कला र सञ्चारमा जम्दै अनिता

काठमाडौं । नेपाली चलचित्र ‘भानुभक्त’ मा बालकलाकारको रूपमा देखिएकी अनिता सिलवाल मिस टिन नेपाल सन् २००७ को सहबिजेता हुँदै विभिन्न टेलिचलचित्र तथा चलचित्र सान्नानी, रगत, चण्डाल लगायतमा अभिनय समेत गरिन् । यतिबेला भने उनी टेलिभिजन समाचारवाचिका र कार्यक्रम प्रस्तोताको रूपमा परिचित छिन् । बुबा भूमिप्रसाद सिलवाल र आमा रूपा सिलवालको कोखबाट काठमाडौंमा जन्मिएकी उनी भानुभक्त मेमोरियलबाट एसएलसी अध्ययनपश्चात् त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तरपछि हाल अमेरिकामा डाटा एनालेटिक्समा स्नातकोत्तर गर्दैछिन । कैयौँ अवार्ड र पुरस्कारबाट पुरस्कृत तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट विशिष्ट सम्मानसमेत प्राप्त गरेकी उनी सन् १९९९ मा लिटिल लेडी ब्युटी प्याजेन्ट विजेतासमेत हुन् ।

पत्रकारिता र कार्यक्रम सञ्चालनमा समेत सक्रिय रहेकी उनले ‘जनयुद्धको समयदेखि नै सामाजिक र राजनीतिक घटनाक्रमका बारेमा चासो राख्न थालेको बताउँछिन् । उनी भन्छिन्, ‘मिडियाकै ब्याकग्राउन्डबाट आएको हुँदा सिनेमाको क्षेत्रभन्दा समाचार र अन्तर्वार्ता गर्ने कार्यमा रूचि रहन गयो ।’ उनी अंग्रेजी पत्रिका ‘भोओ म्यागजिन’ का लागि जनयुद्धमा मारिएका र बेपत्ता बनाइएका व्यक्तिका श्रीमतीहरू केन्द्रित कार्यक्रम सञ्चालन गर्ने गर्थिन ।

न्युज २४ टेलिभिजनको स्थापनादेखि नै प्राइमटाइम एंकरका रूपमा कार्यरत् उनी ६ प्रश्न, इश्यु अफ द डेजस्ता कार्यक्रम निर्माण तथा सञ्चालन गर्थिन् । उनका टक सो कार्यक्रम निकै लोकप्रिय र रुचाइएको कार्यक्रममध्ये पर्दछन् । सामाजिक, राजनीतिक, महिला हकहितका विषय वस्तुमा केन्द्रित रही उनले सयौँ कार्यक्रम सञ्चालन गरेकी छन् ।

कार्यक्रममा विदेशी संस्थाजस्तै ह्याबिट्याट फर ह्युम्यानिटीका अन्तर्राष्ट्रिय सिइओ, इसिमोडका निर्देशक, युएनडिपीका राष्ट्रिय प्रतिनिधिलगायत विभिन्न अन्तराष्ट्रिय व्यक्तिसँग अंग्रेजी अन्तर्वार्ता सञ्चालन गरेकी छन् । हाल अमेरिकामा पनि कार्यक्रम सञ्चालकका रूपमा कार्यरत उनले विश्वप्रसिद्ध मूर्तिकार फ्रोस्टी मायर्स, प्रसिद्ध काररेसर हर्लि हेउड, निर्मात्री डेब्बीमा एरस, चलचित्र निर्देशक ग्रेगरी हचलगायतका व्यक्तित्वसँग अन्तर्वार्ता लिइसकेकी छन् ।

उनले कार्यक्रम होमटाउन सिरोजको निर्माण र सञ्चालन गरिरहेकी छन् यतिवेला । होमटाउन सिरोजमा विषेशगरी महिलाको संघर्ष र सफलताका कथाहरूसमावेश गर्ने गरिन्छ । उनले गरेका कलाकारिता, समाजसेवा सञ्चारकर्मबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा सम्मानित, गृहिणी महिला संघ उत्कृष्ट सञ्चरकर्मी, मकाउ एनआरएन मिडिया पर्सनालिटी सम्मान, ग्लोबल फिल्म, मिडिया अर्वाड, उत्कृष्ट उद्घोषिका, २०१८ लगायतका कैयौँ पुरस्कारबाट सम्मानित भएकी छन् । विभिन्न सामाजिक संघ, संस्थामा आबद्ध रहेकी उनी आफ्ना कर्मलाई निरन्तर समाजको हितमा पस्किने बताउँछिन् ।

प्रतिक्रिया