गाडी खरिदमै सकियो बजेट

डोटी । जिल्लाका नौ स्थानीय तहले गाडी खरिदमा करिब ११ करोड रुपैयाँ खर्च गरेको भेटिएको छ । ती स्थानीय तहले एक्साभेटर, मिनी बस, टिपर, मोटरसाइकलजस्ता सवारी साधन खरिदमा १० करोड ९३ लाख ८६ हजार ८ सय २९ गाडी खरिदमा खर्च गरेका हुन् ।

गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरिद बढी गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन् । कतिपय किन्ने तयारीमा छन् । तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन ।

पूर्वीचौकीले हालसम्म रु दुई करोड ६७ लाख ५५ हजार ६५२ विभिन्न सवारी साधन खरिदमा खर्च गरेको छ । १० मोटरसाइकल खरिदमा रु २४ लाख ९७ हजार २०० खर्च भएको छ । त्यस्तै, रु ३७ लाख २० हजारमा पिकअप जीप, रु एक करोड २३ लाख ६२ हजार ४५० एक्साभेटर खरिद गरिएको छ । यसैगरी, रु ८१ लाख ७६ हजारमा दुईवटा बस पनि सो गाउँपालिकाले किनेको छ ।

शिखर नगरपालिकाले रु एक करोड ५४ लाख २९ हजार ३०० खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ । दुई नगर बसमा रु ५६ लाख ६० हजार, टिपरमा रु ३८ लाख ६९ हजार, जिपमा रु ३६ लाख ९५ हजार, आठ मोटरसाइकल खरिदमा रु २० लाख २६ हजार ४ सय र एउटा स्कुटरमा रु एक लाख ७८ हजार ९ सय खर्च गरेको देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले रु एक करोड छ लाख ८७ हजार ४ सय ८९ मा गाडी खरिद गरेको छ । उक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६ सय ५० मा १५ मोटरसाइकल खरिद गरेको पाइएको छ । त्यस्तै दुई नगर बसमा रु ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा रु १६ लाख ३८ हजार ८ सय ८४ र सक्सनम ट्यांकमा रु चार लाख ५० हजार खर्च गरेको छ ।

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरिदमा रु एक करोड ८१ लाख ७९ हजार १ सय खर्च गरेको छ । सो गाउँपालिकामा रु एक करोड २० लाखमा एउटा सडक खन्ने एक्साभेटर, रु ३८ लाख ७० हजारमा एउटा पिकअप जीप र रु २३ लाख ९ हजार १ सय मा नौ मोटरसाइकल खरिद गरिएको छ ।

त्यस्तै, सायल गाउँपालिकाले गाडी खरिदमा रु एक करोड ५६ लाख १६ हजार २ सय खर्च गरेको पाइएको छ । सो गाउँपालिकाले रु सात लाख ४६ हजार २०० मा तीनवटा मोटरसाइकल खरिद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा रु २३ लाख ८५ हजार र एक्साभेटरमा रु एक करोड २४ लाख ८५ हजार खर्च गरेको देखिएको छ ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरिद गरेको छ । मोटरसाइकल खरिदमा रु ३२ लाख ६९ हजार १ सय १५ खर्च भएको छ । यस्तै, मिनी टिपरमा रु २० लाख १३ हजार २७४ र जेसिबी खरिदमा रु ४० लाख ९९ हजार ९ सय९९ गरी कूल रु ९३ लाख ८२ हजार ३ सय ८८ खर्च भएको छ ।

बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार ८ सय गाडी खरिदमा खर्च गरेको छ । उक्त गाउँपालिकाले चार मोटरसाइकल खरिदमा रु नौ लाख ७८ हजार ८ सय खर्च गरेको छ । यस्तै डोजर खरिदमा रु ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जिप खरिदमा रु २३ लाख ८५ हजार खर्च भएको देखिएको छ ।

जोरायल गाउँपालिकाको गाडी खरिदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रूपमा खर्च कम भएको देखिएको छ । उक्त गाउँपालिकाले रु ५८ लाख ३८ हजार ९ सय ९९ गाडी खरिदमा खर्च गरेको देखिन्छ । जोरायलले १० वटा मोटरसाइकल खरिदमा रु २२ लाख आठ हजार ९ सय ९९ खर्च गरेको छ । यसैगरी, एउटा महिन्द्रा पिकअप जिपमा रु ३६ लाख ३० हजार खर्च गरेको छ ।

आदर्श गाउँपालिकाले रु ५७ लाख २२ हजार ९ सय का गाडी खरिद गरेको छ । चौध मोटरसाइकल खरिदमा रु ३३ लाख ३७ हजार ९ सय र एउटा महिन्द्रा बोलेरो जिप खरिदमा रु २३ लाख ८५ हजार खर्च देखाइएको छ । स्थानीय तहले खरिद गरेका दुई पांग्रे सवारी साधनको मूल्यमा एकरूपता देखिएको छैन । एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरिद गरिएको पाइएको छ ।

प्रतिक्रिया