सरल काम, ठूलो संकेत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघले आफ्नो ५०औं स्थापना दिवसको अवसर पारेर गत शुक्रबार बुटवल क्षेत्रका सडकमा तीन वटा जेब्राक्रसको निर्माण गरेको छ । समाचारमा जनाइएअनुसार रुपन्देही जिल्लाको हरैया बहुमुखी क्याम्पस इकाईले कञ्चन गाउँपालिका ३ स्थित हरैया मावि, हरैया बहुमुखी क्याम्पस र कञ्चन ५ स्थित लुम्बिनी ज्ञान निकेतन मावि अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गरेको हो । शैक्षिक संस्था नजिकै दुर्घटना बढेकाले विद्यार्थीले सडक पार गर्ने ठाउँमा जेब्रा क्रसिङ बनाएको हरैया क्याम्पसका स्ववियु सभापतिसमेत रहेका प्रकाश उपाध्याय पौडेलले बताए । जेब्रा क्रसिङको उद्घाटन गर्दै नेपाली कांग्रेस कञ्चन गाउ“पालिका संयोजक यमबहादुर क्षेत्रीले आगामी दिनमा यस्तै सकारात्मक सामाजिक काम गर्न नेविसंघलाई सुझाब दिए ।

झट्ट पढ्दा यो समाचार सामान्य हो । तर, नेवि संघको यो कार्यक्रमले दिएको सन्देश धेरै नै अर्थपूर्ण छ । पहिलो कुरा त जनतालाई रेल र पानी जहाजको सपना बा“डिरहेको वर्तमान सरकार कति सामान्य काममा पनि चुकेको रहेछ भन्ने सन्देश प्रवाह गर्न प्रमुख प्रतिपक्षीदलको भ्रातृसंस्थाका नाताले नेवि संघ सफल भयो । दोस्रो कुरा सरकारलाई दबाव दिन रचनात्मक उपाय पनि छन् भन्ने सन्देश गयो । रुपन्देही जिल्लाका कार्यकर्ताहरुले गरेको यो कामको सिको नेवि संघका हरेक जिल्ला तथा पालिकाका कार्यकर्ताहरूले गर्ने हो भने मुलुकको राजनीति सङ्लिन धेरै महिना लाग्दैन । राजनीति धमिलो भएकै कारण मुलुकमा आशातित प्रगति हुन नसकेको हो । संसदीय लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष भनेका एक सिक्काका दुई पाटा जस्तै हुन् । अर्थात एक अर्काका परिपूरक हुन् । तर, नेपालको संसदीय अभ्यासका क्रममा सत्ता पक्षले प्रतिपक्षलाई हेप्ने र पेल्न खोज्ने गरेको देखिएको छ । साथै सत्ताधारीहरुले आँफूलाई शासन र जनतालाई शासित ठान्ने गरेको देखिएको छ । प्रतिपक्षले पनि विरोधका नाममा बन्द हड्ताल गर्ने , जुलुस र नाराबाजी गरेर सडक अवरुद्ध गर्ने गतिविधि गर्दै आएको देखिन्छ । यो मामिलामा कोही पनि चोखा छैनन् । हिजो नेपाली कांग्रेस सरकारमा हु“दा नेपाल कम्युनिस्ट पार्टी ( तत्कालीन एमाले–माओवादी ) ले सडक तथा जंगलमा मच्चाएको उत्पातबारे यहा“ उल्लेख गरिरहनु पर्दैन । अहिले नेकपा सत्तामा पुगेपछि नेपाली कांग्रेसको भ्रातृ संस्था नेवि संघका कार्यकर्ताले पनि केही महिनाअघि पोखरामा सार्वजनिक सवारी साधनमा आगजनी गरेको समाचार आएकै हो ।

संसदीय शासन व्यवस्थामा प्रतिपक्षको भूमिका संविधानले नै किटानी गरेको हुन्छ । सरकारका कमी कमजोरी जनताबीच लैजाने नै प्रतिपक्षको भूमिका हो । तर कमीकमजोरीलाई जनताबीच लैजान कस्तो विधि अवलम्बन गर्ने ? भन्ने अहं प्रश्न हो । बन्द, हड्ताल तथा नारा जुलुस एउटा विधि हो, रचनात्मक गतिविधि अर्को विधि हो । बन्द हड्ताल तथा नारा जुलुसको गतिविधिले जनता आजित भइसकेका छन् । तर प्रतिपक्षको रचनात्मक गतिविधि जनताले देख्न र सुन्न नपाएको धेरै भयो । प्रतिपक्षले पनि रचनात्मक गतिविधिद्वारा सरकारलाई दबाव दिन सक्छ भन्ने यर्थाथता नया“ पुस्ताले भुल्दै गएको छ । पञ्चायतकालमा दलहरू प्रतिबन्धित थिए । प्रतिपक्षको भूमिका नेवि संघ र अखिलले गर्थे । सडकमा नारा जुलुस गर्न प्रतिबन्ध थियो । उनीहरूले वृक्षारोपण, सडक सरसफाई अभियान मार्फत जनताको मन जित्ने काम गर्थे । जनताको सेवा दिने सरकारी कार्यलयहरूमा स्वयंसेवकको व्यवस्था गर्थे, रेडक्रस, परोपकारजस्ता सामाजिक संघ संस्थामार्फत जनतालाई सेवा दिन्थे । पञ्च कार्यकर्ताभन्दा कांग्रेस–कम्युनिस्टका कार्यकर्ता असल हुन्छन् भन्ने छाप जनतालाई दिन सफल भएका थिए । त्यसैले कांग्रेस र कम्युनिस्टहरूले अधिकार प्राप्तिका लागि संयुक्त रुपमा गरेका आन्दोलनमा जनताले साथ दि“दै आए । तर, २०४६ सालको परिवर्तन पछि प्रतिपक्षको रचनात्मक भूमिका जनताले देख्न र सुन्न पाएका छैनन् । अहिलेको सन्दर्भमा भन्ने हो भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका लागि रचनात्मक भूमिका निर्वाह गर्ने मैदान पूरै खाली छ । जेब्राक्रसको मात्रै उदाहरण हेर्ने हो भने पनि राजधानी काठमाडौंमा साविकका जेब्राक्रस मेटिएको एक वर्ष बित्न लागेको छ । सडक पार गर्ने पदयात्रीहरुले पाउनसम्म सास्ती पाएका छन् । सडक पार गर्ने क्रममा गाडीले किचेर मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ।

प्रतिक्रिया