएको छ । राजधानी काठमाडौं, हेटौँडालगायतका ठाउँहरूमा यो दिनको अवसर पारेर यस क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र कलाकारलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने गरिन्छ । काठमाडौंमा आज हुने समारोहमा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई निम्ताएका छौँ ।

नेपाली चलचित्र उद्योगले पाँच दशकको यत्रा गरिसक्दा चलचित्र पत्रकारिता क्षेत्र भने त्यो भन्दा पुरानो थियो । नेपालमा चलचित्र न बन्दा पनि चलचित्रका समाचारमा कलम चल्ने गरेको पाइन्छ । जुन अहिले पनि उत्तिकै सक्रिय रहेको छ

काठमाडौंमा चलचित्र पत्रकार संघको २०औं दिवसका अवसरमा राजधानीको कालोपुल स्थित हिरारत्न सिनेमाघरमा आयोजित समारोहमा यो वर्षको चलचित्र पत्रकारिता सम्मान चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतिलाई प्रदान गरिँदै छ । चलचित्र पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको हो ।

यसैगरी, संघका पूर्व कार्यसमिति सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिति सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिँदै छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गरिँदै छ ।

पुरस्कार स्वरूप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी रहेको छ । यस्तै संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिँदै छ । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रूपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरूप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछन् ।

त्यस्तै हेटौँडामा यो वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गरिदै छ । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १० हजार रहेको छ । सोही अवसरमा यो वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदै आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गरिदै छ ।

पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ । मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा रहेका कलाकारहरूलाई सम्मान स्वरूप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्वन्द्व निर्देशक÷कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गरिँदै छ । मोफसलका अन्य संघले पनि विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् आज ।

चलचित्र पत्रकारिताको यो २० वर्षमा खोला–नाला र भंगालाहरू अनेकन छन् । अहिले यो पेसा विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । समाचार लेखेकै कारण, प्रसारण गरेकै कारण समय समयमा आउने धम्की र अन्य समस्या छदै छन् भने अझै पनि यो क्षेत्रमा लागेका पत्रकारहरूको व्यवसायिक हुन नसकेको देखिन्छ । खासगरी प्रशंसा मात्र सुन्न चाहने र सिर्जनात्मक आलोचनासम्म सुन्न र देख्न नसक्ने केही कलाकर्मीका कारण समय समयमा विभिन्न समस्याहरू देखा पर्दछन् यो क्षेत्रमा । रहर र लहलहैमा यो क्षेत्रमा आएका केही छन् भने यसै क्षेत्रमा केही उल्लेखनीय काम गरौँ भन्नेको संख्या पनि राम्रै रहेको छ चलचित्र पत्रकारितामा ।

नेपाली चलचित्र उद्योगले पाँच दशकको यत्रा गरिसक्दा चलचित्र पत्रकारिता क्षेत्र भने त्यो भन्दा पुरानो थियो । नेपालमा चलचित्र न बन्दा पनि चलचित्रका समचारमा कलम चल्ने गरेको पाइन्छ । जुन अहिले पनि उत्तिकै सकृय रहेको छ । पत्रपत्रिका, टेलिभजन तथा अन्य सञ्चारका माध्यमहरू सुरु नहुँदा पनि विभिन्न माध्यमबाट एक अर्कोमा सूचना सम्प्रेसण गर्ने गरिन्थ्यो ।

सञ्चारका विभिन्न माध्यमहुँदै कागजमा छपाइ गरेर पढने नै विश्वजगतमा सबैभन्दा बढी प्रचलित रह्यो भने विद्युतीय सञ्चारमाध्यम पनि त्यतिकै शसक्त रहेको छ । अझ पछिल्लो समयमा त सामाजिक सञ्जालको बाढीले यसलाई अझ विस्तृत वनाइदिएको छ । चलचित्र पत्रकार संघ नेपालको १८औं वार्षिकोत्सवमा विशिष्ठ कलाकार हरिवंश आचार्यले ‘सञ्चारकर्मी कसलाई भन्ने मैले मेरो फेसबुकमा एउटा पोस्ट गरे भने एकैपटक पाँच हजारभन्दा बढीले हेर्छन्, यो हिसाबले म पनि एउटा सञ्चारकर्मी भए’ भनेका थिए ।

पत्रकारिताको विश्व इतिहास हेर्दा नेपालमा निकै नै पछि मात्र यसको विकास भएको देखिन्छ । सन् १५४०मा हस्त लिखित सिट छपाइ सर्वप्रथम डेनमार्कमा गरिएको इतिहास पाइन्छ । हामीकहाँ छापाखानाको विकास पनि निकै ढिलो भएको पाइन्छ । नेपालमा वि.सं. १९०८ (सन् १८५१) तिर जंगबहादुर राणा बेलायत भ्रणबाट फर्कदा फलामे हाते प्रेस ल्याएपछि मात्र विधिवत् रूपले प्रवेश पाएकोे इतिहास छ ।

हाम्रो छिमेकी देश भारत भने यो भन्दा झन्डै तीन सय वर्ष अघि नै छापाखानाले प्रवेश पाएको देखिन्छ । हामीकहाँ फेरि पनि छापाखाना नभएकै समयमा पनि हस्त लिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ । जंगबहादुरले बेलायतबाट ल्याएको ‘गिद्धेप्रेस’ पछिको अर्को छापाखानाको नाम हो ‘मनोरञ्जन छापाखाना’ । गिद्धेप्रेस ल्याएको केहीवर्षपछि यो प्रेस ल्याइएको थियो । गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्ध प्रेस भनिदै आएको हो भन्ने भनाइ रहेको छ ।

यसरी सुं भएको नेपाली मुद्रण कार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले । यसैबीच उनको १९५२मा निधन भए पनि पण्डित नरराजहरूले १९५५मा सुधा सागर प्रकाशित गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो ।

यसअघि वि.सं.१९४२ मा ‘गोर्खा भारत जीवन’ नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यसलगत्तै नेपाली पत्रकारिता सुंवात र यसको विकासक्रम भएको देखिन्छ । यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल भारतको बनारसलाई नै सम्झनुपर्दछ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झन्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ । ‘सुधा सागर’ पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खापत्र’हो । यो सन् १९०१मा प्रकाशित भएको थियो ।

विद्युतिय सञ्चारमाध्यमको कुरा गर्दा सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिवेला सशक्त सञ्चारमाध्यमका रूपमा विकास भएको छ । सन् १८८८ अक्टुबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लन्डनमा टेलिभिजनको आविष्कार गरेका हुन् । हामीकहाँ नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको हो ।

चलचित्र पत्रकारितालाई हरेक पत्रिकाले स्थान दिएका छन् । सबै पत्रिकाहरूले चलचित्रसम्बन्धी समाचारलाई आफ्नो प्रमुखतामा राखेको पाइन्छ भने ठूला सञ्चार माध्यमले पनि यस सम्बन्धि साप्तिाहिक अंकहरू प्रकाशन गर्ने गरेका छन् । चलचित्रसम्बन्धी नेपालको पहिलो पत्रिका ‘सिनेमा’लाई लिइन्छ भने नियमित प्रकाशनको दृष्टिले विगत ११ वर्षदेखि काठमाडौंबाट प्रकाशित भइरहेको साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ हो । जसलाई शान्तिप्रियले प्रकाशन तथा सम्पादन गर्दै आउनु भएको छ ।

म पनि यसमा सुरुवाती वर्षदेखि नै काम गर्दै आएकी छु । नेपाली चलचित्र पत्रकारितामा देखिएका अन्य पत्रिकाहरूमा उर्वशी, चाँदनी, श्री, अप्सरा, प्रिया, रोशनी, पूर्णिमा, सिने स्टार, मञ्जुषा, सिनेमा टाइम्स, कुमारी, मनको तरंग, मधुरी, गीताञ्जली, भावना, ढुकढुकी, सिमल, स्क्रिन, वारपार, कलिउड स्टार, प्राइमम्यागजिन, सानो पर्दा, कलाश्री, सिने सम्झना, कलापुञ्ज, सिनेमा समर्पण, सिने हट लाइन, स्टारडम, सनेयात्री, शृंगार, ग्लामर प्लस, कामनालगायतका रहेका छन् । कुनै नियमित प्रकाशनमा छन भने कुनै अक्कल झुक्कल प्रकाशनमा रहेका भए पनि केही इतिहासमा सीमित भएका छन् ।
लेखकः चलचित्र पत्रकार संघकी उपाध्यक्ष हुन्

प्रतिक्रिया