दार्चुलामा सामुदायिक विद्यालयले विद्यार्थीहरुबाट शुल्क लिँदै

नेपालको संविधानले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क पठन पाठन गर्न पाउने व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीले शुल्क तिर्न नपर्ने कानुनी व्यवस्था भएपनि दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क असुल्ने गरेका छन् ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म निःशुल्क शिक्षा दिने भनेता पनि दार्चुला जिल्लामा सामुदायिक विद्यालयहरुले भने विद्यार्थीबाट शुल्क लिने गरेका हुन् । नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ प्रमाणिकरण भई कार्यान्वयनमा आएको छ । तर यहाँको अवस्था हेर्दा त्यो एनेमा मात्रै सिमित हो की भन्न थालेका छन् यहाँका अभिभावक ।

शिक्षा प्राप्त गर्ने प्रत्येक नागरिकको आधारभूत मानव एवं संविधान प्रद्धत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वय गरी शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि निःशुल्क शिक्षा गरिएको छ । नेपालमा अनिवार्य तथा निःशुल्क शिक्षा गराउने उद्देश्यले नेपाल अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५, गत वर्ष असोजमा प्रमाणीकरण भएको थियो । तर, दार्चुलाका विद्यालयमा भने त्यो व्यवाहारीक हुन सकेको छैन ।

यसरी नेपालमा शिक्षालाई अनिवार्य र निःशुल्क गरिएको भएपनि जिल्ला सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माविले भने अभिभावक सहयोगको नाममा विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । महेन्द्र नमुना मावि खलंगाले प्रति विद्यार्थी एक सय देखि ६ सय ५० रुपैयाँसम्म अभिभावक शुल्क लिने गरेको छ । अभिभावकहरुको सहमतिमा विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग लिने गरेको प्रधानाध्यापक रामदत्त जोशीले बताए । विद्यार्थीको चाँप निकै बढी भएकाले विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग उठाउन बाध्य भएको प्रधानाध्यापक जोशीले बताए ।

महेन्द्र नमुना मावि खलंगाले नेपाली तथा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्दै आएका छ । नेपाली माध्यमबाट पढाई हुने कक्षाहरुमा एक सय रुपैयाँ अभिभावक सहयोग शुल्क लिने गरेको छ भने अंग्रेजी माध्यममा भने नेपालीको भन्दा बढी शुल्क लिने गरेको उनले बताए । कक्षा ५ भन्दामुनिको कक्षामा अभिभावक शुल्क नलिने गरेको र त्यो भन्दा माथिल्लो कक्षामा एक सयदेखि २ सय २० रुपैयाँसम्म अभिभावक शुल्क लिने गरेको प्रधानाध्यापक जोशीले स्वीकार गरे । कक्षा ६ देखि ८ सम्म एक सय र कक्षा ९, १० मा २ सय २० रुपैयाँ अभिभावक शुल्क लिने गरेको उनले बताए ।

विद्यालय जाने विद्यार्थीको संख्या बढाउने उदेश्यले महाकाली नगरपालिकाले शैक्षिक नगरी अभियान सञ्चालन गरेको छ । महाकाली नगरपालिकालाई शैक्षिक नगरी स्थापित गर्ने योजना नगरपालिकाको छ । तर, महाकाली नगरपालिकाभित्रै सञ्चालित सामुदायिक विद्यालयहरुले शुल्क लिइरहेको बारेमा भने नगरपालिका र पदाधिकारी बेखबर जस्तै छन्

यस्तै विद्यालयले अंग्रेजी माध्यमबाट पढाई हुने समूहका विद्यार्थीहरुबाट २ सय ५० रुपैयाँ अभिभावक सहयोग लिने गरेको प्रधानाध्यापक जोशीको भनाई छ । शिशु कक्षामा २ सय ५० रुपैयाँ र त्यो भन्दा माथिल्लो कक्षाहरुमा कक्षा पिच्छे ५० रुपैयाँले अभिभावक शुल्क बढाउने गरेको उनले बताए । उनको भनाइ अनुसार अंग्रेजी माध्यमबाट पढाई हुने समूहको कक्षा ८ मा साढे ६ सय रुपैयाँ अभिभावक सहयोग शुल्क लिने गरेका छन् । यसरी विभिन्न शीर्षक तथा बाहानामा शुल्क लिने गरेको भन्दै अभिभावकबाट आलोचना र बहस हुने गरेपनि विद्यालयले शुल्क लिन छोडेको छैन ।

तर विद्यालयले लिँदै आएको उक्त अभिभावक साहयोग शुल्क कीन र कहाँ खर्च भैरहेको छ भन्ने बारे भो प्रअ जोशीले बताएनन । न त आफूहरुले बुझाएको शुल्क कहाँ खर्च भै रहेको छ भन्ने बारेमा अभिभावकलाई थाहा छ न विद्यार्थीलाई । विद्यालयले मनोमानी रुपमा ऐनको खिलाप अभिभावक र विद्यार्थीसँग शुल्क असुलीरहदाँ स्थानीय सरकारभने मौन जस्तै छ ।

विद्यालयले अभिभावक सहयोगको नाममा प्रत्यके विद्यार्थीहरुबाट शुल्क लिने गरेको छ । अभिभावक सहयोग प्रति अभिभावकबाट लिनुपर्ने हो । तर महेन्द्र नमुना मावि खलंगाले भने प्रति विद्यार्थीबाट अभिभावक सहयोगका नाममा शुल्क असुल्ने गरेको छ । भौतिक संरचनाका हिसावले पनि विद्यालय दुर्गममा भएर पनि राम्रो अवस्थामा रहेको छ ।

एक जना अभिभावकका एक भन्दा बढी विद्यार्थी भए विद्यार्थी पिच्छे शुल्क लिने गरेको छ । तर अभिभावक सहयोग एउटा अभिभावकबाट मात्रै लिनुपर्ने हो । एउटै अभिभावकका ३÷४ जनासम्म बच्चा छन् भने ती सबै विद्यार्थीहरुबाट अभिभावक सहयोग तिर्नुपर्ने बाध्यता रहेको अभिभावकहरुले गुनासो गर्ने गरेका छन् । प्रधानाध्यापक रामदत्त जोशीका अनुसार अंग्रेजी माध्यममा पढाई हुने समूहका विद्यार्थीहरुको सन्दर्भमा कक्षा ९ र १० मा अध्ययन गर्ने दुई जना र तल्लो कक्षामा एक जना गरी तीन जना विद्यार्थी पढ्ने अभिभावकलाई तल्लो कक्षामा अध्ययन गर्ने एक जना विद्यार्थीबाट अभिभावक सहयोगमा छुट दिने गरेको छ । विद्यालयको उक्त निर्णय कत्तिको व्यवहारी र वैधानीक छ भन्ने बारेमा भने उनीहरुले सरोकार राखेका छैनन ।

शुल्क लिने बिद्यालयले रसिद दिँदैन
विद्यालयमा अभिभावकका तर्फबाट विद्यार्थीले सहयोग बुझाए पनि विद्यालयले भने उक्त शुल्क बुझेको रसिद नदिने गरेको अभिभावकले गुनासो गरेका छन् । विद्यालयले अभिभावक सहयोग शुल्क असुल्दा रसिद दिनुपर्ने हो तर नदिने गरेको अभिभावकहरुको गुनासो छ । थोरै पैसा भएकाले रसिद नदिने गरेको प्रधानाध्यापक रामदत्त जोशीले बताए । ‘विद्यालयले रसिद दिनै हुदैन भन्ने त होइन, तर सहयोग रकम थोरै भएकाले के रसिद दिने र भनेर नदिएका हौँ,’ उनले गैर जिम्मेवार ढंगले भने ।

कुनै पनि प्रयोजनका लागि लिने वा दिने रकम धेरै होस वा थोरै त्यसको अभिलेख राख्नु र रसदि दिनु अनिवार्य हुन्छ । तर, सो विद्यालयले रसिद नै विना विद्यार्थीबाट लिने गरेको रकमको हिसाव होला वो सो रहक विद्यालयका लागि सदुपयोग होला भन्ने बारेमा पनि यसले प्रश्न उब्जाएको छ ।

नेपाली माध्यमबाट पढाई हुने समूहमा १ सय देखि २ सय २० रुपैयाँ प्रति विद्यार्थी अभिभावक शुल्क लिने गरिएको छ । यस्तै अंग्रेजी माध्यमबाट पढाई हुने समूहमा भने शिशु कक्षामै २ सय ५० रुपैयाँ लिने गरेको उनले बताए । कक्षा आठमा ६ सय ५० रुपैयाँ अभिभावक शुल्क प्रति महिना लिने गरेको छ । यसरी प्रति महिना ६ सय ५० दरले वर्ष भरी एक विद्यार्थीबाट ७ हजार ८ सय रुपैयाँ अभिभावक शुल्क लिने गरेको पाइएको छ । जुन रकम प्रधानाध्यापक रामदत्त जोशीले थोरै रकम भएकाले रसिद नदिने गरेको बताए ।

नगरप्रमुख भट्टको जवाफःजानकारी नै छैन
विद्यालय जाने विद्यार्थीको संख्या बढाउने उदेश्यले महाकाली नगरपालिकाले शैक्षिक नगरी अभियान सञ्चालन गरेको छ । महाकाली नगरपालिकालाई शैक्षिक नगरी स्थापित गर्ने योजना नगरपालिकाको छ । तर, महाकाली नगरपालिकाभित्रै सञ्चालित सामुदायिक विद्यालयहरुले शुल्क लिइरहेको बारेमा भने नगरपालिका र पदाधिकारी बेखबर जस्तै छन् ।

महाकाली नगरपालिकामा आयोजित एक कार्यक्रममा सामुदायिक विद्यालयले अभिभावक सहयोगको नाममा विद्यार्थीबाट शुल्क लिने गरेको जानकारी गराउँदा नगरप्रमुख हंसराज भट्टले सो बारेमा नगरपालिका र आफूलाई जानकारी नभएको बताएका छन् । ‘नगरपालिका भित्रको कुन–कुन विद्यालयले शुल्क लिएको छ त्यस बारेमा मलाई जानकारी नै छैन’ उनले भने ।

देश संघीयतामा गएपछि मावि तहसम्मको विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारलाई प्रत्यायोजन गरेको छ । तर आफ्नै क्षेत्रमा सञ्चालित विद्यालयले विद्यार्थीहरुबाट शुल्क लिइरहेको बारेमा जानकारी छैन भन्ने नगरप्रमुख भट्टको जवाफले स्थानीय सरकारको जिम्मेवारीमाथि प्रश्न उठेको छ । मावि तहसम्मको विद्यालय सञ्चालनको जिम्मेवारी पाएको स्थानीय सरकार प्रमुखले नै यस्तो अभिव्यक्तिले गैरजिम्मेवार भएको स्थानीयको आरोप छ ।

महेन्द्र नमुना मावि खलंगाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महाकाली नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष समेत हुन । नगरप्रवक्ता तथा वडाध्यक्ष पुस्करराज जोशी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेकै विद्यालयमा के भै रहेको छ भन्ने सम्म उनलाई पनि जानकारी छैन वा उनी त्यसबारेमा चासो राख्दैनन स्थानीयले प्रश्न गर्न थालेका छन् । स्थानीय जनप्रतिनिधि व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयको अवस्था यस्तो छ भने अन्यत्रको अवस्था के होला ?

प्रतिक्रिया