हिंसात्मक गतिविधि बन्द गर

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (प्रनेकपा) ले बिहीबार आह्वान गरेको नेपाल बन्दका कारण मुलुकमा लामो दूरीका सवारीसाधन चलेनन् । नेपाल बन्दको प्रभाव संघीय राजधानी काठमाडौं तथा केही प्रदेशका राजधानीहरूमा ज्यादै न्यून देखियो भने पोखरा, बुटवल, सुर्खेत, धनगढीलगायत केही प्रदेशका राजधानी तथा पश्चिम नेपालका केही जिल्लामा प्रभाव देखिएको छ । सुरक्षा निकायको उपस्थिति नरहेको क्षेत्रमा नेपाल बन्दको प्रभाव बढी परेको देखिएको छ । प्रनेकपाका महासचिव चन्दले गत चैत २५ गते प्रेस विज्ञाप्ति जारी गर्दै आफ्नो पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका करिब ५ सय नेता तथा कार्यकर्ता रिहाइको माग गरेका थिए । यी दुई माग पूरा नभए आन्दोलन गर्ने भन्दै वैशाख ५ गतेका लागि नेपाल बन्द गर्ने र ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिने सार्वजनिक कार्यक्रमहरू बिथोल्ने घोषणा गरेका थिए । सरकारले उनको माग पूरा गर्ने कुनै संकेत देखाएको छैन । वैशाख ६ गतेदेखि कडा आन्दोलन सुरु गर्ने विप्लवले जनाएका छन् । सरकारले गत फागुन २८ गते विप्लवको पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउने भन्दै प्रनेकपाका कार्यकर्ताले हिंसाको बाटो अवलम्बन गरेको समाचार आएका छन् । पाल्पाको रिब्दीकोट गाउ“पालिकाको भवनमा बम विस्फोट भएको छ । रूपन्देहीको कोटिहवास्थित टाइगर प्यालेस होटल जाने बाटोमा बम भेटिएको प्रहरीले जनाएको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक धर्मबहादुर थापा घाइते भएका छन् । मकवानपुरको भीमफेदीमा दुई सवारीसाधनमाथि आगजनी गरिएको र बा“के, अर्घाखा“ची, मोरङलगायत जिल्लाका सार्वजनिक स्थलमा विस्फोटक पदार्थ भेटिएको सुरक्षाकर्मीहरूले जनाएका छन् ।

हिंसात्मक गतिविधिमा संलग्न भएका कारण विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएको र नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको सरकारले जनाएको थियो । प्रनेकपाले भने शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै पनि आफू्माथि प्रतिबन्ध लगाइएको दाबी गरेको थियो । तर, नेपाल बन्द सफल बनाउने नाममा प्रनेकपाले मुलुकका विभिन्न क्षेत्रका सार्वजनिक स्थलमा बम राख्ने, सवारी साधन जलाउने जुन गतिविधि ग¥यो, ती गतिविधिले सरकारी कदमको औचित्य प्रमाणित गरेको छ । प्रनेकपाले बिहीबार गरेका गतिविधि हिंसात्मक हुन् । सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राख्नु भनेको जघन्य अपराध हो । सार्वजनिक स्थलमा राखिएका विष्फोटक पदार्थको मारमा पर्ने भनेका निर्दोष बालबालिका, वृद्ध–वृद्धा रोगी तथा अपांगता भएका व्यक्तिहरू नै हुन् । भ्रष्टाचारीहरूलाई निशाना बनाइएको भन्ने तर बालबालिका, वृद्ध–वृद्धा रोगी तथा अपांगता भएका व्याक्तिहरू निशाना हुने गरी विष्फोटक पदार्थ राखिनु भनेको ठूलो बेइमानी मुलक अपराध हो । सर्वसाधारण जनतालाई दुःख दिने गतिविधिलाई राजनीति भन्न मिल्दैन । बिहीबार गरेको गतिविधिका कारण प्रनेकपाले जनविश्वास थप गुमाएको छ । सरकारका काम कारबाहीप्रति जनता सन्तुष्ट छैनन् । वैधानिक प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्न नसकेकोमा पनि जनता असन्तुष्ट छन् । सरकार र प्रमुख प्रतिपक्ष दुवैप्रति जनतामा असन्तुष्टि बढ्नु भनेको प्रनेकपाका लागि अवशर थियो । शान्तिपूर्ण आन्दोलनको माध्यमबाट जनताको मन जितेर आफ्नो शाख अभिवृद्धि गर्ने अवसर प्रनेकपालाई थियो । तर, उसले यो अवसर गुमाएको छ । यसैगरी, दुईतिहाइ बहुमतको सरकारले सुरक्षा दिन सक्छ भन्ने विश्वास उद्योगी, व्यवसायीहरूले गर्न सकेनन् । राजधानी काठमाडौंकै निजी विद्यालयहरूले बिहीबार बिदाको घोषणा गरे । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेको भए उद्योगी व्यवसायीहरू प्रनेकपाको नेपाल बन्दका सामु झुक्ने थिएनन् । त्यसैले बल प्रयोग मात्रै समस्या समाधानको उपाय होइन भन्ने यर्थाथतालाई सरकार, सत्तारूढ नेकपा र प्रनेकपा सबैले मनन् गर्नै पर्छ ।

प्रतिक्रिया