नास्टको प्रादेशिक प्रतिष्ठान नेपालगञ्जमा

बाँके । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रादेशिक प्रतिष्ठान नेपालगञ्जमा स्थापना गरिने भएको छ । नेपालगञ्जमा भएको तीनदिने वैज्ञानिक लेखनवृत्ति सम्बन्धित तालिम उद्घाटनका क्रममा नास्टका वरिष्ठ वैज्ञानिक सुरेश ढुंगेलले नास्टको प्रादेशिक एकेडेमी नेपालगञ्जमा स्थापना गर्न लागेको जानकारी दिएका हुन् ।

विज्ञान प्रविधि र नव प्रवर्तनको नयाँ नीति बन्न लागेको जानकारी दिँदै वरिष्ठ वैज्ञानिक ढुंगेलले त्यसक्रममा बुटवलमा आयोजित अन्तत्र्रिmयामा सरकारका सचिवले नास्टको प्रादेशिक कार्यालय नेपालगञ्जमा सञ्चालनमा ल्याउने आधिकारिक रूपमा जानकारी दिएको बताएका हुन् । ‘प्रादेशिक राजधानी बुटवल नै भए पनि नाष्टको प्रादेशिक कार्यालय नेपालगञ्जमा नै हुनेछ’, वैज्ञानिक ढुंगेलले भने, ‘त्यसका लागि टेन्डरसमेत आह्वान गरिसकिएको छ ।’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) प्रादेशिक संरचनाअनुसार कार्यान्वयनमा आएको हो ।

नास्ट यसअघि राजधानी केन्द्रमा मात्र रहँदै आएकोमा मुलुक संघीय संरचनामा गएपछि उसले पनि आफूलाई प्रादेशिक संरचनामा रूपान्तरण गरेको हो । प्रदेश राजधानीमा कार्यालयहरू केन्द्रित हुने गरे पनि नाष्टले नेपालगञ्जमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । ‘प्रशासनिक राजधानी बुटवल वा अन्य ठाउँमा भए पनि विज्ञान प्रविधिको राजधानी प्रदेश–५ को नेपालगञ्ज नै बन्दै छ,’ उनले भने, ‘यो नेपालगञ्जका लागि महत्वपूर्ण अवसर हो ।’

नाष्टको प्रादेशिक कार्यालय नेपालगञ्जमा स्थापना भएपछि युवा, वैज्ञानिक तथा प्राविधिकको क्षमता अभिवृद्धि, प्रोत्साहनलगायत अनुकूल वातावरण उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । नास्टले शनिबारदेखि सुदूरपश्चिम, कर्णाली र प्रदेश–५ को केन्द्रका रूपमा नेपालगञ्ज रहेको भन्दै यस क्षेत्रका प्राध्यापकहरूलाई वैज्ञानिक लेखनवृत्तिसम्बन्धी तीनदिने प्रशिक्षण आयोजना गरेको थियो ।

प्रतिक्रिया