उपेन्द्र र बाबुरामबीचको मिलन

बाबुराम र उपेन्द्रको पार्टीले ११ वटा प्रदेशको अवधारणा अघि सारेको छ । यो नेपाली जनतालाई स्वीकार्य कुरा होइन, सातवटा प्रदेश त मुलुकले थेग्न नसक्ने अवस्थामा पुगेको छ । समाजवादी पार्टी नेपालले भनेजस्तो ११ प्रदेश के यो मुलुकले थेग्न सक्छ ? यो मुलुकका लागि घात हुने एजेन्डा अघि सारेर अघि वैकल्पिक शक्ति हुने सपना पूरा हुने देखिँदैन । यो विषयमा जनता साथ दिने पक्षमा छैनन्

संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टी, नेपालबीच पार्टी एक्ता भएको छ । नेपालका राजनीतिकदलहरूको इतिहास हेर्दा जुटने र फुट्ने क्रम कुनै नौलो कुरा होइन । डा. बाबुराम भट्टराईले २०७२ असोज ९ गते तत्कालीन माओवादी पार्टी परित्याग गरेर नेपालमा वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी, नेपाल गठन गरेका थिए । नयाँशक्ति पार्टी, नेपालले बबवुरामले सोचेअनुसार गत निर्वाचनमा सफलता हासिल गर्न सकेन ।

पार्टीभित्रका नेता कार्यक्र्ताहरूलाई नै जोगाएर राख्न बबवुरामलाई ठूलो सकस परिरहेको थियो । त्यसले गर्दा पनि भट्टराईले उपेन्द्र यादवसँग पार्टी एकता गर्न पुगेको हुनुपर्छ । दुई पार्टी बीचको एक्तागरी बबवुराम र उपेन्द्रले वैकल्पिक राजनीतिक शक्ति बनाउने सपना देखेका छन् । धेरै जसो दलहरूमा चुनाव आउने बेलामा पार्टी एक्ता गर्ने र चुनाव पछि फुट्ने प्रवृत्ति देखिँदै आएको थियो । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी, नेपालबीच ठिक समयमा एक्ता भएको छ ।

प्रतिनिधि सभाको चुनाव सकिएको करिब डेढ वर्षपछि यी दुई पार्टीबीच एक्ता भएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी, नेपाल बीचको एकीकरणपछि समाजवादी पार्टी नेपाल गठन भएको छ । यो पार्टीको भविश्य के हुन्छ भन्नेबारे सबैको चासो छ । हो, मुलुकका लागी वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ । वैकल्पिक राजनीतिक शक्तिका बारेमा वेला वेलामा बहस पनि हुने गरेको छ ।

के साँच्चै यो नवगठित समाजवादी पार्टी नेपालले बैकल्पिक राजनीतिक शक्तिको नेतृत्व गर्ला त ? के यो पार्टीले आफना नीति, सिद्धान्त, र विचारलाई आत्मसात गरी इमानदारीका साथ कार्यान्वयन गर्ला त ? यो नै महत्वपूर्ण सवाल हो । हरेक दलले आफना नीति सिद्धान्त र बिचार राम्रै भएको ठोकुवा गदै जनतालाई भ्रममा राख्दै आएका छन् । यो पार्टीले त्यस्तो भ्रमपूर्ण राजनीति नगरोस भन्ने जनताको चाहना हो ।

समाजवादी पार्टी, नेपाल साँच्चै समाजवादी चिन्तन, सोच, र विचारका साथ अघि बढ्ला त ? तर त्यसरी अघि बढ्लाजस्तो देखिँदैन । यदि त्यसरी अघि बढयो भने नेपाली राजनीतिको वैकल्पिक शक्ति बन्ने सम्भावना बलियो छ । परम्परागत कार्यशैली अपनाएर अरू पार्टीजस्तै भ्रमको राजनीति गर्ने हो भने यो पार्टीको भविश्य छैन । पार्टी एकीकरण घोषणा कार्यक्रममा प्रस्तुत नौ वुँदे आधारपत्रमा संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँशक्ति पार्टी, नेपालले अवलम्वन गरेको समुन्नत समाजवादको आधारमा संघीय समाजवादको सिद्धान्तवाट अघि बढने सहमति भएको बुझन सकिन्छ ।

समाजवादी पार्टी नेपालले संविधान संशोधनमार्फत देशको प्रगतिशील रूपान्तरण, दिगो विकास र समतामूलक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ । समाजवादी पार्टी, नेपालले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिक्ता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय ब्यवस्था, सवैधानिक तथा कानुनि राज्य, मौलिक एवं मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका तथा प्रेस स्वतन्त्रतालाई अवलम्बन गरेको छ । मुलुकमा वास्तवमै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएको छ । तर, नवगठित समाजवादी पार्टी, नेपालले यो आवश्कतालाई पूरा गर्न सक्छ की सक्दैन त्यो भने हेर्न बाँकी नै छ ।

बाबुराम र उपेन्द्रको पार्टीले ११ वटा प्रदेशको अवधारणा अघि सारेको छ । यो नेपाली जनतालाई स्वीकार्य कुरा होइन, सातवटा प्रदेश त मुलुकले थेग्न नसक्ने अवस्थामा पुगेको छ । समाजवादी पार्टी नेपालले भने जस्तो ११ प्रदेश के यो मुलुकले थेग्न सक्छ ? यो मुलुकका लागि घात हुने एजेन्डा अघि सारेर अघि वैकल्पिक शक्ति हुने सपना पूरा हुने देखिँदैन । यो विषयमा जनता साथ दिने पक्षमा छैनन् । संघीय प्रणालीका कारणले स्थानीय, प्रदेश र केन्द्रीय तहका यति धेरै जनप्रतिनिधिहरूलाई धान्न मुलुकलाई ठूलो सकस परिरहेको छ । मुलुकमा फैलिएको अराजक्ताले आमजनता निराश छन् ।

नेपाललाई संघीय प्रणालीमा लैजान ०६२-६३ सालको आन्दोलन भएको होइन, संघीयता पछि घुसाइएको हो । यो राजनीतिकदलहरूको एजेन्डा नै थिएन । यति सानो मुलुकलाई संघीय प्रणालीमा लैजानु पर्ने आवश्यकता नै थिएन । नेपाल माथि आर्थिक भार बढाउने, क्षेत्रीय, जातीय राज्य बनाएर जातजातिबीच द्वन्द्व फैलाउने खेल हो । नेपालमा जातीय युद्द उत्पन्न गराइदिने खेलमा विदेशी शक्ति केन्द्रहरू लागीपरेका छन् । नेपाललाई संघीयतामा लैजानुको छिमेकी भारतको उद्देश्य यहाँको तराई भूभागलाई हिमाल र पहाडबाट अलग गराउनु हो । एनजिओ आइएनजिओका नाममा दलहरूलाई प्रयोग गरेर नेपाललाई बर्बाद पारिरहेका छन् ।

यसमा जनता सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ । नवगठित पार्टीहरूका नारा राम्रा हुन्छन्, जब सत्तामा पुग्छन सबै बिर्सने गर्दछन् । यो आमजनतालाई थाहा भएकै कुरा हो । भाषण र नाराले मुलुकलाई अघि बढाउन सक्दैन । सबै भन्दा ठूलो कुरा आचरण हो । आचरण नै ठिक छैन भने जति सुकै राम्रा कुरा गरे पनि केहि हुने वाला छैन । राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिन सकेको छैन । जनताले दलहरूप्रति विश्वास गर्न छाडेका छन् । दल र तिनका नेताहरूको चरित्रमा सुधार आउन सकेको छैन ।

संघीयता कार्यान्वयनको एक बर्ष पुग्दै गर्दा अधिकारको विषयले तीन तहका सरकार बीच दूरी बढदै गएको छ । संघीय सरकारले अधिकार खोसेपछि स्थानीयतह रूस्ट छन् । प्रदेश सरकारले समेत अधिकार खोसिएको भन्दै आपत्ति जनाएका छन् । यस्तो छ, संघीयताको हालत । चरित्र र संस्कारलाई चिन्न नसक्दा नेतामाथि जनताको विश्वास घट्दै गएको छ । निष्ठा, इमान, नैतिक्ता र संस्कारले राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यी चिज अहिले हाम्रा नेतामा देखिएको छैन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशिल कोइरालामा यी चिज थिए ।

अहिलेका नेतामा त्यो पाउन सकिँदैन । पार्टी फुटने जुट्ने यो पुरानै रोग हो । जनताले आशा गरेअनुसार पार्टीहरूले काम गर्न नसकेकै कारण वैकल्पिक राजनीतिक शक्ति खोज्ने गरिन्छ । प्रमुख दलहरूले देश र जनताको पक्षमा राम्रो काम गर्न सकेनन् । नेपाली कांग्रेसले पनि देशमा पटक–पटक सरकार चलाएकै हो । नेपाली जनताले कांग्रेस पनि हेरिसकेका छन । अहिलेको वर्तमान सरकार कम्युनिष्टको नेतृत्वमा चलेको छ । नेकपाको नेतृत्वमा रहेको सरकारले देशमा के प्रगति गर्न सक्यो भन्ने कुरा महत्वपूर्ण हो । तर नेकपाले पनि जनताले सोचे अनुसार देशको विकास, उन्नति, प्रगति गर्न नसकेकै हो । वर्तमान सरकारका लागि यो अवसर हो ।

अवसरको सहि सदुपयोग गर्न नसकेकै हो । उपेन्द्र यादव पनि सरकारमा छन । सरकारमा भएका वेला केही नगर्ने, हाम्रो नेतृत्वमा सरकार गठन भयो भने देशको मुहार फेर्छौं भन्ने अभिव्यक्ति दिएर जनता पछि लाग्ने पक्षमा छैनन् । बाबुराम र उपेन्द्रको मिलनले देशको मुहार फेरिन्छ भन्ने सोच कसैले राखेको छ भने त्यो भ्रम हो । यो एकता टिक्ला की नटिक्ला भन्ने कुरा पनि छ । दलहरू बीच एकता हुने र फुट्ने क्रम बढदो नै छ । दलहरू फूट्नु भन्दा जुट्नु नै राम्रो हो । यो देशका लागी धेरै पार्टीभन्दा थोरै पार्टी भएकै राम्रो हो । धेरै पार्टी बीचको एक्ता सत्ताका लागि हुन्छ । सत्तामा जान जे पनि गर्न तयार छन् हाम्रो देशका दलहरू । देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टीहरू नै पाउन मुस्किल छ ।

प्रतिक्रिया