मदन भण्डारीको सम्मान आजको आवश्यकता

नेपालको राजनीतिक इतिहासमा एक पृथक पहिचान तथा कम्युनिस्ट आन्दोलनलाई नविनतम व्याख्या र विश्लेषण गर्ने सिद्धान्तकारका रूपमा नेता मदन भण्डारीलाई लिन सकिन्छ । मदन भण्डारी एक कुशल संगठक तथा सिद्धान्तनिष्ठ र व्यावहारिक नेताका रूपमा आफ्नो लौलिक जीवनकालमा जति परिचित हुनुभयो, उहाँको असामयिक र स्तव्धकारी अनि अप्रत्यासित निधनले तत्कालिक नेपालको राजनीतिमा अपूरणीय क्षति भयो ।

त्यो निधन कसैले पनि सहजरूपमा लिन सक्ने अवस्था थिएन । उहाँको असामयिक निधनमा नेपाली राजनीतिको एक नायकको इहलिला समाप्त भए पनि उहाँका विचार, कम्युनिस्ट सिद्धान्त तथा मूल्यको वैचारिक राजनीति नेपालको राजनीतिक पाटामा चीरस्थायी त रहन्छ नै साथै विश्व कम्युनिस्ट आन्दोलनमा उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नयाँ उचाइ प्राप्त ग¥यो ।

जनताको बहुदलीय जनवादले बहुलवाद र बहुल विचारको राजनीतिक पृष्ठभूमिमा अन्य विचार र सिद्धान्तलाई पनि प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्विकार्यता गर्दै जनताका बीच प्रतिनिधिमूलक संस्थाको जननिर्वाचित प्रतिनिधिका माध्यमबाट व्यवहारमा रूपान्तरणको प्रयोग तत्कालीन नेकपा एमालेले गर्यो । जसको श्रेय जननेता मदन भण्डारीमा जान्छ ।

०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धिपश्चात् पुनस्र्थापित बहुदलीय व्यवस्था र त्यसैको आधारशीलामा बनेको नेपाल अधिराज्यको संविधान ०४६ मा व्यवस्था भएको जनताको प्रतिनिधिमूलक संस्था व्यवस्थापिका संसद् तथा तल्लोतहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा जनताको बहुदलीय जनवादको वैचारिक धरातलमा खुला राजनीतिक प्रतिस्पर्धामा भाग लिएर जनताका निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास तत्कालीन नेकपा एमालेले गर्यो । साथै जनमतको उच्च सम्मानको प्रतिकात्मकताका आधारमा तत्कालीन नेकपा एमाले संसद्को दोस्रो ठूलो दल तथा नेपाली राजनीतिको प्रमुख शक्तिका रूपमा स्थापित हुनसक्नु उहाँको विचार र सिद्धान्तको विजयका रूपमा लिन सकिन्छ ।

मदन भण्डारी वैचारिक सिद्धान्तकार बढी हुनुहुन्थ्यो तर पनि उहाँमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा नेता मदन भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् भने समकालिन राजनीतिकवृत्तमा पनि उहाँले कुशल र प्रखरवक्ताको छवि वनाउन सक्नुभयो । कुशल संगठक नभएको भए पंचायती र्निदलीय (एक दलीय?) व्यवस्थाको स्वाभाविक प्रतिकुल र असहज परिस्थितिमा पनि पार्टीको संगठन कुशलतापूर्वक गर्नसक्नु कम चुनौती थिएन ।

जसको परिणामस्वरूप बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको लागि तत्कालीन वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलनपश्चात् देशमा नयाँ राजनीतिक परिवेशको पदार्पण हुन सक्यो । तत्कालीन नेकपा मालेको एक प्रमुख नेताका रूपमा मदन भण्डारीको उचाईं आफैँमा उच्च थियो । जसका कारण एकीकृत पार्टी ( तात्कालिक नेकपा माले र नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी) नेपाल कम्युनिस्ट पार्टी एमालेको महासचिवको महत्वपूर्ण जिम्मेवारी मदन भण्डारीले कुशलतापूर्वक निर्वाध गर्नुभयो ।

यसै समयक्रममा महासचिव तथा जननेता मदन भण्डारी र तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पार्टीको सांगठनिक कामको सिलसिलामा यात्राका दौरान चितवनको दासढुंगामा जिप दुर्घटनामा परी आकस्मिक तथा अविश्वनीय निधन हुनपुग्यो । उहाँको असामयिक निधन नेपालको राजनीतिक क्षेत्रमा लामो समयका लागि अपूरणीय क्षति र पार्टीका लागि अग्रज नेताको अवसान थियो ।

मदन भण्डारीका विचारहरू सामयिक थिए, समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रूपमा उहाँलाई लिन सकिन्छ । विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुल्ला राजनीतिक प्रतिस्पर्धामा समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तत्कालीन पूर्वी युरोप लगायत सोभियत संघको विघठन र अवसानपछि विश्व कम्युनिस्ट आन्दोलनकै आसानको अवस्था र पुनर्जागरणको आवश्यकताको टड्कारो प्रतिछायाँमा नवजीवन दिने वैचारिक मान्यता जनताको बहुदलीय जनवाद थियो र त्यसको कुशल प्रयोग र व्याख्याको व्यवहारिकतालाई पुष्टि गर्न जननेता मदन भण्डारी सफल हुनुभयो नै । त्यसैले, समग्र कम्युनिस्ट आन्दोलन र समाजवादी विचारको पुर्नचिन्तनको अग्रज अभियन्ताका रूपमा मदन भण्डारीलाई लिन सकिन्छ ।

समय परिवर्तनशील छ, समय वलवान पनि छ । यसै सन्दर्भमा तत्कालीन नेकपा माओवादी, जसको नेतृत्व नेता पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो, त्यस पार्टीले नेपालमा सशस्त्र द्वन्द्वको वैचारिक धरातललाई पुष्टाई गर्ने अभियानलाई करिव दश वर्षसम्म निरन्तरता दिनुभयो । तर अन्ततोगत्वा जनताको बहुदलीय जनवादको विचार नै सही रहेको पुष्ट्याइँको थप जिरह आवश्यकता नरहला, जसरी राजनीतिक घटनाक्रमले हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक हैसियत तथा जनअभिमतको प्रतिविम्ब संस्थापन ग¥यो । यो जनताको आवश्यकता थियो । यो एकता समयको मागको प्रतिविम्ब थियो । गत वर्षको जेष्ठमा तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको एकीकरणपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व र नेपाली राजनीतिमा सत्ताधारी पार्टीका रूपमा नेकपाले आफ्नो अलग पहिचान बनाएर अघि बढेको छ ।

नेपाली कम्युनिस्ट राजनीतिक विचारका एक शिखर व्यक्तित्व मदन भण्डारीको योगदान र उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई जुन नयाँ विचारको सैद्धान्तिक धरातलमा व्याख्या र विश्लेषण गर्नुभयो त्यसको परिणती स्वरूप वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन नेपालमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा पनि स्पष्ट प्रभाव पारेको छ । साथै जनताको बहुदलीय जनवादीे विचारको जुन प्रयोग र व्याख्या उहाँले अघि सार्नुभयो त्यसैको पृष्ठभूमिमा नेपाली कम्युनिस्ट आन्दोलन अघि बढ्नेछ भन्नेमा राजनीतिक विश्लेषक र आमजनता अपेक्षित छन् ।

प्रतिक्रिया