खतराको सिक्रीमा जेलिएको आजको मानव

के.बी. बस्नेत

वर्तमान समयमा पश्चिमी बौद्धिक कुशलताले भौतिक तत्वको ज्ञान एवं विचार विश्लेषणले सफलता पाएको छ । मानव चेतना तथा जिज्ञासाको परिणाम स्वरूप विज्ञानको विकास हुन थालेको हो । निःसन्देह आज विज्ञानको चमत्कारले भौतिक युगको सिर्जना भई भोग विलासको स्रोत साधनमा विकास भएको छ ।

त्यसैले हामी ऐस–आरामको जिन्दगी व्यतीत गरिरहेका छौँ । एकातिर विज्ञानको क्षेत्रमा पछि परेका मुलुकहरू यसको विकासका लागि विशेष रूपले आकृष्ट छन् भने अर्काेतिर वैज्ञानिक चमत्कारहरू देखाउन सफल राष्ट्रहरू यसको उन्मात प्रयोगलाई रोकथाम गर्न शान्ति सम्झौता र सम्मेलन गर्न व्यस्त छन् ।

विज्ञानको मोहको कारण आज विश्वका धेरै देशहरूमा सहरीकरण तीव्र रूपले बढिरहेको छ । जसको कारण कतिपय ग्रामीण रमणीय वस्तीहरू उजाड हुँदैछन् । आफ्नो देशभक्ति भावनाको विकास गर्नुको सट्टा भौतिक वस्तुको सयलका लागि गाउँबाट शहरतर्फ र शहरबाट विदेशतर्फ युवाशक्तिको पलायन भइरहेको छ । थोरै खाएर भएपनि विभिन्न किसिमका पोसाकहरूको तडक–भडकमा आकृष्ट हुनु आज विश्वका धेरैजसो युवतीहरूको जल्दोबल्दो समस्या भएको छ । कतिपय युवतीहरूले त आफ्ना सिर्जनात्मक प्रतिभा परिचालन गर्नुको सट्टा नयाँ–नयाँ ढाँचाका पोसाक तथा श्रृंगारको बहकाउमा वेश्यावृत्तितर्फ आकृष्ट भई आफ्नो जीवन बरबाद गरेका छन् ।

विज्ञानको विकासको कारणले आधुनिक विलासी सामानहरूको उत्पादन प्रचुर मात्रामा भएका छन् । जसले गर्दा कतिपयलाई कमाइभन्दा खर्च बढी गर्नुपर्ने स्थितिको सिर्जना भएको छ । फलतः धेरैलाई जीवन धान्न पनि कठिन भएको छ । वस्तुतः केही देशहरूले विज्ञानको क्षेत्रमा निकै प्रगति गरेका छन् ।

तर, धेरै देशहरूमा विदेशको निर्भरताले गर्दा कुटनीतिक सम्बन्धमा केही गढबढ हुना साथ त्यहाँको जनजीवन अस्त व्यस्त हुन्छ र युद्ध गर्ने सम्भावना बढ्छ । आधुनिकताको कारण बढ्दो विलासी साधनहरूको उपज र अभावको वातावरण सिर्जना भएको छ । जसको कारण प्रत्येक समाजमा हिंसा, चोरी र डकैती बढेको छ । वास्तवमा आधुनिकताको खोलभित्रको कुलतले पैदा गरेको विकार हटाउन विज्ञान सफल भएको छैन । यो बाहेक मोटर, बस, ट्रक, जहाज, अन्तरिक्षयान आदिबाट हुने बढ्दो दुर्घटनाले मानव जीवनको अस्तित्वमा अनिश्चितता आएको छ ।

कुनै पनि यात्रा नटुंगुञ्जेल प्रत्येकको मनमा शान्ति नहुनु स्वाभाविक हो । परन्तु आधुनिक हातहतियारहरूको होडबाजी र बढ्दो आतंकले कति बेर कुन ठाउँमा बम विस्फोट भई कसको मृत्यु हुने हो कसैलाई थाहा हुँदैन । यतिमात्र होइन, बिहान आफ्ना घरबाट पाठशालामा पढ्न हिँडेका बालबालिका साँझ नफर्किउन्जेलसम्म र कामका लागि निस्केका कुनै पनि व्यक्ति घर नफर्किउन्जेलसम्म परिवारले पीर लिनुपर्ने अवस्था हुनु विज्ञानको नकारात्मक पक्ष हो । विज्ञानले जतिसुकै विकास गरेपनि अझसम्म धनी र गरिब बीचको खाडल पुरिएको छैन । बरू गरिब झन् गरिब हुँदै छन् भने धनी झन् धनी हुँदै छन् ।

विज्ञानको कारणले आज विभिन्न देशमा विभिन्न किसिमका उद्योगहरूको स्थापना गरिएको छ । तर औद्योगिक विकासको कारणले कैयौँ राष्ट्रहरू वातावरण प्रदूषणका साथै वन विनाशको चपेटामा परेका छन् । विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति गरेर केही फाइदा त लिए । तर विभिन्न किसिमका उद्योगहरूबाट निस्कने धुवाँ र धूलोको कारण वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुन थाल्यो र दैवी प्रकोपको कारण धेरै जनधनको नोक्सान हुन थाल्यो । भविष्यमा यस्तो क्षति अझ बढ्ने सम्भावना छ ।

उद्योगहरूबाट निस्कने धुवाँ र धुलोको नियन्त्रणका लागि हालसम्म पनि ठोस प्रविधिको विकास नभएकोले संसारको धेरैजसो देशको वातावरण दिन प्रतिदिन दूषित भइरहेको छ । आज उत्तरी गोलाद्र्ध मात्र दूषित नभई दक्षिणी गोलाद्र्ध पनि दूषित भइरेको छ । यसको मुख्य कारण क्लोरोफ्लोरो कार्बनको बढी प्रयोगले नै हो । भविष्यमा यसको प्रयोगमा रोक लगाउन नसके ओजनको सतह पातलो हुनेछ र सम्पूर्ण मानवजातिको स्वास्थ्यमा नकारात्मक असर पर्नेछ । आज विश्वदिन प्रतिदिन तातो हुँदैछ ।

यसरी तातो हुँदै गएमा हिउँपग्लेर समुद्रको सतहमाथि उठ्दै जानेछ र संसारका केही देशहरू पानीमा डब्नेछन् । यदि यस्तो क्रम रोक्न सकिएन भने विकसित देशहरू मात्र होइनन् विकासशील तथा अतिकम विकसित देशहरूमा पनि खतरा हुनेछ । पृथ्वीको तापक्रम बढ्दै गएमा विश्वको एक मिटर हिउँ मात्र पग्ले पनि फिलिपिन्स र चीनका केही प्रान्तहरू पानीमा डुब्नेछन् । मालदिभ्स पनि संकटमा पर्नेछ । वातावरणले मानव जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले यो सम्पूर्ण प्राणीको घर हो । परन्तु प्राकृतिक स्रोतहरूको अत्याधिक प्रयोगले आज मानव जातिमा नकारात्मक असर परेको छ ।

मानव जातिका विभिन्न क्रियाकलापहरूले ओजन तहको विनाश हुँदैछ । यसको कारण सूर्यबाट अत्यधिक रूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जान नसक्ने भएकोले विश्वव्यापी उष्णता जलवायु परिवर्तन र मरूभूमीकरण जस्ता समस्या अत्याधिक मात्रामा विद्यमान छन् । आज संसारका धेरैजसो देशमा विकासका कामहरू तीव्र रूपले सञ्चालन भइरहेका छन् ।

कलाकारखाना तथा गाडीहरूको अत्यधिक प्रयोगले वायु, जल र ध्वनि प्रदूषण धेरै बढिरहेको छ । बढ्दो ध्वनि प्रदूषणको कारण मानसिक रोग पनि दिन प्रतिदिन बढिरहेको छ । बढ्दो यातायातको साधनहरूको प्रचुरताको कारणले धेरैजसो देशको वातावरण प्रदूषणयुक्त छ । फलतःप्रत्येक व्यक्तिलाई सास फेर्ने पनि गाह्रो हुन थालेको छ । त्यसैले विज्ञानले विभिन्न चमत्कार देखाए पनि आजको मानवले त्यो भन्दा कैयौँ गुणा खतरायुक्त परिणाम भोग्नुपरेको छ ।

आज विज्ञानको आडमा विकसित देशहरूले निर्बल राष्ट्रहरूमा गरेको आक्रमणले गर्दा मानवीय रोदन, क्रन्दन र चपेटाले थिचिएका अर्ध जीवित र मृतात्मालाई निहालेर हेर्दा विज्ञानलाई मानवीय उपजको विकार मात्र होइन श्राप नै हो भन्न सकिन्छ । विज्ञान प्रविधिमा भएको अत्यधिक विकासले गर्दा आज मानव समाज उन्नति र अवनतिको पराकाष्ठामा पुगेको छ जसले गर्दा आजको विश्व नै खतराको सिक्रीमा जेलिएको छ । आज सशस्त्रका होडबाजी र विज्ञान प्रविधिलाई मानव हितका लागि प्रयोग नगरी राजनीतिकरण गरिएको छ ।

विभिन्न निर्माण कार्यका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ मानवीय विनाशका लागि प्रयोग गरिएको छ भने जंगली जनावरको आक्रमणबाट बच्न तथा शिकारका लागि बनाइएका बन्दुक आज मानव जातिकै संहारका लागि प्रयोग गरिएको छ । यति मात्र होइन, यातायातका सुविधाका लागि बनाइएका हवाईजहाज तथा हेलिकोप्टर जस्ता साधन मानवीय विनाशका विस्फोटक पदार्थ बोक्ने साधनको रूपमा प्रयोग गर्न थालिएका छन् ।

जसले गर्दा आणविक शस्त्रास्त्र जस्ता घातक पदार्थ कति बेर कसको थाप्लोमा बज्रिने हो भन्ने कुरा चिन्ताको विषय बनेको छ । जसरी विगतमा खतराको बिगबिगी खाडी युद्धको वेला खाडी क्षेत्रवासीहरूमा थियो भने आफगानिस्तानमा अमेरिकाले गरेको आक्रमणमा पनि त्यस्तै थियो । यसै गरी रूवाण्डामा एकपटकमा पाँच लाखको ज्यान गयो भने उक्त घटना नदोहोरिएला भन्न सकिँदैन ।

वर्तमान समयमा बढ्दो अनेकौँ प्रकारका हातहतियार तथा क्षेप्यास्त्रहरूको अविस्कारले राजनीतिक आतंकवादीदलहरूको सिर्जना भएको छ जसले गर्दा निरापराधी अनाहकमा गोलीका सिकार भइरहेका छन् । अतःआजको विज्ञानको विकासलाई घृणाको दृष्टिबाट हेर्न पनि बाध्य तुल्याएको छ । वस्तुतः अनमोल योगदान दिने आविस्कारकहरूले आफ्ना आविस्कारहरूलाई मानव कल्याणका निम्ति गरेका हुन् । त्यसैले, आजको मानवले सृष्टिको लीला नष्ट गर्ने मानसिकता नबोकी सिर्जनशील भई दुईतिर धार भएको विज्ञानको चमत्कारलाई विवेकपूर्ण तरिकाले परिचालन गर्न आवश्यक छ । यसो गर्न सकेमा सम्पूर्ण मानव जातिको कल्याण हुनेछ ।

प्रतिक्रिया